विश्वकप २०२२

समूह चरणमा तीन टिममात्र प्रस्ताव

एएफपी

दोहा — चार वर्षपछि हुने अर्को विश्वकपमा एउटा समूहमा ३ टोलीमात्र राखिने योजना विश्व फुटबल महासंघ (फिफा) ले बनाइरहेको अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार जानकारी गराएका छन् । फिफाले यसअघि नै २०२६ को विश्वकपमा ३२ बाट बढाएर ४८ राष्ट्र राखिने घोषणा गरिसकेको छ ।

समूह चरणमा तीन टिममात्र प्रस्ताव

प्रस्तावित योजनाअनुसार सहभागी ४८ टोलीलाई पहिलो चरणमा १६ समूहमा विभाजन गरिने छ । उक्त संरचनाअनुरुप प्रत्येक समूहबाट शीर्ष दुई टोली छनोट गर्दा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गर्नेछन् । यसअघिका विश्वकपमा परम्रागत रूपमा एउटा समूहमा चार टोली रहँदै आएको थियो । कतार विश्वकपको पहिलो चरणको रोमाञ्चक सफलताले आफूहरू एउटा समूहमा तीन टोलीमात्र राख्ने कुराको पुनर्विचारमा प्रेरित भएको इन्फान्टिनाले जनाए ।

कतार विश्वकपमा समूह चरणका धेरै खेल रेफ्रीले अन्तिम सिटी नफुकेसम्म को टोली छनोट हुने निर्णयका लागि कौतूहल र रोमाञ्चक बनेको थियो । ‘एउटा समूहमा चार टोलीको प्रतिस्पर्धा निश्चय नै अविश्वसनीय रह्यो । अन्तिम खेलको अन्तिम मिनेटसम्म यसले रोमाञ्चकता दिएको थियो,’ अध्याक्ष इन्फान्टिनोले दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले यो ढाँचालाई पुनः हेर्नुपर्छ वा कम्तीमा फेरि छलफल गर्नुपर्छ, चाहे त्यो ३ टोलीको १६ समूह होस् वा ४ टोलीको १२ समूह । यो आगामी केही साता एजेन्डा हुनेछ ।’ इन्फान्टिनोले सन् २०२६ को विश्वकपलाई युरोपियन च्याम्पियनसिपको मोडलमा ल्याउन खोजिएको पनि जनाए । युरोपियन च्याम्पियनसिपमा ६ समूहमा ४–४ टोली राखिएको हुन्छ । समूहका शीर्ष दुई टोलीसहित चार शीर्ष तेस्रो हुने टोलीले पनि नकआउट चरणमा खेल्ने गरेका छन् । चार वर्षपछिको विश्वकप तीन देश अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।

उनले विश्वकपमा राष्ट्र विस्तार गर्दा फिफालाई आर्थिक लाभ हुने बताए । यस विश्वकपबाट फिफालाई ७ अर्ब ५० करोड डलर नाफा भएकोमा विश्वकप सहभागी संख्या बढाएकाले पनि २०२६ मा ११ अर्ब डलर नाफा हुने प्रक्षेपण गरिएको छ । अर्को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या बढाइएको, रंगशाला निर्माणको पूर्वाधार र उत्तर अमेरिकी बजारको आकारका कारण आम्दानीको स्रोत बढ्न लागेको इन्फान्टिनो जनाउँछन् ।

मोरक्कोविरुद्ध शनिबार हुने तेस्रो स्थानको खेललाई दोहामा अभ्यासरत लुका मोड्रिचसहित क्रोएसियाली टोली । तस्बिर : एएफपी

‘हामी फुटबलको शक्तिलाई लिएर उत्साही छौं,’ अध्यक्ष इन्फान्टिनोले भने, ‘फुटबलको प्रभाव ठूलो हुनेमा हामी विश्वस्त छौं । उत्तर अमेरिकामा अविश्वसनीय विश्वकप हुनेछ । तीन ठूला राष्ट्रले ४८ राष्ट्रको आतिथ्यता गर्नेछन् । धेरै खेल हुँदा ब्रोडकास्टिङका कारण आम्दानीको स्रोत बढ्नेछ । प्रायोजकले आफ्नो दायरा अझ ठूलो बनाउने छ । अमेरिकी फुटबलका लागि प्रयोग भएका ८०–९० हजार दर्शक क्षमताको रंगशालामा हामी विश्वकपका खेल खेल्ने छौं । यो इभेन्टका लागि ५५ लाख दर्शक आउने हामीले अनुमान गरेका छौं ।’

प्रकाशित : पुस २, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?