१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेरिस्टो–भोन जुहारी

एएफपी

लन्डन — पूर्व कप्तान माइकल भोनले मानिसहरू इंग्ल्यान्डको विश्वकप असफलताको क्षण कुरिरहेको भन्ने जोनी बेरिस्टोको भनाइ हदैसम्मको ‘नकारात्मक’ र ‘दयनीय’ भएको प्रतिक्रिया दिएका छन् । 

घरेलु टोलीले श्रीलंका र अस्ट्रेलियासँग लगातार पराजय बेहोरेपछि भोन र अर्का पूर्व कप्तान केभिन पिटरसनको आलोचनाको जवाफ बेरिस्टोले दिएका थिए । पिटरसनले वर्तमान कप्तान इयान मोर्गन अस्ट्रेलियासँग ६४ रनको हारपछि निकै डराएको बताएका थिए । उनले जारी विश्वकप इंग्ल्यान्डका लागि सबैभन्दा खराब संस्करण हुनसक्ने चेतावनीको भोनको अडियो क्लिप बेरिस्टोलाई सुनाएका थिए ।

मोर्गन नेतृत्वको टोलीले सेमिफाइनलमा पुग्नका लागि बाँकी खेल निकै बलिया र प्रतियोगितामा उच्च लयमा रहेका न्युजिल्यान्ड र भारतसँग खेल्न बाँकी छ ।

‘मानिसहरू हाम्रो असफलता कुरिरहेका छन्,’ बेरिस्टोले शुक्रबार भने, ‘उनीहरू हामीले जितेको हेर्नै चाहँदैनन्, धेरै हदसम्म ठूलो नोक्सानीको प्रतीक्षा गरिरहेका छन् ।’ तर तत्कालै भोनले प्रतिक्रिया दिँदै इंग्लिस टिम निकै रक्षात्मक बनेको धारणा राखे । ‘बेरिस्टो कसरी गलत हुन सक्छन्,’ भोनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘यसअघि कहिल्यै पनि इंग्लिस टिमले यस्तो समर्थन पाएको थिएन तर जोनीलाई उनी आफैं र उनको टिमले निराश बनाइरहेका छन् ।’

‘दुई खेल जित्यौं भने सेमिफाइनलमा हुन्छौं । यस्तो नकारात्मक र दयनीय मानसिक अवस्थाबाट चाहिँ म चिन्तित छु । तीन खेल हार्नु मिडियाको कमजोरी होइन,’ भोनले थपे ।

इंग्ल्यान्डले अहिलेसम्म विश्वकप जितेको छैन । प्रमुख दाबेदारको रूपमा यस विश्वकपमा प्रवेश गरेको इंग्ल्यान्डको बलियो ब्याटिङक्रम पछिल्लो दुई खेलमा नराम्ररी ध्वस्त भएको थियो । आयोजक टोली अंकतालिकामा चौथो स्थानमा छ । सेमिफाइनल दौडमा इंग्ल्यान्डसँगै पाकिस्तान र बंगलादेशले पनि दबाब बढाइरहेका छन् ।

प्रकाशित : असार १४, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?