'सेमिफाइनल यात्रा कठिन'

एएफपी

टाउन्टन — वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले सोमबार बंगलादेशसँगको ७ विकेट हारसँगै आफ्नो टोलीका लागि विश्वकप सेमिफाइनल यात्रा अत्यत्नै कठिन भएको प्रतिक्रिया दिएका छन् । विश्वकप इतिहासमै ठूलो लक्ष्य पछ्याएर बंगलादेशले जित हासिल गरेको थियो । 

वेस्ट इन्डिजले आफ्नो ५ मध्ये ३ खेलमा पराजय बेहोरेको छ । १० टोलीसम्मिलित प्रतियोगिताको राउन्ड रोविन लिग चरणका ४ खेल बाँकी रहँदा सेमिफाइनल प्रवेशको सम्भावना निकै कमजोर रहेको होल्डरको भनाइ छ । ‘यो समय हाम्रा लागि निकै कठिन छ तर असम्भव छैन । हामीले अब हरेक खेल फाइनल सोचेर खेल्नुपर्छ,’ होल्डरले भने, ‘हामीले बाँकी सबै खेललाई एउटा अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।’

वेस्ट इन्डिजको अबको दुई खेल न्युजिल्यान्ड र भारतसँग छ । दुवै उत्कृष्ट लयमा छन् । प्रतियोगितामा रहिराख्न यो दुवै खेलमा वेस्ट इन्डिज विजयी हुनु अनिवार्य छ । ‘यदि हामी सेमिफाइनलमा पुग्न चाहन्छौं भने हामीले सर्वश्रेष्ठ टिमलाई हराउनुपर्छ,’ होल्डरले भने, ‘हामी आफैं पछि हटिसकेका छौं र बलिङमा हामीले लय भेट्टाउनु आवश्यक छ ।’

‘हामीले ब्याटिङमा पनि अझै धेरै रन बनाउनुपर्छ, किनभने हाम्रो टिमबाट अहिलेसम्म कसैले पनि शतक प्रहार गरेका छैनन्,’ कप्तान होल्डरले भने, ‘मेरो मिचारमा पिचको अवस्था हेरेर हामीले ३ सय ६५ देखि ३ सय ७५ सम्म स्कोर बनाउन सक्थ्यौं तर ४०/५० रन कम बनायौं ।’

प्रकाशित : असार ४, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सकिबको उत्कृष्ट इनिङ्स

एएफपी

टाउन्टन — बंगलादेशका अलराउन्डर सकिब अल हसनले वेस्ट इन्डिजविरुद्ध अविजित १ सय २४ रनको विजयी इनिङ्सलाई आफ्नो करिअरकै उत्कृष्ट क्षणको रूपमा परिभाषित गरेका छन् । सकिबको जादुयी प्रदर्शनका कारण बंगलादेशले विश्वकप इतिहासमै दोस्रो ठूलो रन पछ्याएर जित हासिल गरेको थियो । 

सकिबले ९९ बलमा १ सय २४ रनको अविजित इनिङ्स खेल्ने क्रममा लिट्टोन दाससँग सानदार साझेदारी गरे । पहिलो विश्वकप खेलिरहेका दासले पनि ६९ बलमा ९४ रन प्रहार गरे । यी दुईले चौथो विकेटमा गरेको १ सय ८९ रनको नटआउट साझेदारी पनि विश्वकपमा दोस्रो ठूलो हो । सकिबका लागि यो अविस्मरणीय दिन थियो, किनभने उनको उत्कृष्ट प्रदर्शनकै कारण टिमले सानदार जित पाएको थियो ।

‘निश्चित रूपमा यो मेरो करिअरकै उत्कृष्ट प्रदर्शन हो, किनभने जुन तरिकाले हामीले जवाफी ब्याटिङ गरी जित हासिल गर्‍यौं । जसरी मैले इनिङ्स अघि बढाएँ, त्यहाँ हतार थिएन । राम्रो बलमा शट खेल्नुपर्ने आवश्यकता नै परेन,’ सकिबले भने, ‘मलाई धैर्य राख्नु थियो । आफ्ना लागि खराब बल छाड्न मलाई पर्याप्त समय थियो । मैले यस्ता धेरै उत्कृष्ट प्रदर्शन गरेको छु । तर ठूलो स्कोरको जवाफी ब्याटिङमा यो मेरो करिअरकै उत्कृष्ट इनिङ्स रह्यो ।’

सन् २०११ को विश्वकपमा आयरल्यान्डले इंग्ल्यान्डले दिएको ३ सय २९ रनको लक्ष्य पूरा गरेको थियो । विश्वकपमा त्यो नै सबैभन्दा ठूलो रन चेज हो । वेस्ट इन्डिजले खडा गरेको ३२१–८ को योगफल पछ्याउने क्रममा आफूले कुनै पनि समयमा दबाब महसुस नगरेको सकिबले बताएका छन् । अन्तिममा उनले दाससँग मिलेर ८.३ ओभरअगावै लक्ष्य पूरा गरे ।

‘पहिलो इनिङ्सको समाप्तिपछि ड्रेसिङ रूममा कसैले पनि सोचेनन्, यो लक्ष्य कठिन थियो । सबै सहज थिए र रमाइलो गरिरहेका थिए,’ सकिबले सुनाए, ‘ड्रेसिङ रूमबाटै हामीले पर्याप्त आत्मविश्वासलिएका थियौं कि लक्ष्य पूरा गर्न सक्छौं । हाम्रा ओपनरहरूले जसरी ब्याटिङ सुरु गरे ड्रेसिङ रूममा कुरिरहेका ब्याट्सम्यानहरूमा सहजता र उर्जा थपियो ।’

इंग्ल्यान्डविरुद्ध पनि १ सय २१ रन बनाएका सकिबले जारी विश्वकपमा दोस्रो शतक बनाएका हुन् । वेस्ट इन्डिजविरुद्ध खेलेपछि उनी एकदिवसीय क्रिकेटमा ६ हजारभन्दा धेरै रन बनाउने दोस्रो बंगलादेशी क्रिकेटर बनेका छन् । उनकै नायकी प्रदर्शनले बंगलादेश विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै बनेको छ । सकिबले पनि त्यो स्वर्णिम पलको आशा गरेका छन् ।

प्रकाशित : असार ४, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्