काठमाडौँ — सेयर कारोबारमा दिनहुँ नयाँ कीर्तिमानी बन्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार पौने २६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा सोमबार त्यसभन्दा बढी २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।
एकै दिन यति धेरै रकमको कारोबार भएको यो हालसम्मकै उच्च हो । सेयर कारोबारलाई सेयर बजारका एउटा बलियो सूचक मानिन्छ । सेयर कारोबार बढ्नु बजारमा नयाँ लगानीकर्ता भित्रिएको र पुराना लगानीकर्ताले लगानी बढाएको संकेत भएकाले यसका आधारमा समग्र सूचकको दिशा निर्धारण हुने जानकार बताउँछन् । बजार घटेको समयमा पनि धेरै रकमको कारोबार भएमा त्यसलाई बजार वृद्धिको आधारका रूपमा विश्लेषण गर्ने गरिएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७०.८१ अंकले बढेको छ । आइतबार ९४ अंकले बढेर २ हजार ८ सय ६० अंकमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले बढेर २ हजार ९ सय ३१.६५ बिन्दुमा उक्लेको छ । आइतबारको तुलनामा सोमबार नेप्से २.४७ प्रतिशतले बढी हो ।
सोमबार २ लाख ८३ हजार ४७ पटक सेयर कारोबार भयो । ती कारोबारमा ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर किनबेच भयो । यसमा २७ अर्ब २४ करोड २० हजार रुपैयाँ परिचालन भयो । उक्त दिन कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको मूल्य बढ्यो, ६८ वटाको घट्यो र बाँकी ३ वटाको स्थिर रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र उत्पादन तथा प्रशोधनबाहेक बाँकी सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।
जीवन बिमा उपसमूहको परिसूचक ८१५.८१ अंक र निर्जीवन बिमाको ४१२.४५ अंकले बढ्यो । उक्त दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक २१५.८७, वित्त कम्पनीको १६६.६१, व्यापारको १६३.७६, बैंकिङको ४५.२७ र विकास बैंकको १६६.६१ अंकले बढ्यो । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ९९.२८ र लगानीको ०.२२ अंकले घट्यो ।
पछिल्ला आठ कारोबार दिनयता एक दिनबाहेक सेयर बजारमा २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । तीमध्ये पनि प्रायः दिन नेप्सेमा २१ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । यद्यपि पछिल्ला हरेक दिन कारोबार रकमले नयाँ उचाइमा चुमिरहेको छ ।
प्रकाशित : श्रावण २९, २०८१ ०६:०५