१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भविष्यप्रति आशावादी रोच

एएफपी

म्यानचेस्टर — तीव्र गतिका बलर केमर रोचले वेस्ट इन्डिज बिहीबार भारतसँग पराजित हुँदै विश्वकपबाट बाहिरिए पनि टिमको भविष्यलाई लिएर आशावादी रहेको बताएका छन् । 

भविष्यप्रति आशावादी रोच

जेसन होल्डरको नेतृत्वमा रहेको वेस्ट इन्डिजले लिगका ७ खेलमध्ये पाँचौं हार बेहोरेको छ । बाँकी दुई खेलमध्ये एक वर्षाले रद्द भएको थियो भने अर्कोमा पाकिस्तानलाई हराएको हो । भारतसँगको हारपछि वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने झिनो सम्भावनामा पूर्णविराम लागेको थियो ।


वेस्ट इन्डिजले अझै लिग चरणमा दुई खेल खेल्न बाँकी रहे पनि टिम त्यस्तो स्थितिमा पुगेको हो । सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिज त्यो समय विश्व क्रिकेटमा अजेय टिमजस्तै थियो । पछिल्लो समय वेस्ट इन्डिज क्रिकेटको स्तरमा ओरालो लागेको छ । बलर रोच राम्रो दिन फर्कने विश्वासमा छन् । ‘मलाई अझै पनि लाग्छ, हाम्रो भविष्य राम्रो छ । हामीसँग अहिले पनि केही विश्वस्तरीय खेलाडी छन्,’ उनले भने ।


उनले थपे, ‘सिमरन हेट्मेर र ओसन थोमस निकै प्रतिभाशाली खेलाडी हुन् । उनीहरूले राम्रो सल्लाह र निर्देशन पाउने हो भने दुवैले वेस्ट इन्डिज क्रिकेटका लागि धेरै गर्नेछन् । म सधैं वेस्ट इन्डिज क्रिकेटको प्रशंसक र समर्थक हुँ । क्यारेबियनतिर पनि अझै केही राम्रा खेलाडी छन् र उनीहरूले राम्रो गरिरहेका छन् । भविष्यमा यिनै खेलाडीले वेस्ट इन्डिज क्रिकेटको भविष्यका लागि राम्रो गर्नेछन् ।’


प्रतियोगितामा हेट्मेर र साइ होप दुवैले २–२ अर्धशतक बनाइसकेका छन् । त्यस्तै तीव्र गतिका बलर थोमसले ७ विकेट लिइसकेका छन् । रोचले भारतजस्तो माथिल्लो स्तरको टिमसँग खेल्दा वेस्ट इन्डिजले प्राप्त गर्ने भनेकै शिक्षा रहेको बताए । उनले भने, ‘भारत टिमजस्तो टिमविरुद्ध खेल्नु भनेको आफू कहाँ र कुन स्थितिमा छ भनेर बुझ्नु पनि हो ।’


सन् २००९ मा डेब्यू गरेयता ८८ एकदिवसीयमा १ सय २० विकेट लिइसकेका भेट्रान रोचले थपे, ‘प्रतियोगिताका बाँकी खेलमा हाम्रो उद्देश्य सकारात्मक रहनु हुनेछ ।’ सोमबार चेल्टर–ली–स्ट्रिटमा हुने खेलमा वेस्ट इन्डिजले श्रीलंकाको सामना गर्नेछ ।

प्रकाशित : असार १४, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?