लन्डनमा खोजी गरिएका कुख्यात लुटेरामा नेपाली पनि- प्रवास - कान्तिपुर समाचार

लन्डनमा खोजी गरिएका कुख्यात लुटेरामा नेपाली पनि

कान्तिपुर संवाददाता

लन्डन — लन्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली सुमन श्रेष्ठ परेका हुन् ।

बेलायती अखवार गार्डियनले जनाए अनुसार, सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएका छन् । स्टकल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्विर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका लुटेरामा कोही त दश हजार पाउण्ड मुल्य बराबरको सुन लुट्ने पनि छन् ।

आसन्न क्रिसमस र नयां वर्ष पर्वका अवसरमा झन् बढि लुटपाट हुने चिन्ताबीचप्रहरीले बनाएको विशेषज्ञहरुको टोलीले अहिले बेलायती राजधानीभर व्यापक खोजी गरिरहेको जनाइएको छ । प्रहरी तथ्यांक अनुसार, पछिल्लो केही महिनायतामात्र घर प्रवेश गरेर लुटपाट गर्ने क्रम २५ प्रतिशतले वृद्धि भएको छ ।

 

प्रकाशित : पुस ६, २०७२ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

राज्यलक्ष्मी गोल्छालाई एमालेको सम्मान

वेदराज पौडेल

इटहरी — एमालेका नेतालाई सात करोड रुपैया बाँडेको सार्वजनिक गरेपछि एकाएक विवादमा तानिएकी सांसद् राज्यलक्ष्मी गोल्छालाई सोमबार एमालेले सम्मानित गरेको छ । पार्टीको सुनसरी जिल्ला परिषद् उद्घाटनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाट उनी सम्मानित भएकी हुन् ।

एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिकमा सभासद् बनाएको थियो । तर, संविधान निर्माण प्रकृयामा सहभागी नभएको र प्रधानमन्त्रीका लागि भएको मतदानमा अनुपस्थित रहेको भन्दै एमालले सभासदबाट राजीनामा दिन दबाब दिएपछि उनले एमालेलाई सात करोड रुपैयाँ सहयोग गरेको खुलासा गरेकी थिइन् । इकान्तिपुरसँगको अन्तर्वार्तामा सहयोगको खुलासा गरेकी उनले केही दिनपछि विराटनगरस्थित गोल्छा हाउसमा पत्रकार सम्मेलन गरी सात करोड दिएको दोहोर्‍याएकी थिइन् ।

गोल्छाले कुनै पनि हालतमा राजीनामा नगर्ने बताएकी थिइन् । स्पष्टीकरणको मौका समेत नदिइ अनावश्यक रुपमा पार्टीका नेता गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदिप ज्ञवालीलगायतले पटक–पटक फोन गरेर राजीनामा दिन ‘र्टचर’ गरेको उनले आरोप लगाएकी थिइन् । सभासद् बन्न ५ करोड दिएको र भूकम्पका बेला पनि पार्टीलाई सहयोग गरेको उनले बताएकी थिइन् । उनले एमाले केन्द्रिय नेताहरुको नामै किटेर रकम दिएको खुलासा गरेकी थिइन् । उनको भनाईको एमाले र युवा संघले खण्डनसमेत गरेको थियो ।

एमालेले सोमबार समाजका विभिन्न क्षेत्र र पार्टी भित्र योगदान गर्नेलाई योगदानको कदर गर्दै गोल्छासहित करिब ८० जनाभन्दा बढीलाई सम्मान गरेको हो ।

ओलीले नसकेपछि महासचिवले बाँडे सम्मान
सम्मान लिनेको संख्या धेरै भएकाले केहीलाई सम्मान बाँडेपछि अध्यक्ष ओली बसे, महासचिव ईश्वर पोख्रेलले सम्मान बाँड्न थाले । उद्योगी मोती दुगडले महासचिवले मात्र दिएको सम्मान थाप्न आनाकानी गरेपछि ओली फेरि उठेर उनलाई प्रमाणपत्र दिए, टिका लगाई दिए ।
सम्मान कार्यक्रममा केही विवादास्पद व्यक्ति पनि परेको विषयमा एमाले भित्र नै विवाद भए पनि कावा अध्यक्ष द्वारिकलाल चौधरीले प्रतिक्रिया दिन मानेनन् ।

 

प्रकाशित : पुस ६, २०७२ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×