काठमाडौँ — मनसुन सक्रिय भएसँगै साढे १३ लाख हेक्टरमा धान रोपाइँ भएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ९६.३ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकभर १४ लाख १ हजार २ सय ७३.७३ हेक्टरमा रोपाइँ हुन्छ । साउन २० गतेसम्म १३ लाख ४९ हजार ६ सय ७.४ हेक्टरमा धान रोपाइँ भएको हो ।
२०८० साउन १९ सम्म ८१.८ प्रतिशत मात्रै रोपाइँ भएको थियो । ‘गत वर्षको तुलनमा रोपाइँको अवस्था राम्रो छ । रोपाइँ बढ्नुको कारण सहज रूपमा पानीको उपलब्धता हो,’ मन्त्रालयका प्रबक्ता हरिबहादुर केसीले भने, ‘यसपालि वर्षा राम्रो भयो । रोपाइँ पनि राम्रो भएको छ ।’ अबको एक सातामा शतप्रतिशत रोपाइँ हुन्छ । शतप्रतिशत रोपाइँ हुँदा धान उत्पादन पनि बढ्ने मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । अहिले उत्पादन थप बढ्न सक्ने मन्त्रालयको बुझाइ छ ।
मन्त्रालयका विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भइसकेको छ । २०८० असान १९ सम्म ९९.२ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसपश्चात कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष साउन १९ सम्म कर्णालीमा ९६.३ प्रतिशत रोपाइँ भएको थियो ।
अन्य प्रदेशमा पनि ९५ प्रतिशत बढी रोपाइँ भइसकेको छ । धान उत्पादनको राजधानी मानिने मधेश प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी धान रोपाइँ मधेशमा हुन्छ । यहा ३ लाख ८६ हजार १ सय ५० हेक्टरमा रोपाइँ हुन्छ । साउन २० सम्म ३ लाख ६८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ भइसकेको छ ।
गत वर्ष साउन १९ सम्म भने ६०.४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मधेशपछि धेरै रोपाइँ लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा हुन्छ । यहाँ ९६.७ प्रतिशत अर्थात ३ लाख १ हजार ४ सय ९८ हेक्टरमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ सम्म भने ८६.३ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
तेस्रो धेरै रोपाइँ हुने प्रदेश कोशी हो । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा धान रोपाइँ हुन्छ । मन्त्रालयका अनुसार ९५ प्रतिशत अर्थात २ लाख ६२ हजार ६ सय ४ हेक्टरमा रोपाइँ भएको छ । गत साउन १९सम्म ९०.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । ‘धान रोपाइँ र उत्पादन हुने मुख्य तीन प्रदेशको अवस्था विश्लेषण गर्दा रोपाइँ उत्साहजनक छ । मलखादको अवस्था पनि सहज नै छ । प्राकृतिक विपत्ति, रोगकिरा नलागे उत्पादन बढ्छ नै,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान नै हो । तर कति उत्पादन बढ्छ भन्ने अहिले नै भन्न सक्दैनौँ ।’
मन्त्रायका अनुसार वाग्गती प्रदेशमा १ लाख १४ हजार ५ सय ६१ हेक्टरमा रोपाइँ हुन्छ । वाग्मतीमा ९४.९ प्रतिशत अर्थात १ लाख ८ हजार ७ सय ७२ हेक्टरमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ सम्म भने ८०.१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । त्यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ । गण्डकीमा ९६.१ प्रतिशत रोपाइँ भइसकेको छ ।
गत वर्ष यही अवधिमा ८८.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मन्त्रालयले उत्पादन बढ्ने अनुमान गरिरहँदा धान चामल आयातको अवस्था पनि भयावह नै छ । कृषिप्रधान देश भनिएपनि अर्बो रुपैयाँको धान चामल आयात भएको छ । भन्सार विभागको अनुसार गत आर्थिक बर्ष २०८०/८१ मा २१ अर्ब ५ करोडको धान, ८८ करोडको धानको बीउ र ९ अर्ब २८ करोड रुपैयाँको चामल आयात भएको छ ।