गाईघाट–दिक्तेल सडक अलपत्र पार्ने ५ कम्पनी कालोसूचीमा
Highlights
- भारत कन्स्ट्रक्सन पीपीसीएल र सिद्धि साई प्रकाश कन्स्ट्रक्सनलाई तीन वर्ष कालोसूचीमा
- देवनारायण पवन कन्स्ट्रक्सन प्रालि, मैनाचुली निर्माण सेवा प्रालि र खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई दुई वर्ष
खोटाङ — सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) अलपत्र पार्ने दुई भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय, बबरमहलले गाईघाट–दिक्तेल सडकको तीन सडक खण्ड निर्माणमा संलग्न कम्पनीलाई कालोसूचीमा राखेको हो ।
यही साउन २४ मा प्रकाशित सूचनाअनुसार साउन २५ देखि लागू हुने गरी भारत कन्स्ट्रक्सन पीपीसीएल हरिद्वार बाइपास, देहरादून भारत र सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी काठमाडौंलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । देवनारायण पवन कन्स्ट्रक्सन प्रालि, मुलीगन्ज मधेपुरा बिहार भारत, मैनाचुली निर्माण सेवा प्रालि भद्रपुर–४ झापा र खम्पाचे शेर्पा निर्माण सेवा प्रालि, काठमाडौंलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।
देवनारायण जेभीले गाईघाट–दिक्तेल सडकअन्तर्गत खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किमि) सडक करिब ४९ करोड लागतमा ०७७ साउन १० भित्र सक्ने गरी ०७३ साउन ११ मा सम्झौता गरेर काम थालेको थियो । तर उक्त निर्माण कम्पनीको प्रगति भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत मात्र देखिन्छ । उक्त निर्माण कम्पनीले काम अलपत्र पारेपछि ०७९ भदौमा ठेक्का तोडिएको थियो । निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै ०८० असोजमा फैसला सुनाएको थियो ।
फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणको कामका लागि ठेक्का लिएको मैनाचुली–सिद्धि साई–प्रकाश जेभीले करिब ११ करोड लागतमा ०७७ साउन १० भित्र सक्ने गरी ०७३ साउन ११ मा सम्झौता गरेर काम थाले पनि अलपत्र पारेपछि ०७९ भदौमा ठेक्का तोडिएको थियो । उक्त निर्माण कम्पनीको काम ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ ।
ठेक्का तोडिएपछि निर्माण कम्पनीले उच्च अदालत, पाटनमा ठेक्का तोड्ने निर्णयविरुद्ध अन्तरिम आदेशका लागि गरेको मागमा विभागको निर्णयलाई सदर गर्दै ०८० असोजमै फैसला सुनाएको थियो । भारत कन्स्ट्रक्सन–सिद्धि साई जेभीले सिम्पानी–महुरे (२२ किमि) सडक निर्माणको ठेक्का ०७७ असार ३० भित्र सक्ने गरी लिए पनि काम अलपत्र छाडेर हिँडेपछि गत माघ २९ मा ठेक्का तोडिएको थियो ।
करिब ४६ करोड लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत गाईघाट–दिक्तेल सडक आयोजना, गाईघाटका इन्जिनियर नारायण थापाले जनाए । ०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको गाईघाट–दिक्तेल सडक अझै पूरा भएको छैन । बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।
प्रकाशित : श्रावण २८, २०८१ ०५:३६