एडिनबरामा नेपाली बगैंचाको उद्घाटन- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एडिनबरामा नेपाली बगैंचाको उद्घाटन

कान्तिपुर संवाददाता

लण्डन — ब्रिटेनका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्कटल्याण्डस्थित विश्वप्रसिद्ध रोयल बोटानिकल गार्डेन एडिनबरामा नेपाली उद्यानको उद्घाटन गरेका छन्।

सोमबार अपरान्ह रोयल बोटानिकल गार्डेनमा आयोजित एक समारोहमा राजदूत सुवेदीले नेपालको लाङटाङ क्षेत्रमा पाइने सोरबस भेस्टिटा नामको बिरुवा रोपेर नेपाली उद्यानको उद्घाटन गरे । सो अवसरमा स्कटल्याण्डको परम्परागत ब्यागपाइपर बाजा पनि बजाइएको थियो।

यसअघि गार्डेनकै विज्ञान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत सुवेदीले दुई शताब्दी पुरानो नेपाल-ब्रिटेन सम्बन्ध बहुआयामिक रहेकेा र अहिले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा पनि दुई मुलुकहरुबीच सम्बन्ध बढिरहेको देख्दा आफूलाई खुशी लागेको बताए । उनले सन् १८०२ मा स्कटिश वैज्ञानिक फ्रान्सिस बुखानन ह्यामिल्टनले गरेको नेपाली बोटबिरुवाको अभिलेख राख्‍ने कामले नेपालको जैविक सम्पदालाई संसारभरि चिनाउन मदत पुराएको बताउँदै रोयल बोटानिकल गार्डेनले अहिले पनि नेपालका वनस्पतिको वैज्ञानिक अध्ययनलाई अगाडि बढाएर सो इतिहासलाई निरन्तरता दिइरहेको बताए ।

“नेपाल र स्कटल्याण्डबीचको बलियो सम्बन्ध वनस्पतिको क्षेत्रमा मात्र नभएर हाम्रा समाजहरु, हाम्रा सरकार र हाम्रा मुलुकहरुबीचको सम्बन्धसम्म विस्तार भएको छ,” राजदूत सुवेदीले भने । उनले नेपालका अनुसन्धानकर्ताहरु तथा प्राज्ञ एवम् विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न सघाउन पनि रोयल बोटानिकल गार्डेन, एडिनबरालाई अनुरोध गरे ।

सोही अवसरमा बोल्दै रोयल बोटानिकल गार्डेन एडिनबराका प्रमुख (रेजीयस किपर) साइमल मिल्नले आफ्नो संस्थाले संसारका ३५ मुलुकहरुमा वनस्पति सम्बन्धी अध्ययन, अनुसन्धानको काम गरिरहेको बताउँदै नेपालसँगको ऐतिहासिक सम्बन्ध आफ्नो संस्थाकालागि गौरवको विषय भएको बताए । उनले नेपाल हिमाली जैविक विविधताको केन्द्रको रुपमा रहेको बताउँदै नेपालको सुन्दरता र विविधताका साथै नेपालीहरुको न्यानो आतिथ्य आफूले कहिल्यै बिर्सन नसक्ने पनि बताए । उनले बोटबिरुवाले मानिसहरुलाई शारीरिकरुपमा मात्रै हैन, आध्यात्मिकरुपमा पनि टेवा दिइरहेको बताउँदै आफ्नो संस्थाले बोटबिरुवाको माध्यमबाट दुई संस्कृतिहरुलाई जोडने काम गरिरहेको पनि जनाए।

रोयल बोटानिकल गार्डेन एडिनबराको वनस्पति अनुसन्धान कार्यक्रमका प्रमुख प्रमुख मार्क वाटसनले नेपाल सरकारको वनस्पति विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय वनस्पति विभाग तथा सोसाइटी अफ हिमालयन बोटनी, जापानसँग मिलेर नेपालमा पाइने सम्पूर्ण वनस्पतिहरुको बारेमा अभिलेख राख्‍ने एउटा महत्वाकांक्षी परियोजना सुरु गरिएको र सो श्रृङ्खलामा समटिने १० वटा प्रकाशनहरुमध्ये अहिलेसम्म पहिलो भोल्युममात्रै प्रकाशित भएको र अध्ययनको काम जारी रहेको बताए ।

उनले काठमाडौंको गोदावरीस्थित वनस्पति उदयानमा जैविक विविधता शिक्षा बगैंचा स्थापना गर्न आफ्नो संस्थाले सघाएको र नेपाली प्राज्ञ तथा विद्यार्थीहरुको क्षमता वृद्धि गर्न पनि आफ्नो संस्थाले काम गरिरहेको जानकारी दिए। उनले ब्रिटेन नेपाल सम्बन्धको २०० वर्ष पुरा भएको अवसरमा गत वर्ष नेपाली तथा ब्रिटिश वैज्ञानिकहरुको टोलीले नेपालको संयुक्त अध्ययन भ्रमण गरेकेा र त्यसबेला नेपाली वनस्पतिका केही नयाँ प्रजातिहरु पनि फेला पारेको बताए।

रोयल बोटानिकल गार्डेन एडिनबरामै अनुसन्धानकर्ताको रुपमा कार्यरत डा. भास्कर अधिकारीले आफूहरुले नेपाल सरकारको अनुमतिबाट मात्र बोटबिरुवा तथा बीउहरु ल्याउने गरेको र नेपाली बीउको अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल सरकारलाई सघाउन तयार रहेको बताए।

उनले नेपालमा अहिले मिचाहा प्रजातिका बिरुवाहरुले किसानहरुलाई दुखदिइरहेको र यसबारे जनचेतना फैलाउन आवश्यक रहेको पनि बताए। नेपाल सरकार तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुसँग मिलेर रोयल बोटानिकल गार्डेनले नेपालमा मिचाहा प्रजातिका बिरुवाहरु नष्टगरी तिनबाट बायोचार भनिने मल उत्पादन गर्ने प्रविधिको विस्तार गर्न काम गरिरहेको पनि बताए।

झण्डै साढे तीन सय वर्ष अघि स्थापित एडिनबरास्थित रोयल बोटानिकल गार्डेन संसारमै वनस्पति सम्बन्धी अध्ययन, अनुसन्धानकालागि प्रसिद्ध छ । वर्षेनी झण्डै नौ लाख भन्दा बढी मानिसहरुले भ्रमण गर्ने उक्त गार्डेनमा तीस लाख थरिका बोटबिरुवाहरुको जानकारी संकलन गरिनुकासाथै तिनको डिएनए बारकोड को काम पनि भैरहेको छ ।

संसारभरिका नेताहरुले भ्रमण गरेर बिरुवा रोप्ने गरेको सो बगैंचामा स्वर्गीय राजा महेन्द्रले पनि सन् १९६० मा भोजपत्रको बिरुवा रोपेका थिए।

प्रकाशित : आश्विन ३१, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘थालासेमीया वारेमा’, पुस्तक सार्वजनिक

अतुल मिश्र

काठमाडौं — थालासीमियाको विरामी र अभिभावकलाइ लक्षित गरेर यो रोगको उपचारको बारेमा बिस्तृत जानकारी सहितको अंग्रेजीमा लेखिएको ‘एवाउट थालासीमिया’को नेपाली अनुवाद ‘थालासीमिया बारेमा’ पुस्तक मंगलवार एक समारोह बीच स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले सार्वजनिक गरेका छन् ।

डा.एन्डूला इलेफुथेरीयोद्वारा लेखिएको एवं थालासेमीया इन्टरनेशनल फेडरेसन साइप्रसद्वारा अंग्रेजीमा प्रकासित उक्त पुस्तकको नेपाली अनुवाद कान्तिबाल अस्पतालका बाल रोग विशेषज्ञ डा.अजित रायमाझीले गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र नेपाल थालसीमिया सोसाइटीसमेतको सहयोगमा प्रकाशित एक सय ९७ पृष्ठको उक्त पुस्तक थालासीमिया बिरामी भएका परिवार र थालासीमिया उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क वितरण गरिने छ ।

डा.रायमाझीका अनुसार यो पुस्तक राम्ररी अध्ययन गर्ने बिरामी र निजका आफन्तले यो रोगको जटिलता देखिएको बाहेकको अवस्थामा तत्काल डाक्टरसँग भेट्न नसके पनि खासै असर पर्नेछैन् ।

हाल मुलुकभरीको यो रोग लागेका तीन सय बिरामी सम्पर्कमा रहेको उल्लेख गर्दे थालासीमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले सोसाइटीमा दुईसय आठ जना दर्ता रहेको बताए । उनका अनुसार हाल थालासेमीयाका एक सय २५ जना बिरामी नियमित रुपमा रगत चढाउने गरेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७४ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×