रित्तिदै बनारसका ‘नेपाली धर्मशाला’

फाल्गुन १०, २०७३

गणेश राई

बनारस — नेपालीका निम्ति भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रवर्द्धन थलो हो । शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रवर्द्धनको मुख्य केन्द्र हो । अनि पुण्य कमाउन काशी पनि यही हो । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ ।

नेपालीका निम्ति भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रवर्द्धन थलो हो । शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रवर्द्धनको मुख्य केन्द्र हो । अनि पुण्य कमाउन काशी पनि यही हो । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ । 

शिक्षा, दीक्षा, व्यापार र पुण्य कमाउन तीर्थका निम्ति बनारस पुगेर स्थायी बसोबास गरेका नेपालीहरूको संख्या पर्याप्त छ । नेपालका राजामहाजादेखि सर्वसाधारणसम्म बनारसमा बसोबास गर्थे र छ अझै । बनारसलाई ‘मिनी नेपाल’का रुपमा चिनाउने काम यही समुदायले गरेका छन् । बनारसको पुरानो नाम काशी र वाराणसी पनि हो ।

‘मानवीय स्वतन्त्रताको पहिलो स्वर बनारसबाट निस्किएको हो,’ एक कार्यक्रमका निम्ति बनारस पुगेका सांस्कृतिक विश्लेषक निनु चापागाई भन्छन्, ‘नेपाली जनमानसलाई संमृद्धितर्फ डोर्‍याउने काम बनारस भूमिले गरेको छ ।’ त्यहाँ पुगेका नेपालीले नेपालीकै निम्ति बनारसमा ‘नेपाली धर्मशाला’ बनाइदिएका छन् । 

पण्डित जगन्नाथ गुरागाईले सन् १९३७/३८ तिर ‘श्री विद्याधर्म प्रचारिणी नेपाली समिति, वाराणसी’ स्थापना गरिदिए । काशीमा आउने नेपालीहरू बास बस्ने व्यवस्थाका लागि धर्मशाला बनाउने उनै पण्डित गुरागाईले अभियान चलाएका थिए । उनले तत्कालिन अभिभाज्य आसाम, दार्जिलिङ, सिक्किम आदि ठाउँमा डुलेर चन्दा बटुलेका थिए । चन्दाबाटै वाराणसीको मंगलागौरीमा पुरानो घर किनेर धर्मशाला बनाइदिए । जुन ठाउँ ‘नेपाली धर्मशाला’को नामबाट प्रसिद्ध छ । त्यसपछि त्यही धर्मशालाको वरिपरिका अरु पुराना घरसमेत किनेर धर्मशालामा परिणत गरिदिए ।

प्रचारिणी समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठका अनुसार त्यही क्रममा श्री ३ महाराज पद्मशमशेरकी कान्छी महारानी कमलादेवीले धर्मशालाकै निम्ति एउटा पुरानो घर किनेर समितिलाई हस्तान्तरण गरिदिएकी थिइन् । त्यसपछि जनरल मदनशमशेरकी रानी जगदम्बाकुमारी देवीले पनि एउटा घर किनेर समितिलाई सुम्पिएकी थिइन् । २०१७ सालमा स्थापित उक्त धर्मशालालाई ‘जगदम्बा नेपाली धर्मशाला, दुधविनायक’को नामबाट चिनिन्छ ।

'विद्याधर्म प्रचारिणी नेपाली समितिले सबै भूमि तथा भवनहरु धर्मशालाको रुपमा रेखदेख गर्दै आएको छ,’ समितिका वर्तमान मन्त्री विजयकुमार श्रेष्ठ भन्छन्, ‘अहिले चारवटा धर्मशाला सुचारु छन् ।’ यी धर्मशालामा करिब चार सय जना अट्ने क्षमता छ । तर, काशी जानेहरूको संख्या ह्वात्तै घटेको मन्त्री श्रेष्ठ बताउँछन् । ‘भूइँचालो, नाकाबन्दी र मोदी सरकारको नोटबन्दीले बनारसमा पहिले जति नेपाली आउँन छाडे,’ उनले भने, ‘बनारस पढ्न आउने विद्यार्थी घटे । भारतमै पढ्न आउने पनि दिल्लीको जेएनयु, डियुतिर पढ्छन् ।’
 

रानी जगदम्बाले काशीमा बालकुमारीदेवी र चन्द्रशमशेरको नाममा ‘बालचन्द्र प्यालेस ट्रस्ट’ स्थापना गरिदिएकी थिइन् । उक्त ट्रस्टबाट भारतमा रहेका नेपाली विद्वानमध्ये वर्षमा एकजनालाई ‘मदन पुरस्कार व्याख्यानमाला’ पुरस्कार दिने गरिएको थियो । सन् २००६ देखि उक्त ट्रस्टलाई प्रचारिणी समितिमा गाभिएपछि ‘मदन स्मारक सम्मान’ दिने गरिएको समितिका मन्त्री श्रेष्ठले जनाए ।
 
गंगा नदीको किनार चारैतिर मन्दिरै मन्दिरले घेरिएको ठाउँमा यो धर्मशाला रहेको छ । उक्त प्रचारिणी समितिको प्रथम सञ्चालक समितिमा पण्डितहरू केवलप्रसाद उपाध्याय, गंगाधर शास्त्री, ब्रह्मशंकर शास्त्री, केशव शास्त्र, हरिप्रसाद आचार्य, कोशराज शर्मा, दामोदर भट्टराई, देवीप्रसाद, मुकुन्दनाथ र देवशंकरलाल श्रेष्ठ रहेका थिए । समितिको वर्तमान कार्यसमितिमा दुर्गाप्रसाद र विजयकुमार श्रेष्ठ दाजुभाइ, उपाध्यक्ष डा. मणिलाल शर्मोपाध्याय, उपमन्त्री डा. हरिप्रसाद अधिकारी, सदस्यहरू रामजी रावत, टिकाराम शर्मा, हरिश्चन्द्र गौतम, सागर शर्मा, स्वामी गोपालनन्द गिरी, गोपालप्रसाद अधिकारी र तुलसीराम आचार्य छन् । ‘हामी सबै जना बुढौली पुस्ताका छौं,’ समस्या सुनाउँदै समितिका मन्त्री श्रेष्ठले भने, ‘शारीरिक रुपमा अशक्त बन्दैछौं । नयाँ पुस्तालाई क्रियाशील तुल्याउन मुस्किल परेको छ । हुर्केका छोराछोरी, नातिनातिनाहरु रोजगारीका निम्ति बनारस बाहिर जान्छन् ।’ उनका अनुसार स्थानीय नेपालीको संख्या घट्दो छ । पढेलेखेकाले काम पाउँदैनन् । 

दुधविनायकस्थित साढे तीन तलाको जगदम्बा नेपाली धर्मशाला जीर्ण प्राय: छ । पाहुना कोठाहरु कामचलाउ छन् । धर्मशालामै पुस्तकालय छ । हजारभन्दा बढी किसिमका संस्कृत, हिन्दी, नेपाली, अंग्रेजीका पुस्तक छन् । तर पढ्ने पाठक कोही छैनन् । धर्मशाला पुन:निर्माण गर्ने आर्थिक अभाव छ । ‘पुन:निर्माण गर्न वार्षिक कम्तिमा पनि डेढ दुई लाख चाहिन्छ तर स्रोत छैन, चन्दादाता छैनन्,’ मन्त्री श्रेष्ठ भन्छन्, ‘पहिले जगेडा गरिएका मूलधनको ब्याजबाट काम चलाउ भइरहेको छ । सामान्य मर्मतसम्भारका काम बाहेक गर्न सकिएको छैन ।’
 

धर्माशाला भित्रको पुस्तकालय । तस्विर : गणेश राई/कान्तिपुर । 

यहाँ पण्डित गुरागाईकै पहलमा नेपाली संस्कृत महाविद्यालय स्थापित छ । विद्यार्थी घट्दो छ । अहिले २० जना छात्र छन् । यी धर्मशाला र महाविद्यालय रेखदेख गर्ने पूजारीसमेत गरी सातजना कर्मचारी छन् । वनारस क्षेत्रमा एक हजारभन्दा बढी नेपालीको घर संख्या रहेको अनुमान छ । ‘म कुनै बेला चार सय घरमा जजमानी गर्थें, अहिले दश घर मात्र छन्,’ त्रिपुरास्थिति श्रीरामानुज दर्शन महाविद्यालयमा कार्यरत आचार्य देवनायक न्यौपानेले सुनाए । नियमानुसार यी धर्मशाला र महाविद्यालय नेपाली मूलकै मान्छेले रेखदेख गर्नुपर्छ । नेपाली पाहुनाको आगमन घट्नु र स्थानीय नेपाली रोजगारीका निम्ति बाहिरिनुले धर्मशाला हेर्ने मान्छेको अभाव हुँदैगएको छ ।
‘वरुणा’ र ‘असी’ दुई नदीको बीचमा रहेकाले यस सहरको नाम ‘वाराणसी’ रहेको भन्ने कथन छ । पुरानो नाम काशी हो । यहाँ ८० वटा घाट छन् । बनारसलाई रोम सहरभन्दा पुरानो मानिन्छ । गंगा उत्तरतर्फ बगेकी छन् । काशी विश्वनाथ मन्दिर, अन्नपूर्ण, मंगलागौरी, ब्रह्मचारिणी, शंकटा, कालभैरब, बिन्दुमाधव, तैलङ्ग स्वामी, ढुण्डिराज गणेश, बडागणेश, डण्डपाणि, मृत्युञ्जय महादेव, गंगाजी, पञ्चगंगा, जलेश्वर महादेवलगायत तीर्थाटनहरू यही वरिपरि छन् । 

गणेश

Link copied successfully