कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

इंग्ल्यान्डको उच्च स्कोर

एएफपी

कार्डिफ — बंगलादेशका कप्तान सकिब अल हसनको शतक पन्छाउँदै इंग्ल्यान्डले विश्वकप क्रिकेटमा शनिबार १ सय ६ रनको जित हात पारेको छ । सकिबले १ सय २१ रन बनाए पनि ३ सय ८७ रनको लक्ष्य पाएको बंग्लादेश ४८.५ ओभरभित्र २ सय ८० रनमैअलआउट भयो । 

इंग्ल्यान्डको उच्च स्कोर

सकिबले १ सय १९ बलको इनिङ्समा १२ चौका र १ छक्का प्रहार गरे । उनले विश्वकपमा पहिलो शतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो नवौं शतक बनाएका सकिबले इंग्ल्यान्डविरुद्ध भने पहिलो शतक ठोकेका हुन् ।


महमुदुल्लाह २८, मोसादेक हुसैन २६ र तमिम इकवाल १९ रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ८.५ ओभरमा २ मेडन राख्दै २९ रन र बेन स्टोक्सले ६ ओभरमा १ मेडन राख्दै २३ खर्चेर ३–३ विकेट लिए । मार्क उडले २ तथा लिएम प्लुनकेट र अदिल रसिदले १–१ विकेट लिए । दाबेदार मानिएको इंग्ल्यान्डको तीन खेलमा यो दोस्रो जित हो । बंगलादेशले ३ खेल खेल्दा खेल जितेको छ भने २ खेल हारिसकेको छ ।


यसअघि ओपनर जेसन रोयले १ सय ५३ रनको उत्कृष्ट इनिङ्स खेलेपछि इंग्ल्यान्डले ६ विकेट गुमाई ३ सय ८६ रन बनायो । इंग्ल्यान्डले विश्वकपको सर्वाधिक योगफल कीर्तिमान पनि बनायो । इंग्ल्यान्ड सोमबार नटिङघममा पाकिस्तानविरुद्ध कीर्तिमानी ३ सय ४८ रनको लक्ष्य पछ्याउँदा १४ रनले पराजित भएको थियो । आयोजक इंग्ल्यान्डले यसअघि सन् २०११ को विश्वकपमा भारतविरुद्ध बनाएको ३३८–८ को उच्च योगफल सुधार गरेको हो ।


रोयले भारतका रोहित शर्मालाई प्रतिस्थापन गरी प्रतियोगितामा सर्वाधिक व्यक्तिगत स्कोर कायम गरे । रोहितले दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन प्रहार गरेका थिए । आफ्नो इनिङ्समा इंग्ल्यान्डले १४ छक्का र २८ चौका प्रहार गरेको थियो । क्रिस वोक्सको १८ र लिएम प्लुनकेटको २७ रन बनाउँदै १७ बलमै ४५ रनको अविजित साझेदारी गरे ।


बंगलादेशका कप्तान मासरफी मोर्टजाले टस जितेर घाँसे पिचमा इंग्ल्यान्डलाई ब्याटिङमा पठाउने निर्णयमा रोय र जोनी बेरिस्टो (५१) ले पहिलो विकेटमा १ सय २८ रनको तीव्र साझेदारी गरे । पहिलो बलमै एलबीडब्लू धरापबाट रिभ्यू लिएर बचेका जस बटलरले ६४ रन बटुल्ने क्रममा ४ छक्का प्रहार गरे । त्यसमध्ये मोसादेक हुसेनको बलमा प्रहार गरेको एउटा स्ट्रेट प्रहार टफ नदीमा खसेको थियो ।


रोय र बेरिस्टो दुवैले प्रतियोगितामा स्पिनरविरुद्ध खेल्न असहज महसुस गरिरहेका थिए । त्यसैले बाँयाहाते स्पिनर सकिब अल हसनले बलिङ आक्रमणको सुरुआत गरेका थिए । उनले विकेटरहित १० ओभरमा ७१ रन खर्चिए । बंगलादेशका सबै बलरले दबाब महसुस गर्नुपरेको थियो ।


इंग्ल्यान्डका ब्याट्सम्यानले बंगलादेशको कमजोर फिल्डिङको पनि फाइदा उठाए । ४८ बलमा अर्धशतक प्रहार गरेलगत्तै बेरिस्टो आउट भए । बंगलादेशका कप्तान मोर्टजाले विश्वकपमा पहिलो विकेट लिने क्रममा मेहेदी हसनको हातबाट क्याचआउट गराए । उच्च लयमा रहेका रोयले ९२ बलमा विचित्र तरिकाले शतक पूरा गरे ।


९७ रनको स्कोर हुँदा उनी एक रन लिन दौडिएका थिए । त्यसबेला अम्पायर जोयल विल्सनसँग ठोक्किएर लड्न पुगे । उता मोहम्मद मिथुनले मिसफिल्ड गर्दा बलले बाउन्ड्री पार गर्‍यो । मेहेदीको बलमा लगातार तीन उत्कृष्ट छक्का प्रहार गरेपछि रोय अर्को बलमा मोर्टजाको हातबाट क्याचआउट भए ।


मेहेदीले ६७–२ मा आफ्नो स्पेल पूरा गरे । रोयले १ सय २१ बल सामन गरी १४ चौका र ५ छक्का प्रहार गरे । विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाउने उनी दोस्रो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २०११ मा भारतविरुद्ध एन्ड्रयु स्ट्राउसले १ सय ५८ रन प्रहार गरेका थिए ।


स्कोर कार्ड

इंग्ल्यान्ड

१०६ रनले विजयी


इंग्ल्यान्ड

५० ओभर ३८६/६

जेसन रोय–१५३

जोस बटलर–६४

जोनी बेरिस्टो–५१


मेहेदी हसन २/६७

मोहमद सैफुद्दिन २/७८


बंगलादेश

४८.५ ओभर २८०

सकिव अल हसन–१२१

मुस्फिकर रहिम–४४

महमुदुल्लाह–२८


जोफ्रा आर्चर–३/२९

बेन स्टोक्स–३/२३

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?