कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा नेपाली कामदारको माग ८० प्रतिशतले घट्यो

रामचन्द्र गिरी

क्वालालम्पुर — मलेसियामा नेपाली कामदारको मागमा गिरावट आएको छ । बर्षेनी डेढ लाख नेपाली कामका लागि आउने गरेकोमा माग घटेपछि सरकारको ‘फ्रि भिसा फ्रि टिकट’ निर्णय लागू भएयता मलेसिया आउने नेपाली घटेका छन् ।

मलेसियामा नेपाली कामदारको माग ८० प्रतिशतले घट्यो



सरकारद्वारा ‘फ्रि भिसा फ्रि टिकट’ निर्णय गत असार २१ गते लागू भएयताको करीब ६ महिनाको अवधिमा मलेसियामा नेपालीको मागमा तीव्र गिरावट आएको नेपाली राजदूतावासको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार उक्त अवधिमा करिब १४ हजार नेपाली कामदारको मात्रपत्र प्रमाणीकरणका लागि दूतावासमा आएको छ । उक्त संख्या गत बर्षको सोही अवधिमा करिब ८० प्रतिशत कम हो ।

प्रमाणीकरणका लागि आएका तीमध्ये आवश्यक कागजात नपुगेको, पहिले कालोसूचीमा परेका र बढी गुनासो आएका कतिपय कम्पनीका मागपत्र दूतावासले प्रमाणीकरण नगरेको श्रम सहचारी बुद्धिनाथ भट्टराईले बताए । दूतावासले क्लिनिङ, फार्मिङ तथा प्लानटेसन, कन्स्ट्रक्सन, र सेवा क्षेत्र (सेक्युरीटी गार्ड, होटल, रेष्टुरेण्ट, डिपार्टमेन्टल स्टोर, पसल) आदिका लागि आउने मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

श्रम सहचारी भट्टराईका अनुसार कतिपय रोजगारदाताले ‘क्लिनिङ सर्भिस’ को भिसामा ल्याएर सुरक्षागार्डमा काम लगाउने गरेको पाइएकाले दूतावासले यी दुई क्षेत्रमा बेग्लाबेग्लै प्रमाणीकरण प्रावधान लागू गर्दै आएको छ । उसले सुरक्षागार्डका लागि न्युनतम मासिक तलब ९५० र ओभरटाइम समेत गरि १९ सय रिंगिट र क्लिनिङ सर्भिसको क्षेत्रमा न्युनतम र ओभरटाइम समेत गरि मासिक १४ सयभन्दा कम तलबमानसहित ल्याइएका मागपत्र प्रमाणीकरण गरेको छैन ।

तर उत्पादन क्षेत्रका मागपत्र अन्य निकायबाट समेत प्रमाणीकरण गर्न सकीने हुँदा ती क्षेत्रमा कति मागपत्र प्रमाणीकरण भए भन्ने दूतावाससँग तथ्यांक छैन । यद्यपि अघिल्लो बर्षको तुलनामा नेपालीको माग निकै घटेको दूतावासका अधिकारीहरु स्वीकार गर्छन् ।

मलेसिया र नेपालबीच श्रम सम्झौता हुन नसकिरहेको परिप्रेक्ष्यमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ को निर्णयपछि मलेसियाली रोजगारदातासित नेपाली व्यवसायीले चाहेजति माग लिन सकिरहेको छैन ।

नेपालीको व्यवसायमा असर
नेपालीहरुका लागि बैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य रहँदै आएको मलेसियाको रोजगारी नेपालीका लागि खुम्चिन थालेपछि यहाँ नेपालीले संचालन गरेका व्यवसाय पनि प्रभावित भएका छन् । यहाँ नेपालीका लगानीमा रेष्टुरेण्ट, पसल, वित्तिय क्षेत्र ट्राभललगायत व्यवसाय संचालनमा छन् । तीमध्ये सबैभन्दा धेरै रेष्टुरेण्टहरु छन् ।

यतिखेर मलेसियाली मूद्रा कमजोर भएकाले नेपालमा सटही दर पनि निकै कम छ । रेष्टुरेण्टहरुमा मात्र दैनिक करोड रुपयौंभन्दा बढीको कारोबार हुने गरेकोमा अचेल व्यवसायमा मन्दी आएको व्यवासायीहरुको अनुभव छ ।

प्रकाशित : पुस १५, २०७२ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?