सेयर बजारमा अर्को कीर्तिमान : झन्डै २६ अर्बको कारोबार
Highlights
- गत मंगलबार करिब २४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएयता आइतबार नै सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको हो
काठमाडौँ — सेयर बजारमा कारोबार रकमले फेरि नयाँ कीर्तिमानी बनाएको छ । आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएपछि पुनः नयाँ रेकर्ड कायम भएको हो । यसअघि गत मंगलबार करिब २४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यसयता आइतबार नै सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
पछिल्ला दिनमा कारोबार रकमले निरन्तर बजारलाई टेवा दिइरहेको देखिन्छ । नेप्से घट्दा होस् वा बढ्दा उल्लेख्य रकमको कारोबार हुने गरेको छ । कारोबार रकममा भएको वृद्धिले नयाँ लगानीकर्ता बजारमा भित्रिएको र पुरानाले पनि लगानी बढाएको संकेत भएको जानकार बताउँछन् ।
गत मंगलबार नेप्से परिसूचक एकै दिनमा हालसम्मकै उच्च १ सय ४५ अंकले घट्दा पनि २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । आइतबार २ लाख ७५ हजार २ सय ७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २६ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । गत बिहीबारको तुलनामा कारोबार रकम ६ अर्बले बढी हो । गत बिहीबार सेयर बजारमा २० अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यही साउन २२ मा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार र १६ मा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आइतबार समग्र नेप्से परिसूचक पनि ९४.४६ अंकले बढेर २ हजार ८ सय ६०.८४ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ३.४१ प्रतिशतले बढेको हो । गत मंगलबार १ सय ४५ अंकले घटेको नेप्से बुधबार १ सय ८ र बिहीबार करिब ७ अंकले बढेको थियो ।
प्रकाशित : श्रावण २८, २०८१ ०५:३७