पीडितका नाममा जापानमा आफूखुसी राहत रकम संकलन

प्रधानमन्त्री राहत कोषमा जापानबाट शून्य रकम
प्रकाश पन्थी

टोकियो (जापान) — नेपालमा बाढी र पहिरोका कारण घरबार गुमाएका तराईवासीको दिनचर्या यतिबेला सामान्य बन्दै गएको छ । जापानमा उनीहरुका नाममा सहयोगका लागि भन्दै पैसा उठाउने क्रम अझै जारी छ । आइतबार मात्रै नेपाली सेवा समाज गिफुले एक लाखभन्दा बढी जापानीयान उठाएर धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत बाढीपीडितलाई पठाएको जनायो ।

पीडितका नाममा जापानमा आफूखुसी राहत रकम संकलन

तराईमा बाढी पसेयता उनीहरुका नाममा विभिन्न सहरमा रहेका समाजले सहयोग उठाए । कैयन व्यक्तिदेखि सबैजसो समाजले पैसा उठाए । कतिपयले त अझै पनि उठाइरहेकै छन् । उनीहरुले के-कति उठाएर पीडितलाई पठाए जानकारी लिने निकाय मौन छ ।

बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन भन्दै आफूखुसी रकम उठाउनेले न्यूनतम ५० हजारदेखि अधिकतम १० लाख जापानीयनसम्म उठाएका समाचार प्रकाशित भए । व्यक्ति र संघसंस्था दुवै उक्तिकै सक्रिय छन् । उनीहरुले संकलित रकममध्ये जापानबाट उठेको झण्डै दुई करोड जापानीयनभन्दा बढीको हिसाब कसैले राखेका छैनन् । डेढ महिना अघिसम्म उठेको रकममध्ये २ लाख ८६ हजार जापानीयन मात्र नेपाल पठाइएको छ । प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक यान पनि पठाइएको छैन । भूकम्पको समयमा दूतावासहरुमध्ये जापानबाट सबैभन्दा बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको थियो । 

राहतका लागि सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान पीडितसम्म पुग्ने गरी १ भदौमा नेपाल पठाइएको थियो । १ सय १५ जनाको मृत्यु र दर्जनौं बेपत्ता तथा घरबार गुमाएर राहत कुरेका पीडितलाई गैरआवासीय नेपाली सघं (एनआरएनए) जापानको कान्तो  र गुम्मा क्षेत्रीय समितिलगायत संघसंस्थाले रकम संकलन गरी पठाएका थिए । एनआरएनए गुम्माले ५५ हजार जापानीयान नेपाल पठायो । कान्तो क्षेत्रीय समितिले २ लाख ३१ हजार १ सय ५३ जापानीयान पठाए पनि बाँकी संघसंस्थाले आफूखुसी पैसा उठाउने र पठाउन गरे । तर, उनीहरुको न कसैले जानकारी लियो न त उनी नै सार्वजनिक रुपमा बोले ।

एनआरएनए कान्तो र गुम्मा क्षेत्रीय समितिले सरकारी माध्यमबाट पीडितसम्म पुग्न समय लाग्ने भन्दै धुर्मुस-सुन्तलीले सुरु गरेको 'विपदमा सबै नेपाली जुटौं, अनिवार्य मानवता र सद्‌भावका लागि सहकार्य' भन्ने अभियानमार्फत राहत रकम पठाएका थिए । एनआरएनए जापानले १० लाख पीडितका लागि राहत भन्दै छुट्याएको थियो । फुकुओका नेपाल सोसाइटी र टोकियोको सिटिग्रुपले १/१ लाख जापानीयान र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कार्यरत कर्मचारीले छुट्टाछुट्टै रुपमा ५० हजार जापानीयान छुट्याएका थिए । बाँके बर्दिया समाजले त सहयोगका नाममा पैसा मात्र उठाएनन् उसले खेलकुद र अन्य कार्यक्रम पनि गरेको थियो । तर पनि अहिलेसम्म उठेका रकम कहाँ गयो र पीडितले पाए, पाएन भन्नेसम्मको जानकारी कतैबाट भएको छैन । यसरी नै गोरखा समाजले पनि रकम उठायो । के कति उठाएर के गर्‍यो भन्नेबारे समाज मौन छ । 

नेपालमा भएका ठूला भनिएका सबैजसो राजनीतिक दलको जनसम्पर्क समितिले पैसा उठाए तर त्यो पैसा कहाँ गयो कसैलाई जानकारी छैन । कतिले त आर्थिकसँगै जिन्सी सामान पनि उठाएका थिए । त्यस्तै स्याङ्जा समाज जापानले १ लाख ६१ हजार जापानीयान उठाएर बर्दियाका बाढीपीडितलाई सहयोग गरेको बतायो । नागानो समाज जापानले १ लाख ७० हजार ६ सय ७५ जापानी यान उठाएर धुर्मुस-सुन्तली फाउन्डेशनलाई पठाएको संयोजक नन्दराज रेग्मीले बताए । टोकियोको ‘म नेपाली ग्रुप’ले ६९ हजार ३ सय ५६ सोही कोषमा जम्मा गरेको छ ।

धुर्मुस फाउन्डेशनमा सेण्डाई क्षेत्रीय समितिले ९६ हजार ३ सय ४ जापानी यान पठाएको विनोद चन्दले जानकारी दिए । त्यस्तै पूर्वी नेपाल विकास सहकार्यले ३ लाख ९० हजार जापानीयान उठायो । उक्त रकम मोरङ, झापा र सप्तरीका पीडितलाई वितरण गरेको अध्यक्ष सुवास लोहनीले बताए । उनका अनुसार सुनसरीमा युवा विकास मञ्च ८० हजार, सप्तरीको हेल्प फर डेस्प्रेट नामकबाट ७० हजार र झापामा नेपाल रेडक्रसमार्फत ८० हजार वितरण गरेको हो । त्यस्तै फुकुओका नेपाल सोसाईटीले सुरुआतमा १ लाख, गैरआवासीय नेपाली सघं क्युस्यु, नेपाल जापान फ्रेड्न्शिप लायन्स क्लब, मगर समाज, साझा सद्भाव समूहलगायत संघसंस्थाले राहत रकम उठाएका थिए । उनीहरुले पीडितका लागि फुकुओका क्षेत्रका प्राविधिक तथा विश्वविद्यालयमा राहत संकलन बक्स अझै जारी राखेका छन् ।

आफूखुसी रकम उठाउने र पठाउनेको वास्तविकता थाहा नहुँदा सहयोगका नाममा विकृतिले पराकाष्ट नाघेको बुझाई दूतावास अधिकारीहरुको छ । बाढीपीडितका नाममा उठाउने क्रम जारी रहँदा सरकारी निकाय वा अन्य संघसंस्था बोलेका छैनन् । यसबारे जापानस्थित नेपाली राजदूतावासले हरेको व्यक्तिको संघसंस्थांले रकम उठाउने गरेको पाइए पनि आधिकारिक रुपमा स्वीकृतिका लागि निवेदन नआएको जनाए । आफूखुसी उठाउने र पठाउने गरेको थाहा भए पनि दूतावाससँग कुनै पनि संघ संस्थांले जानकारी नगराएको दुतावासका तृतीय सचिव रेवन्त केसीले बताए । स्वीकृति नै नलिई उठाएकाले के-कस्तो भनेर कारबाही गर्ने भन्दै त्यसमा आफूहरु नलागेको तर उनीहरुको कार्यलाई नियालिरहेको बताए । 

त्यस्तै जापानमा भएका संघसंस्थाहरुको आधिकारिक निकाय भनिने एनआरएनए अध्यक्ष टासीवाँदी लामाले सहरपिछेका संघसंस्था वा व्यक्तिले पैसा उठाएको र पठाएकोबारे सुनिए पनि बृहत् जानकारी नभएको बताए । उनले एनआरएनए जापानले १० लाखसहित केही संघसंस्थाले रकम उठाउने कार्यमा संयोजन गरे पनि अधिकांशले आफूखुसी रकम उठाएको बताए । एनआरएनको आठौं सम्मेलनपछि यसबारे सबै जानकारी लिने लामाले बताए ।

फुकुओका क्षेत्रका विद्यालयमा राखिएका राहत संकलन कार्य पनि तत्काल रोक्न लगाइएको बताएका छन् । तर, त्यहाँ संघसंस्थाले एनआरएनएसँगको सहकार्य नभई  स्थानीयस्तरको निर्णय भएको बताएका छन् ।

प्रकाशित : आश्विन २९, २०७४ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?