कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्तब्ध पार्ने भारतको तयारी

एएफपी

म्यानचेस्टर — प्रारम्भिक ब्याट्सम्यान लोकेल राहुलले आत्मविश्वासी भारतले विश्वकपमा इंग्ल्यान्डको चुनौती समाप्त पार्न स्तब्धपूर्ण नतिजा निकाल्ने दाबी गरेका छन् । दुई टिमबीचको खेल आइतबार हुनेछ । 

स्तब्ध पार्ने भारतको तयारी

कप्तान विराट कोहलीको ठोस ७२ रन मदतमा बिहीबार भारतले वेस्ट इन्डिजलाई १ सय २५ रनले हराएको थियो । अहिलेसम्म जारी विश्वकपमा अपराजित एकमात्र टिम भारत यस जितपछि सेमिफाइनल पुग्ने लगभग निश्चित जस्तै भइसकेको छ ।


एकदिवसीय वरीयतामा पनि इंग्ल्यान्डलाई उछिनेको भारतको अबको खेलले सेमिफाइनल समीकरण तयार पार्न मदत गर्नेछ । इंग्ल्यान्डको सेमिफाइनल प्रवेशको सम्भावना संकटमा छ । टोलीले आफ्ना अन्तिम दुई खेलमा निश्चित जित निकाल्नुपर्नेछ ।


राहुल के मान्छन् भने भारतले इंग्ल्यान्डलाई सजिलो स्थितिमा रहन दिने छैन । ‘अहिले हामीले जसरी खेलिरहेका छौं, त्यसलाई कायम राख्ने हो भने इंग्ल्यान्डलाई हराउन गाह्रो हुने छैन,’ राहुलले भने । उनले ओल्ड ट्राफोर्डमा प्राप्त पछिल्लो जितमा ४८ रन बनाए । यसक्रममा कप्तान कोहलीसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।


‘व्यक्तिगत र टिमको रूपमा हामी सबै सही योजना र त्यसलाई ठीक ढंगले कार्यान्वयन गर्ने बाटोमा छौं । इंग्ल्यान्डविरुद्धको खेल निकै महत्त्वपूर्ण मोडमा जुरेको छ । त्यस खेललाई लिएर हामी आत्मविश्वासी छौं । पछिल्लो समयको उत्कृष्ट लय बर्मिङ्घममा पनि देखिने विश्वास छ,’ राहुलले थपे ।


उनले फरक परिस्थितिमा त्यसैअनुसार खेल्नसक्ने भारतीय टिमको विशेषता नै सफलताको आधार रहेको दाबी गरे । ‘विशेषतः हाम्रो ब्याटिङक्रम निकै लामो र विश्वासिलो देखिएको छ,’ उनले भने, ‘इंग्ल्यान्डविरुद्धको खेलमा मौसम र परिस्थिति फरक हुनसक्छ, त्यसैले हामी त्यसैअनुसार खेल्न तयार छौं । खासमा हाम्रो टिम फरक परिस्थितिमा आफूलाई अनुकूल बनाउन सक्षम छ ।’ उपाधि दाबेदार मानिएको भारतले त्यो छवि कायम राख्दै एक वासआउट खेलबाहेक बाँकी सबै ५ खेल जितेको छ ।

प्रकाशित : असार १४, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?