कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मलिकले लिए संन्यास

(एएफपी)

लन्डन — लर्ड्समा बंगलादेशविरुद्धको जितपछि पाकिस्तानी ब्याट्सम्यान सोएब मलिकले आफ्नो बिदाई खेलबिना नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । मलिकले गत वर्ष नै विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने बताइसकेका थिए । विश्वकपमा पाकिस्तानको अन्तिम खेलमा बंगलादेशलाई ९४ रनले हराएपछि उनले योजना कार्यान्वयन गरेका हुन् । 

मलिकले लिए संन्यास

३७ वर्षीय मलिकले टान्टी–२० भने खेल्नेछन् । तर एकदिवसीय करिअरबाट विश्राम लिनु आफ्नो जीवनकै भावुक क्षणको रूपमा उनले परिभाषित गरे । सुरुआती ३ मध्ये २ खेलमा शून्यमै आउट भएपछि टिमबाट निकालिएका मलिकले भने, ‘म एकदिवसीय क्रिकेटबाट संन्यास लिँदै छु,’ भारतीय टेनिस स्टार सानिया मिर्जाका श्रीमान मलिकले थपे, ‘म यस कुरामा निकै दु:खी छु कि मैले यस फर्म्याट छोडिरहेको छु, जुन मलाई सबैभन्दा मनपर्छ । म आफ्नो परिवारसँग अधिक समय बिताउन र अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपमा अधिक ध्यान केन्द्रित गर्न यसो गरिरहेको छु ।’


सन् १९९२ को उपाधि विजेता पाकिस्तानले यस संस्करणको सेमिफाइनलमा स्थान बनाउन असफल भएपछि मलिकको यो निर्णय आएको हो । पाकिस्तान ९ खेलबाट न्युजिल्यान्डसँग समान ११ अंक बनाए पनि नेट रनरेटका आधारमा पछि परेको हो । मलिकले २ सय ८७ एकदिवसीय अन्तर्राष्ट्रियमा ९ शतकसहित जम्मा ७ हजार ५ सय ३४ रन प्रहार गरेका छन् । उनको अन्तिम खेल जुन १६ मा म्यानचेस्टरमा भएको चिरप्रतिद्वन्द्वी भारतविरुद्धको खेल रह्यो । अफ स्पिनरका रूपमा उनले १ सय ५८ अन्तर्राष्ट्रिय विकेट पनि लिएका छन् । उनले ४१ एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानको कप्तानी सम्हालेका थिए । मलिकले कमजोर लयबीच करिअर सिध्याउनुपर्दा निरास बनेको प्रतिक्रिया दिएका छन् । ‘टिमको सिनियर खेलाडी हुनुका नाताले मैले धेरैभन्दा धेरै सहयोग गर्न चाहन्थें तर सधैं सबै कुरा तपाईले सोचेजस्तो हुँदैन । यो क्रिकेटको एउटा हिस्सा पनि हो,’ उनले भने ।


‘तपाईले दुई वा तीन खेलमा कुनै पनि खेलाडीको मूल्यांकन गर्न सक्नुहुन्न तर म यो कुरामा खुसी छु कि मलाई प्रतिस्थापन गरेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे,’ दक्षिण अफ्रिका र न्युजिल्यान्डविरुद्ध अर्धशतक बनाएका

ह्यारिस सोहेलबारे मलिकले भने । ‘यदि तपाई कडा मिहिनेत र इमानदारीसाथ खेल्नुहुन्छ भने सर्वोत्कृष्ट सफलता हासिल गर्नु हुनेछ, मेरो हकमा पनि त्यही भएको हो । मैले कहिल्यै पाकिस्तानका लागि २० वर्षसम्म खेल्न सक्छु भन्ने सोचेको थिइनँ,’ मलिकले थपे ।


प्रकाशित : असार २२, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?