फेरि चुक्यो दक्षिण अफ्रिका

एएफपी

बर्मिङघम — दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिसलाई एउटा अर्को विश्वकप संस्करणको टिमको खराब प्रदर्शनमा निराशा हुनेछ र संयोगले त्यो निराशा त्यही मैदानमा बेहोर्नुपरेको छ, जहाँ २० वर्षअगाडि दक्षिण अफ्रिकाले आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण क्षण आत्मसात् गरेको थियो ।

दक्षिण अफ्रिका बुधबारको खेलमा न्युजिल्यान्डसँग ४ विकेटले पराजित भएपछि उसको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।


तर दक्षिण अफ्रिकीलाई एउटै सान्त्वना सुख के पनि हुनेछ भने एजबास्टनमा पछिल्लोपल्ट बेहोरेको हारको पीडा त्यति धेरै थिएन, जुन त्यही वारविकसायरको मैदानमा दुई दशक अगाडि हारको छ । अस्ट्रेलियाविरुद्धको त्यस खेलमा दक्षिण अफ्रिका अकल्पनीय रनआउटको सिकार हुँदै रनरेटका आधारमा प्रतियोगिताको फाइनल प्रवेश गर्नबाट चुकेको थियो । यसपल्टको विश्वकपमा दक्षिण अफ्रिकाको सम्भावना अझै कायम छ, तर यसका लागि उसलाई प्रतियोगिताकै नाटकीय नतिजा आवश्यक हुनेछ ।


टस हारेर ब्याटिङ निम्तो पाएको दक्षिण अफ्रिकाले कठिन पिचमा संघर्ष गर्दै ६ विकेटमा २ सय ४१ रन बनाएको थियो । यही स्कोर एक समय जितका लागि पर्याप्त देखिएको थियो । न्युजिल्यान्डको जितमा नायक रहे, कप्तान केन विलियम्सन र उनले अविजित रहेर १ सय ६ रन बनाए । न्युजिल्यान्ड जितसम्म पुग्दा तीन बलको खेल मात्र बाँकी थियो । अब एबी डी भिलियर्सका प्रशंसकले उनलाई टिममा नराख्नु अहिलेको खराब प्रदर्शनको कारण भन्न सक्नेछन् ।


डी भिलियर्स संन्यासको घोषणा तोडेर टिममा फर्कन चाहन्थे तर उनको यो मनसाय निकै ढिलो आएको थियो । जति बेला आयो, त्यति बेला दक्षिण अफ्रिकी छनोटकर्ता त्यसलाई स्विकार्न सक्ने स्थितिमै थिएनन् । यता पछिल्लो खेललाई लिएर डु प्लेसिसले भने, ‘आजको खेलको एकमात्र अन्तर विलियम्सन रहे । उनी एक्लैले आजको खेलका नतिजा तय गरे । जितका लागि टिममा त्यस्ता खेलाडी आवश्यक पर्छ र हामीसँग आज त्यस्तो खेलाडी पनि रहेन ।’


विश्वकप क्रिकेटमा निकै पीडादायी इतिहास बोकेको दक्षिण अफ्रिकाका लागि पछिल्लो हार एक अर्को ‘चोकर’ छविको हुने हो वा होइन त्यो भने भविष्यले तय गर्नेछ । ‘चोकर’ त्यस्तालाई प्रयोग गरिन्छ, जसमा जितको संघारमा रहे पनि टिम पराजित रहन्छ । बुधबारको खेल भने धेरै हदसम्म एकै खेलाडीमा विलियम्सनमा टिकेको थियो । उनले फेरि एकपल्ट साबित गरे, आफू किन पछिल्लो पुस्ताका क्रिकेट खेलाडीमध्ये सर्वाधिक उत्कृष्ट हो भनेर ।


दक्षिण अफ्रिकाको विश्वकप अभियान भने प्रतियोगिता उद्घाटन हुन अगाडि नै सुरु भइसकेको थियो । टिमले चोटका कारण अनुभवी बलर डेल स्टेयनलाई गुमाउने तय थियो । दक्षिण अफ्रिकाले जोखिम मोलेर उनलाई टिममा राख्यो । उनले एक बल पनि फ्याँक्न सकेनन् र बाहिरिए । त्यसमाथि सुरुका दुई खेल गुमाएपछि दक्षिण अफ्रिका चर्को दबाबमा आएको थियो र त्यसयता उनले आफूलाई सम्हाल्न नै सकेन । बंगलादेशविरुद्ध २१ रनको हारले दक्षिण अफ्रिकी टिमलाई छियाछिया नै पार्‍यो ।


विलियम्सन ७६ रनको स्थितिमा खेलिरहेको बेला दक्षिण अफ्रिकाले रिभ्यु लिन नसक्नु पनि हारको कारण रह्यो । इमरान ताहिरको बलमा विलियम्सन ब्याटमा ‘एज’ लागेको थियो र त्यसमा विकेटकिपर क्विन्टन डी ककले क्याच पनि लिए । तर रिभ्यु मागेनन् । ‘म त्यस बेला लङअनमा थिएँ, यसबारे नजिकमा रहेर अपिल गर्न सक्ने डी कक नै थिए,’ प्लेसिसले भने, ‘तर मलाई लाग्दैन, त्यसै कारणले खेलमा हामी पराजित रह्यौं ।’

प्रकाशित : असार ६, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?