बंगलादेशको स्मरणीय जित

एएफपी

टाउनटन — शकिब अल हसनको सानदार शतकपछि बंगलादेशले विश्वकप क्रिकेटमा सोमबार वेस्ट इन्डिजमाथी ७ विकेटका स्मरणीय जित हात पारेको छ । बंगलादेशले विश्वकपमा दोस्रो ठुलो विजय लक्ष्य स्कोर पछ्याउदै सेमिफाइनल यात्राको सम्भावनालाई कायमै राखेको छ । 

बंगलादेशका शकिब अल हसन अफ साइडमा प्रहार गर्दै । तस्बिर  : एपी

शकिबले ९९ बलमा अविजित १ सय २४ र लिन्टोन दासले ६९ बलमा अविजित ९४ रन बनाएपछि बंगलादेशले ३ सय २२ रनको लक्ष्य ८.३ ओभर अगाडि नै पुरा गरेको हो । बंगलादेशले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक विजय लक्ष्यको कीर्तिमानलाई बराबरी गरेको हो ।

सन् २०११ मा आयरल्यान्डले इंग्ल्यान्डमाथी ३ सय २९ रन बनाउदै जितेको खेल विश्वकपमा विजय लक्ष्यमा बनाएको सबैभन्दा बढी रन हो । त्यसयता बंगलादेशले विजय लक्ष्यमा ठूलो स्कोर बनाएको हो । मासरफी मोर्ताजाको टोली यस विजयपछि सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

बंगलादेश ५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । सहभागि १० टोली आपसमा राउन्ड रोबिनमा खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् । अस्ट्रेलिया (८), न्युजिल्यान्ड (७), भारत (७) र आयोजक इंग्ल्यान्ड (६) अंकसहित पहिलो चार स्थानमा छन् ।

वेस्ट इन्डिजका लागि दिन नै राम्रो रहेन । फिल्डिङमा फितलो रहेको वेस्ट इन्डिजका बलरले बलिङ पनि निकै खुकुलो गरेका थिए । ५ खेलमा तेस्रो पराजय बेहोरेपछि वेस्ट इन्डिजको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । वेस्ट इन्डिज ३ अंकसहित सातौं स्थानमा छ ।

बंगलादेशले दक्षिण अफ्रिकासँगको खेल जित्दा पनि ३ सय ३० रन बनाएको थियो । ओपनर तामिम इकबालले ५३ बलमा ४८ रन बनाए । तामिम र सोउम्य सरकारले ९ ओभर भित्र ५० रन जोडेका थिए । सरकारले २३ बलमा २९ रन बनाए । मुसफिकर रहिम १ रनमै आउट भए । शकिब र दासले चौथो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेपछि बंगलादेशले एकतर्फी जस्तै खेल आफ्नो पक्षमा पार्‍यो ।

शकिबको यो लगातार दोस्रो शतक हो । उनले इंग्ल्यान्डसँग १ सय २१ रन बनाएका थिए । उनी बंगलादेशबाट एकदिवसीयमा ६ हजार रन बनाउने दोस्रो खेलाडी पनि बने । जारी विश्वकपको चार खेलमा दुई शतक र दुई अर्धशतक बनाउदै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन् । उनले १६चौका र दासले ८ चौका र ४ छक्का प्रहार गरे । यसअघि वेस्ट इन्डिजबाट साई होपले ९६, इभिन लुइसले ७० रसाइमन हेटमरले २६ बलमा ५० रन बनाएका थिए । बंगलादेशबाट शकिबले दुई विकेट पनि लिएका थिए ।

प्रकाशित : असार ३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

रोयले २ खेल गुमाउने

एएफपी

म्यान्चेस्टर — इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले आफ्ना ओपनिङ ब्याट्सम्यान जेसन रोय बायाँ ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपका आगामी २ खेल खेल्न नसक्ने जानकारी दिएको छ । शुक्रबार वेस्ट इन्डिजविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते भएका रोयले मंगलबार ओल्ट ट्राफोटमा हुने अफगानिस्तानविरुद्धको खेल र शुक्रबार हिडिङलेमा हुने श्रीलंकाविरुद्धको खेल गुमाउनेछन् ।

वेस्ट इन्डिजविरुद्धकै खेलका क्रममा ढाडको दुखाइका कारण ब्याटिङ गर्न असमर्थ भएका थिए । प्रतियोगिताकै कमजोर अफगानिस्तानविरुद्धको खेलमा उनले खेल्ने सम्भावना छ । तर निर्णय खेलअघि गरिने टिमले जनाएको छ । ‘रोयको चोटबारे शनिबार एमआरआई गरिएको थियो र त्यसअनुसार उनले विश्वकपमा आगामी २ खेल गुमाउनेछन्,’ टिमका प्रवक्ताले भने ।

सोमबार ओल्ड ट्राफोटमा इन्डोर नेट सेसनपछि प्रिम्याच कन्फेरेन्समा उपस्थित भएका मोर्गनले अफगानिस्तानविरुद्धको खेल खेल्ने आशय व्यक्त गरे । ‘ढाडको दुखाइ क्रमशः कम हुँदै गइरहेको छ,’ मध्यक्रमका ब्याट्सम्यानले भने, ‘मैले नेटमा शटहरू खेलिरहेको छु र भोलि (मंगलबार) अफगानिस्तानसँग खेल्ने योजनामा छु । यदि आज (सोमबार) खेल थियो भने म निश्चित रूपमा खेल्न सक्थेँ, भोलिका लागि मेरो दुखाइमा भर पर्छ ।’

यसै वर्षको सुरुआतमा वेस्ट इन्डिजविरुद्धको शृंखलाका क्रममा पनि रोयले ह्याम्स्ट्रिङको चोट ब्यहोरेका थिए । जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक प्रहार गरेका रोयले बंगलादेशविरुद्धको जितमा १ सय ५३ रनको सानदर इनिङ्स खेलेका थिए । पाकिस्तानसँगको अप्रत्यारिलो हारका क्रममा भने उनले ८ रनमात्र जोड्न सके ।

रोयको अनुपस्थितिमा टेस्ट कप्तान जोय रुटलाई जोनी बेरिस्टोसँगै वेस्ट इन्डिजबिरुद्ध ओपनिङको जिम्मा दिइएको थियो । उनले अविजित शतकका साथ आफ्नो जिम्मेवारी पूरा गरेका थिए । तर मोर्गनका अनुसार रोयको स्थानमा १५ सदस्यीय टिमका वैकल्पिक खेलाडी जेम्स भिन्सले इंग्ल्यान्डको ओपनिङ गर्नेछन् ।

पहिलोपल्ट विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डका लागि उच्च लयमा रहेको रोयको अनुपस्थिति नोक्सानीको कारक बन्न सक्छ । मोर्गनले भनेका छन्, ‘मलाई विश्वास छ कि जेसनले फेरि यस प्रतियोगिता खेल्नेछन्, उनी २ खेल बाहिर छन्, त्यसैले अब हेर्नुछ कि उनको पुनरागमन कस्तो हुनेछ । निश्चित रूपमा उनी हाम्रो अहिलेसम्मको सफलतामा मुख्य हकदार हुन् । उनी करिअरकै उच्च लयमा छन् र हाम्रा लागि महत्त्वपूर्ण कुरा पनि यही हो ।’

प्रकाशित : असार ३, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्