१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किवीको म्यानचेस्टर चमत्कार

एएफपी

म्यानचेस्टर — न्युजिल्यान्ड कप्तान केन विलियम्सनले आइतबार लर्ड्समा हुने विश्वकप फाइनलको प्रतिद्वन्द्वीविरुद्ध लिग चरणमा बेहोरेको हारको खार्स अर्थ नहुने दाबी गरेका छन् । न्युजिल्यान्ड नेट रनरेटको आधारमा अन्तिम चारमा गरेको टोली हो ।

किवीको म्यानचेस्टर चमत्कार

उसले भारतविरुद्ध बुधबार सेमिफाइनलमा नाटकीय १८ रनको जित निकालेको थियो । ओल्ड ट्राफोर्डमा प्राप्त जितलाई न्युजिल्यान्डको म्यानचेस्टर चमत्कार भन्न सुरु भएको छ ।


सन् २०१५ को विश्वकप विजेता न्युजिल्यान्डले अबको फाइनलमा त्यस भन्दा एक पाइला अगाडि सरेर राम्रो गर्ने पूरा सम्भावना रहेको पनि विलियमसनले दाबी गरे । लिग चरणमा न्युजिल्यान्ड अस्ट्रेलियासँग ८६ रन र इंग्ल्यान्डसँग १ सय १९ रनले पराजित रहेको थियो । अझ न्युजिल्यान्ड अस्ट्रेलियासँग चार वर्ष अगाडिको फाइनलमा समेत पराजित रहेको थियो । उनले लिग चरणका खेल दुई अंकको लागि महत्त्वपूर्ण रहने दाबी पनि गरे ।


‘पक्कै पनि दुई अंकभन्दा सेमिफाइनल जित बढी महत्त्वको छ,’ विलियम्सनले भने, ‘तर हामी प्रत्येक खेललाई उत्तिकै महत्त्वले हेर्छौं र यसलै हाम्रो टिम सफल पनि भएको छ । यसपल्ट प्रतियोगितामा सहभागी सबै टिम उत्तिकै बलिया थिए, त्यसैले सबै प्रकारका सम्भावना पनि खुला थिए । प्रत्येक दिनको नतिजा फरक फरक हुनसक्छ, कसैले पनि कसैलाई यस विश्वकपमा हराउन सक्छ । सबैभन्दा ठूलो तथ्य हो, हाम्रा खेलाडी प्रत्येक चुनौती सामना गर्न तयार रहे ।’


टिमको फाइनल प्रवेशलाई लिएर त्यसले समग्रमा न्युजिल्यान्डको क्रिकेटमा पर्ने असरलाई लिएर उनले भने, ‘टिम फाइनल पुग्दैमा सबै परिवर्तन भने हुँदैन ।’ न्युजिल्यान्डमा रग्बी युनियन नम्बर एक खेल रहेको छ । ‘हामी के मात्र निश्चित छौं भने हाम्रो क्रिकेट समर्थक पक्कै रोमाञ्चक भने होलान् । हामी सबै पनि फाइनल प्रवेशका लागि खुसी र उत्साही छौं । फेरि एक पल्ट विश्वकपको फाइनल खेल्नुको मज्जा नै बेग्लै छ ।’


‘खासमा फाइनलको त कुरा नै छाडौं, विश्वकप प्रत्येक चार वर्षमा एकपल्ट आउँछ । यति ठूलो प्रतियोगिता खेल्नको अर्थ नै धेरै छ,’ विलियम्सनले थपे, ‘हामी के पनि भन्छौं भने प्रत्येक खेलमा टिमले सक्दो प्रयास गर्नुपर्छ । यसले टिमको प्रदर्शनमा सुधार पनि आउने गर्छ ।’ भारतविरुद्धको सेमिफाइनलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २ सय ३९ रन बनाएको थियो । त्यसमा रस टेलरले सर्वाधिक ७४ रन बनाए ।


यस्तै विलियम्सनले आफैंले पनि ६७ रनको योगदान दिए । खेलको निर्णायक मोड भने म्याट हेनरी र ट्रेन्ट बोल्टको बलिङ रह्यो । उनीहरूले सस्तोमै भारतको माथिल्लो क्रमलाई आउट पारे । त्यस क्रममा भारत १० ओभरभित्र ४ विकेट गुमाएर २४ रनको स्थितिमा पुगेको थियो । भारतका महेन्द्रसिहं धोनी र रवीन्द्र जडेजाले सातौं विकेटमा १ सय १६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।

प्रकाशित : असार २७, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?