'तीव्र गतिका बलर’ निर्णायक

एएफपी

कार्डिफ — न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले विश्वकपमा लेग स्पिनजस्तै तीव्र बलिङको पनि मुख्य भूमिका हुने दाबी गरेका छन् । फर्गुसनले अर्का तीव्र गतिका बलर म्याट हेनरीसँग मिलेर शनिबार विश्वकपको आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध १० विकेटको जित हासिल गरेका थिए । 

'तीव्र गतिका बलर’ निर्णायक

हेनरीले श्रीलंकाका शीर्षक्रम कमजोर बनाइदिएका थिए । अकल्यान्डमा जन्मिएका २७ वर्षे फर्गुसनले मध्यक्रमका महत्त्वपूर्ण विकेट लिएपछि श्रीलंका १ सय ३६ रनमै समेटिएको थियो । फर्गुसनले १५४ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेर वर्तमान विश्वकै सबैभन्दा तीव्र गतिको बलर बनेका छन् ।

‘स्पिन बलरले जस्तै फास्ट बलरले पनि बललाई दुवैतर्फ घुमाउन सक्छन् । फास्ट बलिङ पनि खेलको महत्त्वपूण हिस्सा हो । निश्चित रूपमा फास्ट बलिङ गरेको हेर्न रमाइलो हुन्छ,’ फर्गुसनले हाँस्दै भने, ‘वास्तवमा यहाँ प्रतिद्वन्द्वीको पनि कुरा आउला । तर यस्तो पनि होइन कि म हरेक बलरको खेल हेर्छु र आफ्नोसँग तुलना गर्छु ।’

वेस्ट इन्डिजका ओसमन थोमसले प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानलाई १ सय ५ रनमै अलआउट गरिदिएपछि तीव्र गतिका बलरका लागि इंग्लिस पिचको अनुकूलता पनि प्रमाणित भइसकेको छ । इंग्ल्यान्डका तीव्र गति बलर जोफ्रा आर्चरले पनि विश्वकपको ओपनिङ बलरको जिम्मेवारीसहित २७ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको जित दर्ता गरेको थियो ।

सन् २०१६ मा अस्ट्रेलियाविरुद्ध सिड्नीमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका फर्गुसन यस कुरामा पनि खुसी छन् कि इंग्ल्यान्ड र वेल्सको पिचको व्यवहारले बलर र ब्याट्सम्याचबीच सन्तुलन पाइरहेको छ । ‘मेरो विचारमा यहाँको पिचमा धेरै रन बन्नेछ, केही खेलहरूमा बलरलाई निकै दबाब पर्नसक्छ,’ उनले भने, ‘यो निकै राम्रो किन पनि हो भने यसले प्रतियोगिताको स्तर चित्रित गर्नेछ, खासगरी हाम्रा बलरका लागि ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?