भारतको समर्थनमा करुनारत्ने

एएफपी

लिड्स — श्रीलंकाली कप्तान दिमुथा करुनारत्नेले यसपल्टको विश्वकप उपाधि भारतले जित्ने बताएका छन् । विराट कोहलीको टिमसँगको शनिबारको खेलका पराजित भएयता उनले भारतीय टिम सेमिफाइनल पुग्ने टिममध्ये सर्वाधिक सन्तुलित रहेको पनि बताए । भारतले समूह चरणको आफ्नो अन्तिम खेलमा सात विकेटको जित निकालेको थियो । त्यसमा रोहित शर्माले प्रतियोगिताकै कीर्तिमान पाँचौं शतक बनाएका थिए ।

भारतको समर्थनमा करुनारत्ने

सन् १९९६ को च्याम्पियन श्रीलंकाले आयोजक इंग्ल्यान्डलाई हराएर प्रतियोगिताकै सर्वाधिक स्तब्धपूर्ण नतिजा निकालेको थियो । त्यसमै टिकेर टिमले सेमिफाइनल यात्रा भने तय गर्न सकेन । अन्तिम चार पुगेका भारत, इंग्ल्यान्ड, डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र न्युजिल्यान्डलाई लिएर करुनारत्नेले भने, ‘मेरो विश्लेषणमा भारतको विश्वकप जित्ने सम्भावना बढी छ । यो मेरो विचार हो । खास दिन भारतमाथि अरू टिम पनि बलिया हुन सक्छन् तर पनि भारत नै बलियो छ ।’


रोहितले त्यस खेलमा १ सय ३ रन बनाएका थिए । उनले केएल राहुलसँग मिलेर पहिलो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरे । राहुलले टिमका लागि सर्वाधिक १ सय ११ रन बनाए । यसअघि जसप्रित बुमराहले तीन विकेट लिएपछि श्रीलंकाले सात विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । त्यसमा एन्जेलो म्याथ्युजले पनि शतक बनाएका थिए । विश्वकपको ठीक अगाडि मात्र कप्तानी पाएका करुनारत्नेले भारतको क्रिकेट राम्रो हुनु पछाडि उत्तिकै बलियो घरेलु संरचना रहेको माने ।


उनले भने, ‘भारतको घरेलु संचरना निकै बलियो छ र यसैमा राष्ट्रिय टिमको प्रदर्शन टिकेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले पनि धेरै सहयोग गरेको छ । घरेलु संरचनामा पनि निकै राम्रा टिम छन् । यसै कारण भारतले एकपछि अर्को राम्रा खेलाडी पनि उत्पादन गरिरहेको छ र यसैमा टिकेर भारतीय टिमको जित पनि सम्भव भइरहेको छ । खासमा हामी के चाहन्छौं भने श्रीलंकाली क्रिकेट बोर्डले पनि यही ढाँचालाई पछ्याउने गर्नुपर्छ ।’


उनले भेट्रान पेसमयान लसिथ मलिङ्गाको विश्वकपको बिदाइ वान डे जित्न नसकेकोमा भने दुःख पोखे । उनले भने, ‘आज मलिङ्गाको विश्वकपमा बिदाइ खेल थियो र हामी उनलाई जितसँगै खुसीले बिदाइ दिन चाहन्थ्यौं । हामीले त्यसो गर्न सकेनौं । हामीले त्यसका लागि कडा मिहिनेत भने गर्‍यौं । मलिङ्गाले अझै श्रीलंकाका लागि केही खेल खेल्नेछन् र यो बंगलादेशविरुद्ध रहने छ । हामी त्यसमा सुखद बिदाइका लागि पूर्णतः प्रयास गर्नेछौं ।’

प्रकाशित : असार २३, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?