१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ वर्ष मनाउने यस्ता छन् अस्ट्रेलियाका नेपालीको योजना

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीका मिलन अधिकारी नयाँ वर्षको आतिशवाजी (फायरवर्कस) हेर्नका लागि आइतबार बिहानदेखि हार्बर ब्रिजको उपयुक्त स्थानमा पाल टाँगेर बसिसकेका छन् । दक्षिण अस्ट्रेलियाका डा. रामकृष्ण निरौलाले पनि परिवारसहित आइतबार दिउँसो नै ग्लेनेल बीचमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

नयाँ वर्ष मनाउने यस्ता छन् अस्ट्रेलियाका नेपालीको योजना

अंग्रेजी नयाँ वर्षको दिन यहाँका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपालीहरुको लागि राष्ट्रिय चाड बन्ने गर्छ । एकातिर सरकारले यस दिनमा सार्वजनिक बिदा दिने गरेको छ भने अर्कोतिर सिड्नी र मेलबर्नमा हुने आतिसवाजी विश्वकै उत्कृष्टमध्येमा पर्ने गर्दछन् । जसलाई नजिकबाट आफ्नै आँखाले हेर्न घण्टौंअघिदेखि नेपालीहरु समेत जम्मा भइसकेका हुन्छन् ।

यसवर्ष सिड्नीको हार्बर ब्रिजमा हुने नयाँ वर्षको आतिसबाजीमा १५ लाख दर्शकहरुको सहभागिता हुने बताइएको छ भने मेलबर्नका विभिन्न स्थान हुने आतिसबाजीमा पनि ५ लाख जनताले सहभागिता जनाउने जानकारी दिइएको छ । जसमा सहभागिता जनाउनका लागि विभिन्न स्थानबाट सयौंका संख्यामा नेपालीहरु कार्यक्रमस्थलमा बिहानैदेखि गइरहेका छन् ।


यहाँका नेपालीहरुले नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरेका मात्र छैनन् कि करिब १ साताअघिदेखि नै नयाँ वर्षलाई स्वागत गर्दै आपसी भेटघाट र पार्टीहरु समेत आयोजना गरिएको छ । ‘नेपालीहरुका लागि नयाँवर्ष मनाउने बाहना मात्र हो, वास्तवमा यसले एकआपसमा भेटघाट र भाइचारा बढाउने काम गरेको छ ।’ अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल सुनाउँछन् । ‘नयाँ वर्षको मुख्य आकर्षण नै फायरवक्र्स हो’मेलबर्नको मुख्य सहरमा हुन लागेको आतिसवाजी हेर्न गएका धनकुटाका लुशान्त श्रेष्ठले सुनाए । उनका अनुसार नयाँ वर्ष भनेको नेपालीहरुका लागि भेटघाट गर्ने, खाने, पिउने र रमाइलो गर्ने नै हो ।

१ लाख बढी जनसंख्या रहेको नेपालीहरु समेत अंग्रेजी नयाँ वर्ष, क्रिसमसलगायत चाडलाई उत्तिकै महत्वका साथ मनाउन थालेका हुन् । पारिवारिक भेटघाट होस् वा सामूहिक कार्यक्रम होस् एकैस्थानमा बसेर दसैंतिहार जस्तै मनाउने गरेका छन् ।

नयाँ वर्षमा कार्यक्रमस्थलमा सुरक्षालगायत सबै व्यवस्थाहरु सरकारले पर्याप्त उपलब्ध गराउने गरेको छ भने कार्यक्रम हेर्नका लागि उत्कृष्ट स्थानहरुका बारेमा साता पहिलेदेखि नै जानकारीहरु दिने गरिएको छ ।


प्रकाशित : पुस १६, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?