कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'सोचेजस्तो भएन’

(एएफपी)

लन्डन — विश्वकप लिग चरणको अन्तिम खेलमा बंगलादेशमाथि ९४ रनको जित बावजुद सेमिफाइनल छनोट हुन नसक्नुले मिश्रित अनुभव दिएको पाकिस्तानी प्रशिक्षक मिकी आर्थरले स्विकारेका छन् । सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानलाई एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक रन अन्तरको कीर्तिमान आवश्यक थियो । '

'सोचेजस्तो भएन’

तर उनीहरूले पहिले व्याटिङ गरी ३१५–९ को योगफल खडा गरेका थिए । यसको मतलब बंगलादेश ७ रनमा अलआउट हुनुपर्ने थियो । जुन असम्भव थियो । बंगलादेशले दोस्रो ओभरमै ८ रन प्रहार गरी पाकिस्तानको घर फिर्ती निश्चित गर्‍यो । र, सेमिफाइनलमा अस्ट्रेलिया, भारत र इंग्ल्यान्डसँगै न्युजिल्यान्डको स्थान सुरक्षित गरिदियो । समान ९ खेलबाट पाकिस्तान र न्युजिल्यान्डको ११ अंक रह्यो । नेट रनरेटका आधारमा न्युजिल्यान्ड भाग्यमानी बन्यो ।

यस विश्वकपसँगै आर्थरको सम्झौता पनि सकिएको छ । यस विश्वकपमा पाकिस्तान टिमका लागि यी दक्षिण अफ्रिकी प्रशिक्षकको अनुभव उतारचढाव र निरासाजनक अन्त्य रह्यो । ‘हामीले जसरी अन्त्य गर्न चाहन्थ्यौं त्यस्तो भएन । हाम्रो विश्वकप अभियान ‘यदि र तर’ मै बित्यो,’ उनले संवाददातासँग भने, ‘यदि हामीले पछिल्ला ५ खेलमा जस्तै प्रदर्शन सुरुआती ५ खेलमा गर्न सकेको भए परिणाम अर्कै हुन्थ्यो । तर यो लामो प्रतियोगितामा हाम्रो अनुभव निरासाजनक रह्यो ।’


पाकिस्तानले विश्वकपको सुरुआती ५ मध्ये इंग्ल्यान्डलाई मात्र पराजित गरेको थियो । चिरप्रतिद्वन्द्वी भारतसँग समेत गरी ३ हार र एक खेल वर्षाले रद्द भएको थियो । उनीहरूले त्यसपछि चार खेल जितेर उत्कृष्ट पुनरागमन गरे तर सेमिफाइनल छनोट हुन असफल रहे ।


आर्थरका अनुसार पाकिस्तानले बंगलादेशविरुद्ध ठूलो जित हासिल गर्ने लक्ष्य राखेको थियो । तर स्लो पिचका कारण असम्भव भयो । ‘ठूलो स्कोरबारे हामीबीच छलफल भएको थिएन भनेर म झुटो बोल्न चाहन्न । ४ सय रनबारे नै हामीले छलफल गरेका हौं । तर फखर (जमान) आउट भएर ड्रेसिङ रूममा आएपछि हामीलाई थाहा भयो कि पिच स्लो छ रन बनाउन मुस्किल छ,’ प्रशिक्षक आर्थरले भने ।


उनले वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा ७ विकेटको हार नै आफ्नो टिमका लागि सबैभन्दा ठूलो चोट बनेको स्विकारे । उनले थपे, ‘पछाडि फर्केर हेर्दा वेस्ट इन्डिजविरुद्ध प्रतियोगिताकै पहिले खेलमा हामीले जस्तो हार बेहोर्‍यौं, त्यसबाट पुनरागमन गर्न नै असम्भवजस्तै थियो । रनरेटमा हामी पहिलो खेलबाटै माथि उठ्न सकेनौं, जुन निरासाजनक थियो ।’


आर्थरले सेमिफाइनल पुगेका न्युजिल्यान्ड र इंग्ल्यान्डविरुद्ध आफ्नो टिमको जित विश्वकपकै मुख्य आकर्षण रहेको व्याख्या गरे । उनले भने, ‘यहाँ बसेर सोच्दा एउटा खुसीको कुरा के भने हामीले दुई सेमिफाइनलिस्ट टिमलाई हरायौं । यसको अर्थ हामी एक क्रिकेट टिमको रूपमा उनीहरूभन्दा धेरै पछाडि छैनौं ।’


आर्थरले भारतसँगको हारपछि कडा आलोचना खेपेका कप्तान सरफराज अहमदले पुनरागमनका लागि गरेको प्रयास र सहयोगका कारण प्रशंसा व्यक्त गरे । ‘भारतसँगको हारपछि उनले जस्तो आलोचना खेप्नुपरेको थियो ।

त्यसबाट माथि उठेर उनले जसरी पुनरागमनको नेतृत्व लिए सबै क्षेत्र सरफराजलाई दिन चाहन्छु,’ आर्थरले भने, ‘जसरी उनले आफ्नो रचनात्मकता देखाए, जसरी उनले नेतृत्व लिए र जसरी आफ्नो नैतिकतामा अडिग रहे । मेरो विचारमा उनी ड्रेसिङ रूमका प्रेरणा हुन् र यो सबै श्रेयका हकदार हुन् उनी ।’

प्रकाशित : असार २२, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?