कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झिनो आशामा श्रीलंका

एजेन्सी

चेस्टर ली–स्ट्रिट — पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारले श्रीलंकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको थियो । टोलीको यात्रा अझै सकिसकेको भने छैन ।

श्रीलंकाले सोमबार १० टोली सम्मिलित एकदिवसीय विश्वकपको लिग चरणमा आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग खेल्दै छ । सेमिफाइनल दौडबाट यसअघि नै बाहिरिसकेको वेस्ट इन्डिजका लागि गुमाउनु केही छैन ।


अघिल्लो साता इंग्ल्यान्डलाई २० रनले पराजित गरेपछि श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको थियो । तर दक्षिण अफ्रिकासँगको ९ विकेटको पीडादायी हारले उसको सम्भावना निकै कमजोर बनेको छ । सेमिफाइनलको गणितीय सम्भावना कायम राख्नका लागि उसले बाँकी दुवै खेलमा जितेर मात्र पुग्दैन, पाकिस्तान र इंग्ल्यान्डका बाँकी खेलका नतिजामा पनि भर पर्नुपर्छ ।


तीन दिनअघि चेस्टर ली–स्ट्रिटको यही मैदानमा दक्षिण अफ्रिकासँगको हारमा श्रीलंकाको असंयमित ब्याटिङ पुनः दोहोरियो । वेस्ट इन्डिजको बलिङ आक्रमणको सामना गर्नका लागि दिमुथ करुणारत्नेको टोलीले ब्याटिङ प्रदर्शनमा धेरै सुधार गर्नुपर्छ ।


अर्कोतर्फ जेसन होल्डरको नेतृत्वमा रहेको क्यारेवियन टोली विश्वकपको निराशाजनक अभियानको अन्त्यतिर आइपुगेको छ । उनीहरूले पछिल्लो ७ मध्ये १ खेलमा मात्र जित हासिल गरेका छन् । पाकिस्तानविरुद्धको पहिलो खेलमै ७ विकेटको जितपछि वेस्ट इन्डिजको पतनको दिन सुरु भएको हो ।


जो अन्तिम स्थानको अफगानिस्तानभन्दा एक स्थान माथि छ र सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । र पनि वेस्ट इन्डिज टोली बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीनै क्षेत्रमा उत्कृष्ट छ । मात्र उनीहरूले निर्णायक क्षणको सदुपयोग गर्न सकेनन् ।


प्लेयर्स टु वाच


लासिथ मालिंगा (श्रीलंका)

श्रीलंकाली भेट्रान बलर लासिथ मालिंगाले विश्वकपमा अहिलेसम्म १० विकेट लिएका छन् । सुरुआतमा अपेक्षित प्रदर्शन गर्न नसके पनि पछिल्ला २ खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध ४–४ विकेट लिएर उनी आफ्नो लयमा फर्किएका छन् । विश्वकप इतिहासमै २ पल्ट ह्याट्रिक विकेट लिने एकमात्र बलर मालिंगा वेस्ट इन्डिजका शीर्ष क्रमका लागि खतरा हुन सक्छन् ।




क्रिस गेल (वेस्ट इन्डिज)

करिअरको अन्त्यतिर रहेका क्रिस गेलले आफ्नो पाँचौं तथा अन्तिम विश्वकप स्मरणीय बनाउन सकेनन् । सेमिफाइनल दौडबाट टिम बाहिरिए पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन सुधार गर्ने अवसर पाएका छन् । जारी विश्वकपका ७ खेलमा न्युजिल्यान्डविरुद्ध मात्र उल्लेखनीय इनिङ्स खेलेका गेलले दबाबमुक्त खेलमा श्रीलंकाविरुद्ध आफ्नो विस्फोटक छवि देखाउन सक्नेछन् ।

प्रकाशित : असार १६, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?