गन्तव्य खप्तड

ज्ञानेन्द्र दवाडी

काठमाडौँ — खप्तड घुम्ने रहर जागेको दशक पुग्न थालिसकेको थियो । मौकाले यसबेला सुदूरपश्चिम आएको पनि एक वर्ष पुग्यो । कर्म गर्दै गर्दा कतिपय रहरहरु पूरा हुने दिन पनि जुर्दै जाने रहेछ । मेरो कर्मथलो धनगढी । दुई दिन लगातार छुट्टिको बेला आयो ।

गन्तव्य खप्तड

त्यसैमा थप दुई दिन बिदा लिएर यही मौकामा खप्तड घुम्न जाने विचार आयो । तीन जना साथीहरुसँग प्रस्ताव गरो । उहाँहरु पनि तयार हुनु भयो । तर आकस्मिक योजना, हामीहरुसित आवश्यक तयारीका लागि समय निकै कम थियो । तर पनि जाने सुर कस्यौं । साथीहरुले गाडीको बन्दोबस्त गर्नुभयो । असारको अन्तिम साता धनगढीबाट हिँड्यौं ।

धनगढीबाट हिँडेका हाम्रो पहिलो दिनको बास डोटीको झिग्रेनामा तय भएको थियो । झिग्रेना नजिकिँदै जाँदा शिलगढीको घुम्ती उकालो सुरु भयो । केही घुम्ती छिचोल्दै उकालो लाग्दै रमाइलो सुरु भइसकेको थियो । शिलगढीभन्दा अलि माथि झिग्रेना नजिक हाम्रो गाडी चालकले मिनी खप्तड भनेर देखाए । त्यो ठाउँ बगलेक रहेछ । बगलेक साँच्चै सुन्दर रहेछ । गाडी रोक्यौं, बगलेकका हरियाली फाँटहरुमा फोटो खिचेर एकछिन रमाएपछि अगाडि बढ्यौ । बगलेक त यति सुन्दर छ भने खप्तड कति सुन्दर होला भन्ने कौतुहलताले मन झनै रोमाञ्चित भयो ।

धनगढीबाट करिब सात घण्टाको गाडी यात्रापछि झिग्रेना पुग्यौं । त्यहाँसम्म कालोपत्र सडक, यात्रा सरर भयो । झिग्रेनामा पुग्दा सबैभन्दा आनन्द त त्यहाँको मौसमले दियो । धनगढी ३८ डिग्रीको उखरमाउलो गर्मीले निस्सासिएझैं भएका हामीहरु झिग्रेनाको १८ डिग्री ठण्डा मौसमले हामीलाई बेग्लै आनन्दाभूति दिलायो । भर्खर बन्न थालेको खप्तड होमस्टेमा राति क्याम्प फायर गर्न त झन् धेरै रमाइलो भयो । लेकाली आलु आगोको पोरामा उसिन्दै कालो नुन मिसायर खाँदाको स्वादै बेग्लै । कोदोको रोटी, हरियो साग, चोतो (लोकल मुला) को अचार र सिमीको दाल । साँझको खाना खुब मिठो लागेर थप्दै खायौं ।


दोस्रो बिहान सबेरै झिग्रानाबाट उकालो चढ्यौं । खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पार गर्नासाथ ठाडै उकालो सुरु भयो । उकालोमा माथिमाथि चढ्दै जाँदै हिड्न गार्‍हो भइरहेको थियो । ठाउँठाउँमा विभिन्न ठाउँमा पुग्न लाग्ने समय दुरी र उचाइ लेखिएका जानकारीमूलक सूचना पाटीहरु राखिएका रहेछन् । हामीलाई त्यस्ले पनि धेरै सहज भयो ।

बिच्चबिच्चमा विश्रामस्थल पनि निर्माण गरिएका रहेछन् । ती विश्रामस्थालमा थकाइ बिसाउँदै उकालो चढ्दै गयौं । दुई घन्टा उकालो चढाइपछि खप्तड होमस्टेका दाजुले दिनुभएको खाजाको पोको खोल्यौं । घिउमा उसिनेको आलु, पोलेको लसुन, नुन खुर्सानीको अचार र कागतीका टुक्रा रहेछन् । फरक स्वादको खाजा झन् मिठो लाग्यो । हुन त बाटोको खाजाको लागि धनगढीबाटै ड्राइफुडहरु बोकेर हिडेका थियौं ।

खाजा खाएर अघि बढ्यौं । ठाडै उकालो थियो । करिब तीन घण्टाको उकालो चढाइ पछि हामी बीचपानी पुग्यौं । बिचमा विश्राम तथा वासस्थान भएपनि सुनसान थियो । त्यहाँदेखि अलिमाथि फोनडाँडा भन्ने ठाउँ लेखिएको थियो । सुरुमा त यस्तो पनि के नाम होला भन्ने लाग्यो । तर त्यो डाँडामा मात्र फोन लाग्ने रहेछ । त्यसैले त्यस ठाउँको नाम फोनडाँडा राखिएको रहेछ । यसरी हामी करिब ६ घण्टाको उकालो छिचोल्दै खप्तडको पहिलो पाटन बुकी दहमा पुग्यौं । भर्खर टुसाउँदै गरेका फूलहरुले बुकी दह पाटनको सौन्दर्य नै बेग्लै थियो । मन रोमाञ्चित भयो, थकाई घट्यो ।

बुकी दहभन्दा माथि तलजस्तो उकालो थिएन । हामी छिन्ते ढुंगा, सीता पाइला हुँदै डोटी बाजुरा बझाङको संगमस्थल खप्तड त्रिबेणी पुग्यौ । त्यहाँसम्म पुग्न झिग्रानादेखि करिब ६ घण्टा समय लाग्यो ।

त्रिबेणी पुगेर स्नान गर्यौं । साँझको बास आर्मीको क्याम्प नजिकै खप्तड पर्यटन विकास तथा ब्यवस्थापन समितिको गोल घर (आवास गृह) मा बस्ने निधो भएको थियो । झिग्रेनाबाटै खबर गरेकाले त्रिवेणीमा स्नान गरेर गोलघर पुग्दा दिउसोको एक बजेको थियो ।

बाटोमा भेटिएका भेटिएका गोठाले दाइलले हाम्रो खानाका लागि गोल घरमा खबर गरिदिनु भएको थियो । बाजुराको लोकल चामल, सिमीको दाल, रायो र आलुको तरकारीको साथ पाटनमा चरेका भैसीको दुधसहितको खाना खप्तडको पारिलो घाममा बसेर खान पाउादा मन झनै हर्षित भयो ।

हामी मध्याह्नतिरै त्रिवेणी पुगिसकेकाले त्यहीदिन घुमघाम गर्ने समय छदैं थियो । थकानले लखतरान भएपनि खप्तडका हरियाली पाटनहरुले मन हलुको बनाइरहेको थियो । जता हेर्यो आँखाले देखिने ठाउँसम्म हरियाली फाँटहरु । चिसो हावा, ती फाँटहरुमाथि फुलेका सप्तरंगी फुलहरु । थकाइ नमेटिने कुरै थिएन । त्यसैले त्यही दिन घुमघाम गर्ने सुर कस्यौं ।

हामी केदारढुंगा हुँदै डेढ घण्टामा हामी खापर दह (खप्तड दह) पुग्यौं । त्यहाा जंगलको बीचको कञ्चन ताल मिनी रारा जस्तै लाग्यो । खप्तड दह अवलोकन गरिसकेपछि हामी सह्रश्रलिङ्गतिर लम्क्यौं । त्यहाँ जान उकालो चढ्नु पर्ने रहेछ । लगभग डेढ घण्टा हिडेपछि हामी सह्रश्रलिङ्ग मन्दिर पुग्यौं । ३ हजार ४ सय मिटरको उचाइमा रहेको यो ठाउँ ठुला ठुला ढुङ्गाको टुप्पोमा अवस्थित रहेछ । अछाम र बाजुराको साँधमा रहेको सह्रश्रलिङ्ग नजिकै काठको साँघु जीर्ण भएपनि आकर्षक थियो ।

खप्तडका अनेक पाटनहरु घुम्ने क्रममा बाटो भुलेर विशाल पाटन पुग्यौं । त्यो पाटन घोडा दाउन्ने पो रहेछ । जस्तको चर्चा पहिल्यैदेखि सुन्दै आएका थियौं । हरियाली पाटनमा चरिरहेका थुप्रै घोडा र गाइबस्तुहरुले त्यहाँको आकर्षण थपेका थिए । रात पर्दै गएकोले होला घोडाहरु झुण्ड झुण्ड हुँदै थिए । साँझ ७ बजेतिर वास वस्ने ठाउँ गोलघर फर्कियौं । खप्तड बाबाको कुटी भने दोस्रो दिन अवलोकन गर्ने सल्लाह भयो ।


गोल घरमा फर्कंदा झम्मक भइसकेको थियो । अब त थकान पनि खपिनसक्नुभएको थियो । यतिसम्म कि खाना खान पनि जाँगर थिएन । तर पनि साथीहरुको करले खाना खाएँ । खाना खादै गर्दा खाना पकाउने दाजु एकै दिनमा त्यहाँबाट यहाँ आएर यति स्थान घुम्ने मान्छे देखेको थिइन भन्दै हुनुहुन्थ्यो । जाडोले गर्दा आगो छोड्न कसैको मन मानेको थिएन ।

सुत्ने तरखर गर्दै गर्दा अर्को खत्पड घुम्न आएकाहरुको अर्को समुह बास बस्न त्यही आइपुग्यो । बाहिर सिमेन्ट भए पनि भित्र पुरै काठको थियो कोठा, अट्याच ट्वाइलेट बाथरुम सहितको गोलघरको सुविधा राम्रै थियो । त्यै पनि सिरक ठुलो भएपनि खप्तडको जाडोले रातभरि थरथर कमायो ।

बिहान ५ बजे उठेर नित्यकर्म सकेर खप्तड बाबाको कुटी प्रस्थान गर्यौं । १५ मिनेट जतिमा कुटी पुग्यौं । कुटी आकर्षक थियो । त्यहााको अवलोलक गर्दैगर्दा त्यस समयमा खप्तड बाका कसरी यहाँ आएर बस्नु भयो भन्ने प्रश्नले मनमनै घेरिरिह्यो । बाबाले पानी खाने कुवा त धेरै बेरसम्म हेरिरह्यौं ।

त्यसपछि हामी त्रिबेणीलाई केही पर छोड्दै सिता पाइला निस्कियौ । छिन्ते ढुङ्गा पुग्दै गर्दा फेरि पाटनको रमाइलोमा बालबालिकाले जसरी लडिबुडी खेल्यौं । फोटो खिच्दै खुब रमाउँदै फर्कियौं । फर्किदा त हामी हिड्ने हैन कुदे जस्तो गरि ओराले लागेछौं । करिब १२ बज्न लाग्दै गर्दा हामी झिग्राना पुगिसक्यौं । झिग्रानाबाट फर्किने बेला फेरी एक पटक त्यही खप्तड जाने उकालो हेर्दै खप्तडलाई बाई बाई गर्दै आफ्नो बाटो लाग्यौं ।

प्रकाशित : भाद्र ३, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?