हाटबजारमा निर्भर दुई देशको व्यापार !
Highlights
- अझै खुलेनन् मरिम र नाक्चेनाग्ला नाका, संघीय सरकारले वर्षभरिका लागि नाका खोल्न पहल नगर्दा हाटमा मात्र सीमित बनेको दुई देशको कारोबार
सुर्खेत — कोरोना महामारी अघिसम्म झन्डै २ दशकदेखि मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ मुगुगाउँका टासी लामाचिनियाँ खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामग्रीमै निर्भर थिए । हरेक वर्ष साउन महिनामा नेपाल–चीन सीमामा लाग्ने व्यापारिक मेलामा यार्सालगायत जडीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने लामाले कोरोना महामारीका कारण नेपाली भूमिबाट अत्यधिक महँगो खाद्यान्न र उपभोग्य सामग्री उपभोग गर्नुपर्यो ।
उनका छिमेकी वाङ्चुक तामाङलाई पनि कर्जा लिएरै भए पनि झन्डै ४ वर्षसम्म सदरमुकाम आई खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता भयो ।
उनीहरू मात्र होइन पूरै मुगमकार्मारोङ गाउँपालिकाका धेरैजसो बासिन्दा ४ वर्षअघिसम्म चिनियाँ खाद्यान्नकै भरमा वर्षभरिको गुजारा गर्थे । तर चीनले कोरोना महामारीका कारण ०७६ चैतदेखि नाका बन्द गरेपछि र व्यापारिक मेला (हाट) नलगाएपछि स्थानीयलाई सदरमुकाम गमगढीलगायत व्यापारिक केन्द्रमा ५ दिनसम्म हिँडेर आई खाद्यान्न लिनुपर्ने बाध्यता भयो । तर यस वर्ष भने गत साता मुगु–चीन सीमास्थित हयाजिमारमा झन्डै ४ वर्षपछि १५ दिने व्यापारिक हाट लाग्यो, जसले नेपाल–चीन व्यापारिक सम्बन्ध फेरि जोडिएको छ । तर संघीय सरकारले वर्षभरिका लागि नाका खोल्न पहल नगर्दा यही हाटमा मात्र दुई देशको व्यापार निर्भर छ । यो वर्ष टासी र वाङ्चु पनि हाटबजार गएर फर्किएका छन् ।
सडक असुविधा र महँगो ढुवानी भाडाका कारण स्थानीयलाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता भएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार मुगुगाउँबाट चिनियाँ सीमा एक दिनमै पुगिन्छ भने खाद्यान्न पनि नेपाली बजारभन्दा झन्डै तीन गुणा सस्तोमा पाइन्छ । अत्यधिक चिसो र सिँचाइ असुविधाका कारण पालिकाभरि वर्षमा एक बाली उवा मात्र फल्ने उनले जानकारी दिए । ‘त्यसले ३ महिना पनि खान पुग्दैन, जसका कारण स्थानीय बाहिरकै खाद्यान्नमा निर्भर छन्,’ उनले भने, ‘चीन जान एक दिन र सदरमुकाम आउन ५ दिन लाग्ने, त्यसमा पनि नेपाली खाद्यान्न महँगो र ढुवानी भाडा पनि झन्डै दोब्बर लाग्ने भएपछि चिनियाँ खाद्यान्नको भर पर्नुपरेको हो ।’
गाउँमा खाद्य संस्थानको डिपो भए पनि कहिल्यै चामल नआउने मुगमकार्मारोङ–५ का छोटेल तामाङले बताए । ‘खाद्यान्न, लत्ता कपडा र अन्य सामग्रीका लागि चिनियाँ हाजबजार नगई सुखै छैन,’ उनले भने, ‘नाका पूर्ण रूपमा खुलेर बाह्रै महिना व्यापारिक सम्बन्ध स्थापित भए हाम्रो जनजीवन निकै सहज हुन्थ्यो ।’
गाउँमा खाद्यान्न अभाव र सीमा क्षेत्रका बासिन्दालाई अत्यधिक महँगीको मार परेपछि व्यापारिक मेलाका लागि नाका खुलाइएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जनाए । चीन प्रवेशका लागि करिब २ हजार ५० स्थानीयलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र जारी गरिएको थियो । स्थानीय व्यापारी सुन्दुक लामाका अनुसार हाटबजारमा मुगुका बासिन्दाले काठका लौरी, चुलीका भुजा, भेडाको ऊन, छालाका सामग्री र यार्सागुम्बुलगायत जडीबुटी बिक्री गर्छन् भने चीनबाट लत्ताकपडा, चामल, मैदा, चिनी, चिया, तेललगायत उपभोग्य सामग्री खरिद गर्छन् । ‘यही मेलाबाट खरिद गरिएको सामग्रीले पालिकावासीको वर्षभरिको जोहो हुन्छ,’ उनले भने, ‘कोरोनाले मेला नलागेपछि ४ वर्ष अत्यधिक महँगीले जीविकोपार्जनमै समस्या भयो, अब भने जनजीवन सहज भएको छ ।’
डोल्पास्थित नेपाल–चीन सीमाको मरिममा पनि १५ दिने व्यापारिक मेला ४ वर्षपछि लागेको छ । नाका स्थायी रूपमा नखुले पनि १५ दिने व्यापारिक मेलाले स्थानीयको जीविकोपार्जन सहज बनाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जनाए । हाटबजारमा जान झन्डै ५ सय जनालाई अनुमतिपत्र प्रदान गरिएको उनको भनाइ छ । ‘सडक सुविधा नहुँदा र कठिन भूगोलका कारण सीमा क्षेत्रका बासिन्दालाई सदमुकाम आउन ६/७ दिन लाग्छ, चीन सीमामा भने २ दिनमै पुगिने भएकाले चिनियाँ सामग्रीकै भर छ,’ दाहालले भने, ‘त्यहाँ जडीबुटी र स्थानीय उत्पादनले पनि राम्रो भाउ पाउने भएकाले जिल्लावासीलाई राहत भएको छ ।’
यसपालि हाटबजारमा यार्साले राम्रो मूल्य पाएको डोल्पोबुद्ध गाउँपालिका–४ कापेम्बा भोटेले बताए । उनका अनुसार २८ लाख रुपैयाँ प्रतिकिलो यार्सा बिक्री भएको थियो । उनका अनुसार पोहोर नेपाली बजारमा बिक्री गर्दा यार्साले २० लाखभन्दा बढी मूल्य पाएको थिएन । जेठ दोस्रो साता यार्सा टिप्न डोल्पाकै टाँके पाटन पुगेका उनले यो वर्ष झन्डै आधा किलो यार्सा बिक्री गरेका थिए । ‘हाम्रा लागि स्थानीय उत्पादनको बिक्री र वर्षभरि चाहिने सामानको खरिद गर्ने ठाउँ नै चीन सीमा बनेको छ,’ भोटेले भने, ‘हाटबजार त ४ वर्षपछि खुल्यो, अब स्थायी रूपमा नाका खुलाउन सरकारले पहल गर्न जरुरी छ ।’
डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुन्डो गाउँपालिकामा वर्षमा एक बाली उवा मात्र फल्छ । जसका कारण बाहिरको खाद्यान्नको भर पर्नुपर्ने भोटेले बताए । ‘सडक सुविधा भए पनि सदरमुकाम गएर खाद्यान्न ल्याउन सकिन्थ्यो, खच्चडमा बोकाएर ल्याएको खाद्यान्न ४ गुणा महँगोमा उपभोग गर्नुपर्छ,’ उनले भने, ‘चीनबाट ल्याएको चामल किन्न पनि सस्तो र ढुवानी खर्च पनि कम लाग्ने ।’ सदरमुकाम दुनैमा ३० किलोको एक बोरा चामलको मूल्य २ हजारदेखि २ हजार ५ सयसम्म छ । तर त्यही चामल माथिल्लो डोल्पा पुर्याउँदा ६ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ ।
सदरमुकाममा किनेको सामान प्रतिकिलो ९० रुपैयाँसम्ममा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । चीन सीमामा त्यही परिणामको चामल ८ सयदेखि १ हजार रुपैयाँमा पाइने भोटेले जानकारी दिए । हुम्लाको हिल्सा, मुगुको नाग्चेनाग्ला, क्याटो र डोल्पाको मरिम चीन सीमासँग जोडिएको छ । सबै नाका कोरोना महामारीका कारण बन्द भएका थिए । तर हिल्सा नाका भने गत वर्ष वैशाखदेखि चीनले खोलिसकेको छ । तर अरू नाका खुलाउन सरकारले पहल नगरेको मुगुका नागरिक अगुवा तिलक मल्लले बताए । कोरोना महामारीअघिसम्म कार्मारोङका युवा मजदुरीका लागि चिनियाँ बजार ताक्लाकोटसम्म पुग्थे । ‘ताक्लाकोटमा मजदुरी गर्दा युवाले मासिक एक लाख रुपैयाँसम्म कमाउँथे, नाका खुले रोजगारीका अवसर सिर्जना हुन्थ्यो, आर्थिक कारोबार बढ्थ्यो,’ उनले भने, ‘जडीबुटी र कृषि उत्पादनले राम्रो भाउ पाउँथ्यो ।’
कोरोनाका कारण बन्द भएको नाका अर्को वर्ष खुल्ला भन्दाभन्दै ४ वर्ष बितेको डोल्पाको छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जनाए । ‘नाका नखुलेपछि स्थानीयको विपन्नता बढ्दै गएको छ,’ उनले भने, ‘युवाहरूका लागि ताक्लाकोटको रोजगारी त गुम्यो नै पर्यटकीय र आर्थिक गतिविधि पनि घटेको छ ।’ चीन हुँदै डोल्पा आउने पर्यटकको संख्या ४ वर्षयता शून्य रहेको गुरुङको भनाइ छ ।