१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चुनावका लागि बेलायतबाट चन्दा माग्दै राजनीतिक दल

नवीन पोखरेल

लन्डन — नेपालको आसन्न स्थानीय निर्वाचनका लागि प्रमुख राजनीतिक दलले प्रवासस्थित भातृ संगठनबाट आर्थिक सहयोग मागेका छन् । केन्द्रलाई प्रत्यक्ष सहयोग पठाउन नभनी नेतृत्वले जिल्लाका उम्मेदवारहरुलाई सहयोग गरिदिन अपिल गरेको हो ।

चुनावका लागि बेलायतबाट चन्दा माग्दै राजनीतिक दल

प्रमुख दलका बेलायतस्थित प्रवासी संगठनहरु अहिले गुपचुप चन्दा संकलनमा जुटेका छन् । विदेशबाट मताधिकार नहुँदा खिन्न देखिने उनीहरु चुनावको सरगर्मीले भने उत्साहित छन् । ‘आफ्नो गाउँ, क्षेत्रका लागि भौतिक, आर्थिक सहयोग गरिदिन अनुरोध आएको छ’, कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार चिरन्जीवी ढकालले भने, ‘व्यक्तिगत तवरबाट के कस्तो सहयोग गर्न सकिन्छ हामी गर्छौं ।’

ढकालले आर्थिक सहयोगबाहेक जनशक्ति परिचालन र पार्टीका पक्षमा लविङ गरिदिन समेत केन्द्रबाट आग्रह भएको बताउँदै बेलायतका कतिपय कांग्रेसीहरु चुनावमा सघाउन नेपाल गइसकेको जनाए ।

नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनाव प्रचारप्रसारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको बताए । ‘तर, यहाँ हामी आफैं चौंथो अधिवेशनमा जुटेकाले संस्थागत सहयोग सम्भव भएन’, सिम्खडाले भने, ‘बरु भूकम्पका बेला हामीले करिब दस लाख रुपैयाँ पार्टीकै खातामा पठाएका थियौं । संविधानसभा र महाधिवेशनका बेला पठाइएन ।’

नयाँ शक्ति निकट अन्तर्रास्ट्रिय नेपाली समाज यूकेका उपाध्यक्ष जगन कार्कीले पनि आफूहरुलाई ‘मुट्ठीदान’दिन परिपत्र आएको बताए । ‘मेरो व्यक्तिगत विचारमा त विदेशबाट हामीले पार्टी नेतृत्वलाई ज्ञान, सीप दिने हो पैसा होइन’, कार्कीले भने, ‘कसैले चुनावका बेला आफ्नो मनपर्ने समूह वा उम्मेदवारलाई चन्दा दिन्छु भन्छ भने त्यो स्वाभाविक पनि हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको यूके संगठन प्रवासी नेपाली एकता समाज अध्यक्ष रोशन सापकोटाले अनिवार्य नभइ स्वेच्छाले आफ्नो गृह जिल्लामा सहयोग गरिदिन अनुरोध आएको बताए । ‘केन्द्रलाई नदिइ उम्मेदवारलाई सिधै पठाइदिए हुन्छ भन्ने आग्रह छ’, केन्द्रलाई उद्धृत गर्दै सापकोटाले भने, ‘तर, अभिलेखका लागि कहाँ कति पठाएको हो खबर गर्नु भन्ने छ ।’ उनले आफ्नो गाउँ ठाउँका उम्मेदवारलाई सिधैं सहयोग गर्न अन्यथा नहुने पनि बताए ।

नेकपा माओवादी (केन्द्र) जिल्ला समिति बेलायत अध्यक्ष रण केसीले केन्द्रको आव्हानअनुसार चन्दा संकलन अभियान थालिने बताए । ‘अहिले समय कम भएकाले दोस्रो चरणको चिर्वाचनका लागि पठाउने सोचमा छौं’, केसीले भने, ‘केन्द्रबाट स्वतस्फूर्त आर्थिक सहयोग वा नेपाल गएरै सहयोग गर्न आव्हान भएको छ ।’ केसीले चौतर्फी हमला हुँदा पनि पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव गराउन अग्रसर भएको भन्दै उनीप्रति आभार व्यक्त गरे ।

प्रकाशित : वैशाख २२, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?