घट्दै छ बिजुली चुहावट
Highlights
- विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत
काठमाडौँ — प्रसारण तथा वितरण प्रणालीमार्फत हुने विद्युत् चुहावट घट्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावट आर्थिक वर्ष ०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा झरेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।
विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ प्रतिशत र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ रहेको प्राधिकरणको तथ्यांक छ ।
विद्युत् चुहावटलाई आर्थिक वर्ष ०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, ०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, ०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र ०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आर्थिक वर्ष ०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई ०७८/७९ मा १५ दशमलव ३८ र ०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ ।
चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ,’ घिसिङले भने, ‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ ।’ नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको र अब चुहावटलाई एकल अंकमा झार्ने लक्ष्य रहेको घिसिङको भनाइ छ ।
०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको घिसिङले बताए ।
प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्नेर्,े बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
प्रकाशित : श्रावण २९, २०८१ ०६:०३