२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सकिबको सपना

एएफपी

साउथह्याम्पटन — विश्वकपमा राम्रो खेलिरहेको बंगलादेशका सकिब अल हसनले सेमिफाइनल प्रवेश निश्चित गर्न भारतको सामना गर्दा त्यसमा प्रख्यात जित निकाल्ने सपना बुनेका छन् ।

बंगलादेशले सोमबार अफगानिस्तानमाथि ६२ रनको जित निकाल्दै १० टिमसम्मिलित प्रतियोगिता अंकतालिकाको पाँचौं स्थानमा उक्लेको छ । प्रतियोगिताको लिग चरण अन्त्यतिर पुग्दा सेमिफाइनल पुग्न टिमबीचको होड चर्को रहेको छ ।


मासरफी मोर्टजाको बंगलादेशले लिग चरणको आफ्नो अन्तिम दुई खेलमा भारत र पाकिस्तानको सामना गर्नेछ । सन् २००७ को विश्वकपमा बंगलादेशले भारतलाई हराएको थियो । यसपल्ट जुलाई २ मा हुने खेलमा पनि आफूहरूले विराट कोहलीको टिममाथि विजयी रहनेमा आत्मविश्वासी छन् सकिब । ‘भारत शीर्षस्थानमा टिम हो र यो उपाधिको अभियानमा पनि छ । यही टिमको सामना गर्दा सजिलो पनि हुन्न । तर हामीले राम्रो गर्ने प्रयास गर्नेछौं ।’


मिडियासँगको कुराकानीमा आत्मविश्वासी देखिएका उनले भने, ‘अनभुवले यस्तो ठूलो खेलमा काम गर्छ । भारतको सामना गर्दा हामीले अहिलेसम्मकै उच्च खेल प्रदर्शन गर्नुपर्ने निश्चित छ । भारतीय टिममा विश्वस्तरीय खेलाडी छन् । कसैले पनि एक्लै खेल आफ्नो पक्षमा मोड्न सक्षम छन् । म फेरि भन्छु, भारतलाई पराजित गर्न हामीले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । मलाई के पनि विश्वास छ भने हाम्रो टिम यसका लागि सक्षम छ ।’


बंगलादेशले अफगानिस्तानलाई पराजित गर्दा सकिबले ५१ रन बनाएका थिए । त्यसकै मदतले टिमले ७ विकेट गुमाई २ सय ६२ रन बनाएको थियो । उनी यसपल्टको विश्वकपमा ४ सय ७६ रन बनाएर सर्वाधिक सफल ब्याट्सम्यान सूचीमा छन् । उनको बलिङले धारिलो आक्रमण पनि बुनेको छ । ३२ वर्षीय अलराउन्डरले अफगानविरुद्ध १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका थिए ।


सन् २०११ मा आयरल्यान्डविरुद्ध ५० रन र ५ विकेटको प्रदर्शन गरेका भारतका युवराज सिंहपछि यो उपलब्धि दोहोर्‍याउने सकिब एकमात्र खेलाडी हुन् । सकिबले आफ्नो प्रदर्शनमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म वास्तवमै खुसी छु । मेरो प्रदर्शनले टिममा सकारात्मक प्रभाव पर्नु पर्छ ।

प्रकाशित : असार ११, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?