कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पपुवान्युगिनीमा गैरकानुनी अवस्थामा बसोबास गर्ने १९ नेपाली

५ फर्काइए, ६ जना फर्काउने तयारीमा
नारायण खड्का

अष्ट्रेलिया — समुद्रको बाटो हुँदै अवैधानिक रुपमा आइपुगेका १९ जना नेपालीमध्ये पपुवान्युगिनी सरकारले पाँचजना नेपालीलाई केही साताअघि नेपाल फर्काएको छ । गैरकानुनी अवस्थामा बसोबास गरिरहेका अन्य ६ जना नेपालीलाई समेत पपुवान्युगिनी सरकारले फर्काउने तयारी गरेको छ ।


 
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली दुतावासले उपलब्ध गराएको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय आप्रवासी संस्था(आइओएम) र पपुवान्युगिनीको हाई कमिसनको अनुरोधमा दूतावासले १९ जना नेपालीको ट्राभल डकुमेन्टहरु उपलब्ध गराइसकेको छ । आइओएम र हाई कमिसनका अधिकारीहरुलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार काठमाडौं र सुनसरीका पाँचजना गैरकानुनी नेपालीलाई केही साताअघि नेपाल फर्काइएको हो ।

त्यसैगरी अन्य ६ जनालाई समेत नेपाल फर्काउने अन्तिम तयारी भइसकेको छ । दुतावासका अधिकारीहरुका अनुसार पपुवान्युगिनीमा गैरकानुनी हैसियतमा भएका नेपालीहरुमध्ये अधिकांश काठमाडौं, मोरङ, सुनसरी, तनहुँ र पाल्पाका छन् । अष्ट्रेलियाका लागि नेपाली राजदूत राजेन्द्र पाण्डेका अनुसार आइओएम र पपुवान्युगिनी सरकारले जनही १५ हजार डलर दिएर उनीहरुलाई स्वेच्छाले घरफिर्ती गराएको हो । १९ जनामा ११ जनाले उक्त स्वेच्छिक नेपाल फिर्तीमा सहमति जनाएकाले पाँचजना फर्किसकेकका हुन् भने ६ जनालाई फिर्ता पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । बाँकी ८ जनालाई समेत स्वेच्छिक घरफिर्तीमा सहमत गराएर नेपाल पठाउन कोसिस गरिरहेको छ । ‘हामीले पनि नेपाल फर्कनै पर्ने भएपछि केही रकमको व्यवस्था हुन सकोस् भनेर पहल गरेका हौं' पाण्डेले कान्तिपुरसँग भने– 'जसका लागि सहमतिमा नआएका ८ नेपालीहरुसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौं ।’

अष्ट्रेलियामा गैरकानुनी रुपमा समुद्रको बाटो हुँदै आएका अन्य देशका नागरिकलाई पपुवान्युगिनीमा झर्न बाध्य बनाइएको थियो । अष्ट्रेलियामा राम्रो जीवनको आशा गर्दै लाखौं रुपैयाँ तिरेर आएका नेपालीहरु पपुवान्युगिनीमा आइपुगेका थिए । तर, पपुवान्युगिनीको सर्वोच्च अदालतले पपुवान्युगिनीमा व्यवस्थापन गर्ने अष्ट्रेलिया र पपुवान्युगिनीबीच भएको सम्झौतालाई खारेज गरिदिएपछि अष्ट्रेलियाले वास्तविक शरणार्थीहरुलाई अमेरिकामा अमेरिकी सर्तअनुसार व्यवस्थापन गर्ने निर्णय गरेको थियो भने अयोग्य भएका बाँकीलाई उनीहरुकै देशमा फिर्ता पठाउने भएको हो ।
 
नाउरुका पनि फिर्ता पठाइँदै
दूतावासका अनुसार सन् २०१३ सम्म समुद्री बाटो हुँदै ५१ जना नेपालीहरु अष्ट्रेलियामा गैरकानुनी रुपमा प्रवेश गरेका थिए । विभिन्न डिटेन्सन सेन्टरमा रहेका उनीहरुमध्ये ३० जना बढीलाई अष्ट्रेलियाको सीमा सुरक्षा निकायको अनुरोधमा दूतावासद्वारा ट्राभल डकुमेन्ट उपलब्ध गराइएको थियो । जसमध्ये अधिकांश नेपाल फर्किसकेको वा कानुनी लडाइँ लडिरहेको दूतावासका अधिकारीहरु जानकारी दिन्छन् । ‘सन् २०१४ बाट कोही पनि नेपाली समुद्रको बाटो हुँदै अष्ट्रेलिया आएको दुतावासलाई जानकारी छैन' कार्यवाहक राजदूत पाण्डेले भने– 'त्यसैले त्यसमध्ये अहिले बढीमा पाँचजना अवैधानिक रुपमा डिटेन्सन सेन्टरमा बसिरहेको अनुमान छ भने कोही कानुनी लडाइँ लडिरहेका हुनसक्छन्, अन्य नेपाल फर्किसकेका छन् ।’

प्रकाशित : फाल्गुन ८, २०७३ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?