नेदरल्यान्ड्स उपाधि भिडन्तमा
लियोन — महिला विश्वकपको फाइनल नेदरल्यान्ड्स र अमेरिकाबीच हुने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति नेदरल्यान्ड्सले स्विडेनलाई अतिरिक्त समयको खेलमा १–० ले हरायो । ज्याकी ग्रोनेनले निर्णायक गोल गरिन् । पेनाल्टी एरिया बाहिरबाट ९९ औं मिनेटमा ग्रोनेनले गरेको प्रहारमा स्विडेनी गोलरक्षक हेडभिज लिन्डालले बचाउ गर्न सकिनन् ।
ग्रोनेनको यो प्रतियोगितामा पहिलो गोल हो । दुवै टिमले खेलमा खासै राम्रा अवसर सिर्जना गर्न सकेन । अब आइतबार स्टेड डे लियोनमा अमेरिका र युरोपेली च्याम्यिन नेदरल्यान्ड्सबीच फाइनल हुनेछ । यसपल्ट दुई टिमको फाइनलका अर्थ उपाधि भिडन्त दुई महिला प्रशिक्षकबीचको खेल पनि हुनेछ ।
अमेरिकी टिमको प्रशिक्ष्ँक लि एलिस छिन् भने डच टिमको जिम्मा सरिना वेगमनको हातमा छ । नेदरल्यान्ड्सको विश्वकपको फाइनल यात्रा निकै छिटो र नाटकीय रहेको छ । सन् २०१५ मा विश्वकपमा डेब्यु गरेको डच टिमले त्यति बेला अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । सन् २०१७ मा यही टिमले युरोपेली उपाधि जित्न सफल रह्यो ।