कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रमणीय रामारोशन 

तर्कबहादुर चलाउने

काठमाडौँ — अछामको उत्तर-पूर्वीमा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यो क्षेत्रलाई सरकारले सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । प्रचारप्रासरको अभावमा यो क्षेत्र ओझलमा परेको छ ।

रमणीय रामारोशन 

'राम' र 'रोशन' नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम 'रामारोशन' बन्न पुगेको स्थानीवासीयहरु सुनाउँछन् । समुद्री सतहबाट २३०० देखि २९०० मिटरसम्मको उचाइमा यो क्षेत्र पर्छ । १२ वटा ताल र १८ वटा मैदान भएका कारण यस क्षेत्रलाई 'बाह्र बण्ड अठार खण्ड' भनेर पनि चिनिन्छ ।


रामारोशन क्षेत्रका १२ तालमध्ये सबैभन्दा ठूलो ताल जिगाले हो । ताल पुरै घुम्न दुईदेखि तीन घन्टासम्म लाग्छ । मनै लोभ्याउने तालहरु । आकाश छुने जमिनका फाँटहरु,तालमा पौडिरहेका हाँस, नाचिरहेका डाँफे, दौडिरहेका मृग र कस्तुरी यहाँद देख्न पाइन्छ । विभिन्न ९ प्रजातिका लालिगुराँस र चराचुरुङ्गीहरु यहाँ पाइन्छन् ।

चराचुरुंगीको आवाजले यहाँको सिमसारमा झन् रोमाञ्चित बनाइदिन्छ । त्यतिमात्र नभएर त्यहाँ तराईमा पाइने वन्यजन्तु, रुख बिरुवा जडीबुटीदेखि हिमाली क्षेत्रमा पाइने डाँफे, मुनाल, घोड, हिमचितुवा , बँदेल र लोपोन्मुख प्रजातिमा पर्ने काँडेभ्याकुर, हाब्रे जस्ता विभिन्न प्रजातिका जीवहरुको बासस्थानको रुपमा पनि प्रख्यात मानिन्छ रामारोशन ।


जडिबुटी प्रशोधनको केन्द्र बिन्दु बन्न सक्ने आधारहरु यो क्षेत्रसँग छ । हरियो र नीलो काइनेटिक पत्थर, गेरु लगायतका बहुमूल्य धातुको खानी पनि यही क्षेत्रमा देख्न सकिन्छ ।


रामारोशन क्षेत्रको बीच भागमा रहेको किनिमिनी मैदानसहितका अन्य फाँटहरु उपत्यका भन्दा कम छैनन् । यही मैदानमा तत्कालीन माओवादीका लडाकुहरु प्रशिक्षण लिने र दिने काम हुन्थे ।


यस क्षेत्रमा एयरपोर्ट बनाउन सकिने पर्याप्त आधारहरु भएपनि यी मैदानहरु संरक्षणको पर्खाइमा छन् । तीनतिरबाट डाँडाकाँडाहरुले घेरेर बीचमा दुईवटा विशाल मैदान बनेको रामारोशन क्षेत्रमा सरकारले पर्याप्त लागनी गर्न सकिरहेको छैन । मुलुककै नमुना पर्यटकीयस्थल बन्ने सम्भावना बोकेको यो भूमि अहिले ओझेलमा छ ।


यो क्षेत्रको अर्को आकर्षण हो, चाखाडाँडा । यो डाँडाको चुचुरोदेखि राति चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बत्ती बलेको सहजै देख्न सकिन्छ ।


चाखाडाँडा यहाँको सबैभन्दा उच्च ठाउँमा अवस्थित अटल र चहकिलो स्तम्भका रुपमा रहेको छ । यहाँबाट पर्यटन क्षेत्र मात्र नभई प्याराग्लाईडिङ, रकक्लाईम्बिङ जस्ता सहासिक खेलबाट पर्यटनलाई आकर्षित गर्न सकिन्छ । जलबिहार पनि यसको अर्को सम्भावना हो ।


यस क्षेत्रमा पर्यटकहरुका लागि स्मारिक मानिने भूमि आकासे भीरमा बांगे छहरा अनि गणचुच्चे र रोशन डाँडाले सबैलाई लोभ्याउँछ । रामारोशनकै छाँगा छहरा, आकास नै छुने गरी हरबखत उभिरहेका पहाडका थुम्काहरु मात्र होइन भेडाबाख्रा, गोरुभैंसी र जंगली जनावरले चरिरहेका दृष्यले पनि सबैलाई आनन्दको अनुभूति दिइरहेको हुन्छ ।


गोठालाहरुले गाएको ठाँडी भाकामा गोरु र भैसीका घाँटीमा झुण्डियाइएका घाँडाहरुले संगीत भरिदिन्छ । चराहरुको संगीतले त त्यहाँ जाने मानिसलाई संगीतमा डुबाइदिन्छ ।


अछामको सदरमुकाम मंगलसेनबाट झन्डै ४० किलोमिटर पूर्व–उत्तरमा अवस्थित रामारोशन क्षेत्रमा कच्ची बाटो छ । यहाँ वर्षातको समय बाहेक रामारोशनसम्म जीप, मोटरसाइकल र ट्याक्टरहरु पुग्छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रका १२ वटा तालहरुमध्ये संरक्षणको अभावमा ८ वटा ताल मात्र रहेको छ । तालहरु सुक्न थालेका छन् । समयमै तालको व्यवस्थापन नीति निर्माण नहुँदा ओझेलमा परेको छ ।


पर्यटकीयस्थल निर्माणको लागि कुनैपनि ठाउँको वैज्ञानिक अध्ययन अनुसन्धान गरि नीति निर्माण गर्नु अतिआवश्यक मानिन्छ । अध्ययन अनुसन्धानको पाटो पनि कमजोर छ । व्यवस्थापन नीति निर्माण हुन सकेको छैन ।


यो क्षेत्र पर्यटकीय स्थल मात्र नभएर जैविक विविधताको पनि धनी हो । त्यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, आईयूसीएनको रातो सूचीमा सूचिकृत हाब्रे जस्ता जीवको बासस्थानक पनि हो ।


त्यस क्षेत्रको वनस्पति र जीवहरुको वैज्ञानिक अनुसन्धान गर्ने,पाइने वनस्पतिको सूचिकृत गर्न सकिएको छैन । यस्ता विषयमा राज्यले ध्यान दिन जरुरी छ ।


पर्यटकीय, धार्मिक र अनुसन्धान गरी अति महत्वपूर्ण स्थानको रुपमा विकास गर्न सकिन्छ रामारोशन क्षेत्रलाई । रामारोशन क्षेत्रले काखमा च्यापेका प्रकृतिका अनुपम उपहारलाई संरक्षण र प्रचारप्रसार गरी यस क्षेत्रको सौन्दर्यतालाई बेच्न सके विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

लेखक वातवरण विज्ञान केन्द्रीय विभागका विद्यार्थी हुन् ।

प्रकाशित : कार्तिक १९, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?