श्रीलंकालाई धक्का

एएफपी

चेस्टर–ली–स्ट्रिट — सेमिफाइनलमा पुग्ने सम्भावना सकिसकेको दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा आफ्नो दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । यो नतिजाले श्रीलंकाको सेमिफाइनल दौडमा भने गम्भीर धक्का लागेको छ । सेमिफाइनल आशा कायमै राख्न श्रीलंकाले बाँकी दुवै खेलमा स्पष्ट जित निकाल्नुपर्नेछ । 

चेस्टर–ली–स्ट्रिटमा भएको खेलमा २ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमै पूरा गर्‍यो । श्रीलंकाली बलिङ आक्रमण असफल भएको खेलमा ओपनर हसिम अमला र कप्तान फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि १ सय ७५ रनको अविजित साझेदारी गरेपछि दक्षिण अफ्रिकाको सहज जित निस्कियो ।

पाँचौं ओभरमै क्विन्टन डी ककलाई १५रनको व्यक्तिगत स्कोरमा गुमाएको दक्षिणअफ्रिकाका लागि अमलाले १ सय ५ बलमा ५ चौकासहित ८० नटआउट रन प्रहार गरे । १ सय ३ बलमा १० चौका र १ छक्का प्रहार गरेका कप्तान प्लेसिसले नटआउट ९६ रन बटुले । उनले थिसरा परेराको बलमा चौका प्रहार गर्दै ९ विकेटको जित दिलाएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले इनिङ्सको ३ बल बाँकी छँदा अलआउट हुँदै २ सय ३ रनको झिनो योगफल खडा गरेको थियो । टिममा फिर्ता बोलाइएका ड्वायने प्रिटोरियसले १० ओभरमा ३–२५ को प्रदर्शन गरेपछि श्रीलंकाले आफ्नो इनिङ्समा लगातार विकेट गुमाइरह्यो । दक्षिण अफ्रिकाका क्रिस मोरिसले पनि ३ विकेट झारे ।

‘विकेट निकै कठिन थियो,’ प्रिटोरियसले भने, ‘हामीले अनुशासित रूपमा योजनाअनुसार प्रदर्शन गर्‍यौं । मेरो विचारमा यो खेलमा सबैले आ–आफ्नो स्थानबाट शतप्रतिशत प्रदर्शन गरे । सायद यो इनिङ्स हाम्रा लागि प्रतियोगिताकै उत्कृष्ट रह्यो ।’

खेलको पहिलो बलमै श्रीलंकाली कप्तान दिमुथ करुणारत्नेलाई कागिसो रावाडाले डु प्लेसिसको हातबाट स्लिप क्षेत्रमा क्याचआउट गराएपछि श्रीलंकाको विकेट पतन सुरु भएको हो । कुशल परेरा र अभिष्का फर्नान्डेजले १० ओभरमा ६७–१ को प्रदर्शनसहित इनिङ्स सम्हाले । फर्नान्डोले गलत शट खेल्दा ३० रनको स्कोरमा आउट भए ।

लगत्तै परेरा पनि प्रिटोरियसको बलमा ३० रन बनाएर बोल्ड भएपछि श्रीलंका १२ औं ओभरमै ७२–३ को अवस्थामा पुग्यो । क्रिस मोरिसले एन्जेलो म्याथ्युजलाई ११ र कुशल मेन्डिसलाई २३ रनको स्कोरमा आउट गरे । करुणारत्नेबाहेक श्रीलंकाका सबै ब्याट्सम्यानले दोहोरो अंकमा रन त बटुले तर कसैले पनि ठूलो इनिङ्स खेल्न सकेनन् ।

स्कोर कार्ड
दक्षिण अफ्रिका
९ विकेटले विजयी

श्रीलंका
४९.३ ओभर २०३
कुशल परेरा–३०
अभिष्का फर्नान्डो–३०
धनन्जय डी सिल्भा–२४

क्रिस मोरिस ३/४६
ड्वायने प्रिटोरियस ३/२५

दक्षिण अफ्रिका
३७.२ ओभर–२०६/१
हसिम अमला–८०८
फाफ डु प्लेसिस–९६८

लासिथ मालिङ्गा १/४७

प्रकाशित : असार १४, २०७६ ०७:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बेरिस्टो–भोन जुहारी

एएफपी

लन्डन — पूर्व कप्तान माइकल भोनले मानिसहरू इंग्ल्यान्डको विश्वकप असफलताको क्षण कुरिरहेको भन्ने जोनी बेरिस्टोको भनाइ हदैसम्मको ‘नकारात्मक’ र ‘दयनीय’ भएको प्रतिक्रिया दिएका छन् । 

घरेलु टोलीले श्रीलंका र अस्ट्रेलियासँग लगातार पराजय बेहोरेपछि भोन र अर्का पूर्व कप्तान केभिन पिटरसनको आलोचनाको जवाफ बेरिस्टोले दिएका थिए । पिटरसनले वर्तमान कप्तान इयान मोर्गन अस्ट्रेलियासँग ६४ रनको हारपछि निकै डराएको बताएका थिए । उनले जारी विश्वकप इंग्ल्यान्डका लागि सबैभन्दा खराब संस्करण हुनसक्ने चेतावनीको भोनको अडियो क्लिप बेरिस्टोलाई सुनाएका थिए ।

मोर्गन नेतृत्वको टोलीले सेमिफाइनलमा पुग्नका लागि बाँकी खेल निकै बलिया र प्रतियोगितामा उच्च लयमा रहेका न्युजिल्यान्ड र भारतसँग खेल्न बाँकी छ ।

‘मानिसहरू हाम्रो असफलता कुरिरहेका छन्,’ बेरिस्टोले शुक्रबार भने, ‘उनीहरू हामीले जितेको हेर्नै चाहँदैनन्, धेरै हदसम्म ठूलो नोक्सानीको प्रतीक्षा गरिरहेका छन् ।’ तर तत्कालै भोनले प्रतिक्रिया दिँदै इंग्लिस टिम निकै रक्षात्मक बनेको धारणा राखे । ‘बेरिस्टो कसरी गलत हुन सक्छन्,’ भोनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘यसअघि कहिल्यै पनि इंग्लिस टिमले यस्तो समर्थन पाएको थिएन तर जोनीलाई उनी आफैं र उनको टिमले निराश बनाइरहेका छन् ।’

‘दुई खेल जित्यौं भने सेमिफाइनलमा हुन्छौं । यस्तो नकारात्मक र दयनीय मानसिक अवस्थाबाट चाहिँ म चिन्तित छु । तीन खेल हार्नु मिडियाको कमजोरी होइन,’ भोनले थपे ।

इंग्ल्यान्डले अहिलेसम्म विश्वकप जितेको छैन । प्रमुख दाबेदारको रूपमा यस विश्वकपमा प्रवेश गरेको इंग्ल्यान्डको बलियो ब्याटिङक्रम पछिल्लो दुई खेलमा नराम्ररी ध्वस्त भएको थियो । आयोजक टोली अंकतालिकामा चौथो स्थानमा छ ।सेमिफाइनल दौडमा इंग्ल्यान्डसँगै पाकिस्तान र बंगलादेशले पनि दबाब बढाइरहेका छन् ।

प्रकाशित : असार १४, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×