कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारत सेमिफाइनल नजिक

एएफपी

म्यानचेस्टर — कप्तान विराट कोहलीको संघर्षमय अर्धशतक र बलरहरूको सानदार प्रदर्शनमा भारतले बिहीबार वेस्ट इन्डिजमाथि १ सय २५ रनको सहज जित हात पारेको छ । यस नतिजापछि भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने निश्चित जस्तै भएको छ ।

भारत सेमिफाइनल नजिक

कोहलीको सर्वाधिक ७२ रनमा टस जितेर ब्याटिङ रोजेको भारतले म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा ७ विकेट गुमाई २ सय ६८ रन बनायो । मोहम्मद सामीको नेतृत्वमा रहेको भारतीय बलरले उत्कृष्ट प्रर्दशन गरेपछि वेस्ट इन्डिज ३४.२ ओभरमा १ सय ४३ रनमै अलआउट भयो । यस नतिजापछि वेस्ट इन्डिज भने सेमिफाइनल दौडबाट बाहिरिएको छ ।


इंग्ल्यान्डलाई उछिन्दै एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा शीर्षस्थानमा आएको भारत प्रतियोगिताको एकमात्र अपराजित टोली हो । भारतसँग ११ अंक छ र टोली शीर्षस्थानको अस्ट्रेलियाभन्दा १ अंकले पछाडि छ । भारतले अझै ३ खेल खेल्न बाँकी छ । त्यसमा एकमा जित हात पारे पनि सेमिफाइनल पुग्ने औपचारिकता पूरा गर्नेछ । अफगानिस्तान र दक्षिण अफ्रिकापछि प्रतियोगिताबाट बाहिरिने वेस्ट इन्डिज अर्को टोली बन्यो ।


‘हाम्रो कुनै गुनासो छैन, हामी भर्खरै विश्वको नम्बर एक टोली बनेका छौं र त्यहीअनुरुप खेल्दा हामी खुसी छौं,’ म्यान अफ द म्याचमा पनि चुनिएका कोहलीले भने, ‘पछिल्ला केही खेलमा ब्याटिङमा हामीले चाहेजस्तो भएन तर हामीले जितलाई निरन्तरता दिइरहेका छौं ।’ अघिल्लो खेलमा ह्याट्रिक विकेट लिएका सामीले बिहीबार पनि १६ रन खर्चेर ४ विकेट लिए ।


उनले सुरुआतमा वेस्ट इन्डिजका प्रमुख खेलाडी ओपनर क्रिस गेललाई आउट गरे । जसप्रित बुमराह र युजभेन्द्र चाहलले २–२ विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका ओपनर सुनिल एम्ब्रिसले ३१ रन बनाए । निकोलस पूरन २८ र सिमरोन हेटमेयर १८ रनमा आउट भए ।


कोहली आफ्नो इनिङ्सका क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २० हजार रन पूरा गर्ने खेलाडी बनेका थिए । उनले यो उपलब्धि ४ सय १७ इनिङ्समा पाएका हुन् । भारतकै सचिन तेन्दुलकर र वेस्ट इन्डिजका ब्रायन लाराले यो सफलता ४ सय ५३ इनिङ्समा पूरा गरेका थिए । कोहलीले ८२ बलको इनिङ्समा उनले ८ चौका प्रहार गरे ।


महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्येले छैटौं विकेटमा ७० रन जोड्दै भारतलाई बलियो स्थितितर्फ डोर्‍याए । हार्दिकले ३८ बलमा ४६ र धोनीले अविजित ५६ रन बनाए । अन्तिम बलमा छक्का प्रहार गरेका धोनीले ६२ बल खेल्दै कुल ३ चौका र २ छक्का प्रहार गरे । वेस्ट इन्डिजका केमार रोचले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।


स्कोर कार्ड

भारत

१२५ रनले विजयी


भारत

५० ओभर २६८/७

विराट कोहली–७२

महेन्द्रसिंह धोनी–५६८

लोकेश राहुल–४८

हार्दिक पाण्डेय–४६


केमार रोच ३/३६



वेस्ट इन्डिज

३४.२ ओभर–१४३/१०

सुनिल एम्ब्रिस–३१

लिकोलस पुरन–२८


मोहम्मद सामी ४/१६

जसप्रित बुमराह २/९

युजभेन्द्र चाहल २/३९

प्रकाशित : असार १३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?