२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

इंग्ल्यान्ड भर्सेस अफगानिस्तान

एजेन्सी

म्यान्चेस्टर — पछिल्लो २ खेलमा सबै क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोली इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा मंगलबार अंकतालिकाको अन्तिममा रहेको अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

इंग्ल्यान्ड भर्सेस अफगानिस्तान

इंग्ल्यान्डले आफ्नो पछिल्लो २ खेलमा क्रमशः १ सय ६ रन र ८ विकेटको अन्तरमा जित हासिल गरेको थियो । सेमिफाइनलमा स्थान बनाउने मुख्य दाबेदारका रूपमा उसलाई हेरिएको छ ।


करिअरकै उच्च लयमा रहेका ओपननिङ ब्याट्सम्यान ज्यासन रोय ह्याम्स्ट्रिङको चोटका कारण २ खेल गुमाउने निश्चित भएको छ भने ढाडको दुखाइ खेपिरहेका कप्तान इयोन मोर्गनले पनि अफगानिस्तानविरुद्ध खेल्ने निश्चित भइसकेको छैन । यी दुवै वेस्ट इन्डिजविरुद्धको पछिल्लो खेलको बीचैमा मैदान छाडेका थिए ।


रोयको अनुपस्थितिमा टेस्ट कप्तान जोय रुटले इंग्ल्यान्डको ओपनिङ गरेका थिए र जारी विश्वकपमा आफ्नो दोस्रो शतक प्रहार गरेका थिए । यी दायाँ हाते ब्याट्सम्यान अफगानिस्तानविरुद्धको खेलमा आफ्नो स्वाभाविक पोजिसन नम्बर ३ मै फर्कनेछन् । रोयको स्थानमा वैकल्पिक खेलाडी जेम्स भिन्सलाई ल्याइएको छ । जो पहिलो विश्वकप खेल्न लागेका छन् ।


अफगानिस्तानले विश्वकपमा अहिलेसम्म पूरै ५० ओभर ब्याटिङमा टिक्न सकेको छैन । यसैको फलस्वरूप उसले यसअघिका चारै खेलमा हारको सामना गर्नुपरेको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा २१ औं ओभरमा ६९–२ को अवस्थामा रहेको अफगानिस्तान ३५ औं ओभरमा १ सय २५ रनमै समेटिएको थियो । आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेको टिमलाई चुनौती दिने हो भने गुल्बादिन नैव नेतृत्वको अफगानिस्तानले ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनै क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्नेछ ।


मंगलबार म्यान्चेस्टरमा मौसम बदली हुनेछ । केही समय घाम पनि लाग्नेछ तर वर्षाको सम्भावना भने न्यून छ । यस्तो कन्डिसनको विकेटले बलरहरूलाई सहयोग गर्नेछ । ओल्ड ट्राफोर्डको विशाल मैदानमा दुवै टोलीका स्पिनरहरूको प्रदर्शन हेर्नलायक हुनेछ ।




प्लेयर्स टु वाच


जो रुट (इंग्ल्यान्ड)

जारी विश्वकपको ३ मध्ये २

खेलमा शतकीय इनिङ्स खेलेका इंग्ल्यान्डका टेस्ट कप्तान जो रुट करिअरकै उच्च लयमा देखिन्छन् । जेसन रोय र नियमित कप्तान इयोन मोर्गन चोटका कारण खेल्ने सम्भावना कम हुँदा इंग्लिस ब्याटिङको नेतृत्व उनैले गर्नुपर्ने हुनसक्छ । २८ वर्षीय रुटले एकदिवसीयको १ सय ३६ खेलमध्ये १ सय २८ इनिङ्समा ५ हजार ५ सय ७९ रन जोडेका छन् ।



रहमत साह (अफगानिस्तान)

ब्याटिङ अलराउन्डर रहमत साहले अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा ४६ रन बनाउनुबाहेक अन्य खेलमा अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । घरेलु टोलीविरुद्धको खेलमा अफगानिस्तानको मध्य क्रममा उनले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ । लेग स्पिनर रसिद खान यस विश्वकपमा प्रभावकारी नदेखिएका बेला बलिङतर्फ साहले लेग स्पिनको जादु देखाउन सक्नेछन् । साहले अफगानिस्तानबाट ६५ एकदिवसीय खेलेका छन् ।

प्रकाशित : असार ३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?