अमेरिकामाथि नेपालको कीर्तिमान जित


काठमाडौँ — नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।



पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले विजय लक्ष्य तेस्रो तीब्र गतिमा पुरा गरेको हो । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।
यसअघि नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबर गरेको छ । यसअघि २००४ मा श्रीलंकाले जिम्बाबेलाई हरारेमा ३५ रनमै अल आउट गरेको थियो ।
बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो ।
अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।
त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए ।
अमेरिकाबाट ओपनर जेभियर मार्शलले २२ बलमा २ चौकासहित १६ रन बनाए । अन्य कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् ।
प्रकाशित : माघ २९, २०७६ १०:२९