१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कुलदीपको त्यो बल

एएफपी

म्यान्चेस्टर — भारतीय बलर कुलदीप यादवले विश्वकपमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको विकेट लिँदा उनले बल अविश्वसनीय रूपमा घुमाउन सफल रहे । यो हरेक स्पिनरको ‘सपना’ हो र आफ्नो प्रयास सफल भएकोमा उनी दंग छन् ।

कुलदीपको त्यो बल

बायाँ हाते लेग स्पिनर (चाइनाम्यान बलर) यादवको ३२ रन खर्चेर २ विकेटको उत्कृष्ट प्रदर्शनकै सहयोगमा भारतले पाकिस्तानविरुद्ध आइतबार डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानलाई ८९ रनले हराउन सफल रह्यो । ४८ रनको स्कोरमा खेलिरहेका अजामलाई यादवले ब्याट र प्याडको बीचबाट बल छिराएर बोल्ड गरेका थिए । उनले अजाम र फकर जमानको १ सय ४ रनको दोस्रो विकेट साझेदारी पनि तोडेका थिए । फकरले पाकिस्तानका लागि सर्वाधिक ६२ रन प्रहार गरे ।


‘बाबरलाई आउट गर्दाको बल यस प्रतियोगितामै मेरो सबैभन्दा उत्कृष्ट थियो । यसअघि एसिया कपमा पनि मैले नै उनलाई आउट गरेको थिएँ,’ कुलदीपले भने, ‘पानी परेर खेल रोकिएपछि मैले आफ्नै त्यस बललाई हेरेँ । त्यो बल वास्तवमै उल्लेख्य टर्न भइरहेको थियो र सबै स्पिनरले यस्तै बल फाल्न मन पराउँछन् ।’ ‘यो एउटा सपनामा सोच्ने खालको बल डेलिभरि, उत्कृष्ट टेस्ट बलिङ हो । ब्याट्सम्यानलाई गल्ती गर्न बाध्य बनाउने, उत्कृष्ट बल,’ उनले हाँस्दै भने । आफ्नो अर्को ओभरमा कुलदीपले बायाँ हाते फकर जमानलाई पनि फाइन लेग क्षेत्रमा क्याच आउट गराए ।


विजय शंकर र हार्दिक पाण्ड्याले पनि २–२ विकेट लिए । वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा ३ सय २ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ विकेट गुमाएर २ सय १२ रनमात्र जोड्न सक्यो ।


‘बाबर र फकर दुवैले स्पिनरविरुद्ध उत्कृष्ट खेलिरहेका थिए । उनीहरूले आक्रामक ब्याटिङका साथ स्ट्राइक पनि परिवर्तन गरिरहेका थिए । त्यसैले उनीहरूको साझेदारी तोड्नु नै सबैभन्दा महत्त्वपूर्ण थियो,’ कुलदीपले भने, ‘बाबरको विकेट झरेपछि अर्को ओभरमा अर्को विकेट गुम्यो । डकवर्थ लुइस नियमअनुसारको स्कोरमा उनीहरू धेरै पछि परिसकेका थिए र हरेक नयाँ ब्याट्सम्यानलाई दबाब थपिँदो थियो, हाम्रा लागि चाहिँ त्यसले फाइदा भइरहेको थियो ।’


टवान्टी–२० फर्म्याटको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कममजोर प्रदर्शनका कारण क्रिकेट पण्डितहरूले विश्वकपमा कुलदीपको उपस्थितिमा सन्देह गरिरहेका थिए । तर, २४ वर्षीय यी स्पिनरले दक्षिण अफ्रिकाविरुद्ध १–४६ र पाकिस्तानविरुद्ध निर्णायक प्रदर्शन गरे । ‘हरेकले मेरो लयको बारेमा कुरा गरिरहेका छन् ।


मलाई लाग्दैन कि मैले आफ्नो लय गुमाइरहेको छु । मैले विकेट लिन सकिन भने लयको कुरा गर्नु ठीकै होला तर पछिल्लो २ खेलमा मैले उत्कृष्ट बलिङ गरिरहेको छु,’ कुलदीपले भने, ‘अस्ट्रेलियाविरुद्धको खेलमा उनीहरू मेरो बलमा संघर्ष गरिरहेका थिए र जुनसुकै स्पिनरका लागि पनि यस्तो हुनु ठूलो सफलता हो ।’


भारतका उपकप्तान रोहित शर्माले १ सय १३ बलमा १ सय ४० रनको इनिङ्स खेलेपछि भारतले ५० ओभरमा ३ सय ३६ रनको स्कोर खडा गरेको थियो । शर्माले पाकिस्तानको इनिङ्समा कुलदीपकै निर्णायक प्रदर्शन भन्दै उनको तारिफ गरे ।


‘उनी हाम्रो टिमको खेल जिताउने बलर हुन् र आजै पनि तपाईंले हेर्नुभयो भने उनले कठिन समयमा महत्त्वपूर्ण विकेट लिएका छन्,’ शर्माले भने, ‘दुवै ब्याट्सम्यान सेट भइसकेका थिए । निश्चित रूपमा प्रतियोगितामा कुलदीपको सुरुआत त्यस्तो भएन जस्तो उनले सोचेका थिए । समूह चरणका बाँकी खेलहरूका लागि उनको आत्मविश्वास माथि आएको छ ।’


सन् २०१७ मा डेब्यु गरेयता कुलदीपले भारतका लागि ४७ एकदिवसीय खेलमा ९० विकेट लिइसकेका छन् ।

प्रकाशित : असार ३, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?