पाकिस्तान नम्र नहुने

एएफपी

ब्रिस्टल — पाकिस्तानले इंग्ल्यान्डलाई हराएयता शुक्रवार विश्वकपमा श्रीलंकाको सामना गर्नेछ र त्यस अगाडि प्रशिक्षक माइक आर्थरले आफ्ना खेलाडीलाई नम्र नभएर नखेल्ने बताएका छन् । लगातार कहिले कस्तो खेल्न अनुमान गर्न नसकिने पाकिस्तानले ट्रेन्ट ब्रिजमा भएको खेलमा आयोजक देशलाई हराउन चर्को दबाब सामना गरेको थियो ।

त्यसको ठिक दिन अगाडि भने पाकिस्तान वेस्ट इन्डिजविरुद्धको खेलमा आत्तिएको प्रदर्शन गर्दै ७ विकेटले पराजित रह्यो ।

इंग्ल्यान्डलाई हराएपछि पाकिस्तानले वान डे अन्तर्राष्ट्रिय खेलमा लगातार ११ खेलको हार क्रमलाई रोकेको छ । त्यस जितमा आफ्ना खेलाडीको प्रशंसा गर्दै आर्थरले पाकिस्तान त्यो स्तब्धपूर्ण सफलताको हकदार रहेको बताए । उनले भने, ‘हाम्रा खेलाडीले आत्मविश्वासले खेल्दा खुसी लाग्छ । हामीले सबै खेलाडीले आफूले सक्दो कडा रूपमा प्रस्तुत भएर खेल्न भनेको छु । जति बेला हाम्रो ब्याटिङ, फिल्डिङ र बलिङ राम्रो हुन्छ, हामी कसैलाई पनि हराउन सक्षम छौँ ।’

प्रशिक्षक आर्थरका अनुसार अब पाकिस्तान टिमको प्रदर्शनमा एक समानता पनि हुनुपर्छ । इंग्ल्यान्डको धारिलो बलिङसामु पाकिस्तानले ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो । त्यसमा भेट्रान मोहम्मद हाफेज, बाबर आजम र सरफराज अहमदले अर्ध शतक बनाएका थिए । त्यसपछि पेस म्यान वाहब रियाज र मोहम्मद अमिरसँगै लेग स्पिनर सादब खानले सटिक बलिङ गर्दै इंग्ल्यान्डलाई ५० ओभरमा ९-३३४ रनमा रोकेको थियो ।

‘हाम्रा खेलाडीमा अब राम्रो गर्ने भोक उत्पन्न भएको छ, पुराना खराब हारलाई बिर्सेर उदृढ प्रदर्शनको पक्षमा रहेका छन् । यस्तै प्रदर्शन अब हामीले अबका खेलमा कायम गर्नु पर्नेछ,’ आर्थरले थपे ।

सन् १९७५ को पहिलो विश्वकपयता पाकिस्तानले श्रीलंकाविरुद्धका सबै ७ खेलमा जित निकालेको छ । अबको खेलमा भने पाकिस्तान फास्ट बलर मोहम्मद हसनलाई मैदानमा उतार्ने मनसायमा हुनेछ, किनभने न्युजिल्यान्डविरुद्धको खेलमा श्रीलंका यस्तै बलिङ आक्रमणसामु धराशायी भएको थियो ।

श्रीलंका त्यस खेलमा १० विकेटले पराजित रहेको थियो । श्रीलंकाले त्यसपछि अफगानिस्तान विरुद्ध कार्डिफमा भएको खेल जितेर आफ्नो विश्वकप अभियानलाई जीवन्त राखेको छ । सन् १९९६ को च्याम्पियन श्रीलंकाका लागि सबैभन्दा ठुलो चिन्ता मध्यक्रम रहेको छ । श्रीलंकाले न्युजिल्यान्डविरुद्ध १४ रनमा ५ विकेट तथा अफगानिस्तान विरुद्ध ३६ रनमा ७ विकेट गुमाएको थियो । श्रीलंकाली प्रशिक्षक चन्दिका हथुरुसिन्घेले पनि आफ्ना खेलाडीलाई प्रदर्शनको स्तर बढाउन भनेका छन् ।

‘मैले खेलाडीसँग इमान्दारितापूर्वक आफ्नो भनाइ राखेको छु । मलाई झुटो बोल्नु छैन । श्रीलंकाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेको छैन र यो सत्य हो । अब हाम्रा खेलाडीसामु राम्रो प्रदर्शन गर्नु बाहेक अर्को विकल्प छैन,’ प्रशिक्षक हथुरुसिन्घेले भने ।

श्रीलंकाले अफगानिस्तान विरुद्ध बनाएको २ सय १ रनमा प्रारम्भिक ब्याट्सम्यान कुशल परेरा एक्लैले ७८ रनको योगदान दिएका थिए र उनको प्रदर्शनमा प्रशिक्षक प्रभावित देखिएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ००:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता, छानबिन नटुंगिँदै अन्तर्वार्ता

परीक्षामा अनियमितता भएको भन्दै लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले अन्तर्वार्तामा बस्न अस्वीकार गरेका छन् 
सुदीप कैनी

काठमाडौँ — नातेदार पास गराउन अनियमित तरिकाले सञ्चालन गरिएका त्रिवि सेवा आयोगका परीक्षाको अन्तर्वार्तासमेत लोकसेवा आयोगका प्रतिनिधिबिनै लिइएको पाइएको छ । खुला प्रतिस्पर्धाको कर्मचारीतर्फका कुनै पनि अन्तर्वार्तामा लोकसेवाबाट खटाइएका सदस्य ब्रह्मदेव राय उपस्थित छैनन् । 

त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा र सदस्य चिन्तामणि पोखरेलले मात्रै लिखित परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिने गरेका छन् । बिहीबार पनि पुस्तकालय सहायकको अन्तर्वार्ता लिइएको छ । परीक्ष्ाामा अनियमितता सार्वजनिक भएपछि राय अलग रहेका हुन् । उक्त परीक्षामा अनियमितता भएको आरोपमा अख्तियारले समेत छानबिन गरिरहेको छ । 'अख्तियारले छानबिन थालेको दिनदेखि म कुनै पनि अन्तर्वार्तामा संलग्न छैन,' रायले कान्तिपुरसँग भने, 'एउटा संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अर्को संवैधानिक निकायको प्रतिनिधि बस्न मिल्दैन, त्यसैले बाहिर बसेको हुँ ।' रायले त्रिवि सेवाका पदाधिकारीले परीक्षामा आफूखुसी निर्णय गर्ने गरेको गुनासो गरे । 'कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधि संशोधन गरेर लोकसेवा आयोगलाई भूमिकाविहीन बनाइएको छ,' उनले भने, 'त्यहाँ जानु र नजानुको कुनै अर्थ छैन ।'

त्रिवि ऐनको परिच्छेद ६ मा लोकसेवाको सदस्य त्रिवि सेवा आयोगको पदेन सदस्य हुने व्यवस्था छ । त्रिवि आयोगका अध्यक्ष र प्राध्यापकमध्येबाट १ जना सदस्य कुलपतिले नियुक्त गर्छन् भने ३ सदस्यीय आयोगमा लोकसेवाका प्रतिनिधि अर्का सदस्य हुन्छन् । त्रिवि सभाले भने यसअघि नै शिक्षककर्मचारी नियुक्तिमा लोकसेवाका प्रतिनिधिको भूमिका नरहने गरी कार्यविधि तयार पारेको हो । कार्यविधिमा अन्तर्वार्तामा त्रिवि आयोगका दुई सदस्य मात्र भए पुग्ने उल्लेख छ । यही प्रावधानमा टेकेर अध्यक्ष शर्मा र सदस्य पोखरेलले विवादित परीक्षाको अन्तर्वार्ता सञ्चालन गरेका हुन् ।

स्रोतका अनुसार अध्यक्ष शर्माले रायलाई छलफलका लागि भन्दै पटक/पटक भेट्न अनुरोध गरिरहेका छन् । 'चैतन्य सरले लोकसेवा आयोगकै कार्यालय वा घरमै भेट्न आउँछु भनेर राय सरलाई धेरैपटक टेलिफोन गरिसक्नुभयो,' त्रिवि सेवा आयोग स्रोतले भन्यो, 'ब्रह्मदेव सर मान्नुभएको छैन, अन्तर्वार्तामा पनि आउनुभएको छैन ।' त्रिवि आयोगमा लोकसेवाका प्रतिनिधिलाई भूमिकाविहीन बनाइएकामा लोकसेवाका अन्य सदस्यसमेत असन्तुष्ट छन् । एक सदस्यले भने, 'सकेसम्म लोकसेवाका प्रतिनिधि अनुपस्थित भएका बेला त्रिवि आयोगमा गलत निर्णय गरिन्छ ।'

लोकसेवाका प्रतिनिधिलाई परीक्षामा संलग्न नगराइएको विषयमा त्रिविका पूर्वउपकुलपति र शिक्षाविद्ले समेत अनभिज्ञता प्रकट गरे । 'परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाउन लोकसेवाको प्रतिनिधि अनिवार्य राख्ने व्यवस्था गरिएको हो,' पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, 'कहिले कार्यविधि परिवर्तन गरेर भूमिकाविहीन बनाइयो, मलाई थाहा भएन ।' त्रिवि सेवा आयोगले 'ख्यालख्याल' को परीक्षा लिएर नातागोता र पहुँचवालालाई जागिर दिने गरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे । 'साँच्चिकै त्रिविलाई मसानघाट बनाउन लागियो, लोकसेवाको प्रतिनिधि अनिवार्य हुँदैन भने किन राख्ने व्यवस्था राखिराखेको ? त्यो पनि हटाइदिए भइगयो,' उनले भने ।

शिक्षाविद् विद्यानाथ कोइरालाले परीक्षाको आधिकारिकता र विश्वसनीयताका लागि लोकसेवाको प्रतिनिधि अनिवार्य राख्नुपर्ने तर्क गरे । 'त्रिवि आयोग धेरै नै विवादमा फसिसक्यो, विश्वसनीयता गुम्दै गएको छ,' उनले भने, 'लिखित परीक्षा नै विवादमा परेपछि लोकसेवाको प्रतिनिधि नराखी अन्तर्वार्ता गर्नु झनै दुर्भाग्य भयो, परीक्षाको मानक नै रहेन, त्रिवि सेवाभन्दा लोकसेवा विश्वसनीय संस्था हो ।'

त्रिवि सेवा आयोगका अध्यक्ष शर्माले भने लोकसेवाको प्रतिनिधि अनिवार्य नभएकाले परीक्षामा सहभागी नगराइएको तर्क गरे । 'लोकसेवाको सदस्य आफ्नो अनुकूलताअनुसार अन्तर्वार्तामा बस्ने गर्नुभएको छ,' उनले कान्तिपुरसँग टेलिफोनमा भने, 'त्रिवि सभाले लोकसेवाको प्रतिनिधि अनिवार्य हुनुपर्छ भनेको छैन, हामीले नै अन्तर्वार्ता लिइरहेका छौं ।' स्रोतका अनुसार शर्माले लोकसेवाको प्रतिनिधि अन्तिम समयसम्म अन्तर्वार्ताको फाइलमा हस्ताक्षर गर्न आउने भन्दै त्रिवि आयोगका कर्मचारीबीच प्रचार गर्ने गरेका छन् । उनी सत्तारूढ नेकपाको पूर्वएमालेनिकट खेमाका हुन् । त्यसै कारण अख्तियारले परीक्षासम्बन्धी छानबिनमा 'क्लिन चिट दिने' त्रिवि कर्मचारी र प्राध्यापक गुनासो गर्छन् ।

अन्तिम नतिजा प्रकाशन नगर्न निर्देशन
त्रिवि आयोगको विज्ञापन नम्बर १८/२०७३/२०७४ को उक्त लिखित परीक्षामाथि छानबिन गरिरहेको अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको छ । अख्तियार स्रोतका अनुसार परीक्षाका कागजात र उत्तरपुस्तिका अध्ययन क्रममा अनियमितता भेटिएको छ । 'प्रारम्भिक अनुसन्धान क्रममा अनियमितता भएको आशंका गरियो,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, 'त्यसैले अन्तिम नतिजा प्रकाशित नगर्न निर्देशन दिएका हौं ।' त्रिवि आयोगले वैशाखमा लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यसमा अध्यक्ष शर्मा, प्रशासकीय प्रमुख परशुराम कोइरालालगायत त्रिविकै उच्च तहका पदाधिकारी, कर्मचारी, विद्यार्थी नेता र राजनीतिक दलका पहुँवाला नेताका आफन्त र निकटका व्यक्तिलाई पास गराइएको भन्दै अख्यितारमा उजुरी परेको थियो । अनुसन्धानमा गडबडी देखिए परीक्षा रद्द गरिने उनले जनाए । अख्तियारको छानबिनपछि अधिकृत तहको अन्तर्वार्ता स्थगित गरिएको छ । शर्माकी भतिजी र कोइरालाकी छोरी अधिकृत पदको परीक्षामा संलग्न छन् । नातेदार परीक्षार्थी हुँदाहँुदै उनीहरू प्रश्नपत्र छपाइ र उत्तरपुस्तिका परीक्षणमा संलग्न रहेका हुन् ।

अनशनमा ऐक्यबद्धता
अनियमित तरिकाले सञ्चालन गरिएको परीक्षा रद्दको माग गर्दै १८ दिनदेखि जारी विद्यार्थीको अनशनमा राजनीतिक दलका नेतादेखि शिक्षाविदले ऐक्यबद्धता जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य, सत्तारूढ नेकपाका केन्द्रीय सदस्य लेखनाथ पौडेललगायतले ऐक्यबद्धता जनाएका हुन् । वैद्य निकट अखिल क्रान्तिकारीको नेतृत्वमा सेवा आयोग कार्यालयमा अनशन बसेका विद्यार्थीले आयोग खारेजी, भ्रष्ट पदाधिकारीलाई कारबाही र बर्खास्ती तथा अनियमित तरिकाले लिइएको परीक्षा रद्द गर्नुपर्ने माग राखेका छन् । दैनिक १२/१४ जनाका दरले विद्यार्थी अनशन बस्दै आएका छन् ।

शिक्षाविद् विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले पनि विद्यार्थी आन्दोलनलाई समर्थन गरेका छन् । वैद्य र कोइराला अनशनस्थलमै पुगेका थिए भने वाग्लेले टेलिफोनमार्फत ऐक्यबद्धता जनाएको क्रान्तिकारीका महासचिव पेशल दाहालले जानकारी दिए । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश शाह, नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष विवेक वलीलगायतले पनि ऐक्यबद्धता जनाएका छन् । 'सेवा आयोगका अध्यक्ष, प्रशासकीय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीले आफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएका छन्,' दाहालले भने, 'विश्वसनीयता नभए परीक्षा रद्द गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।'

त्रिवि सेवा आयोगले सञ्चालन गरेको कर्मचारी नियुक्तिको परीक्षामा अनियमितता भएको समाचार कान्तिपुरले प्रकाशन गरेको थियो । पहुँचका आधारमा ५० जनाभन्दा बढीलाई स्थायी गर्न लिखित परीक्षामा सफल गराइएको प्राध्यापक र विद्यार्थी बताउँछन् । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो । अधिकृतबाहेक अन्य पदको अन्तर्वार्ता शुक्रबार सकिँदै छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ २२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT