कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एक वर्षमा बैंकहरूको नाफा ६४ अर्ब, १० को बढ्यो, १० को घट्यो

श्रावण २२, २०८१
एक वर्षमा बैंकहरूको नाफा ६४ अर्ब, १० को बढ्यो, १० को घट्यो

Highlights

  • नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेस्ट, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नाफा बढाए
  • गत आर्थिक वर्षमा नाफा घट्ने बैंकहरूमा माछापुच्छ्रे, सिटिजन्स, एनआईसी एसिया, नेपाल बैंक, एनएमबी, सानिमा, सिद्धार्थ, स्ट्यार्न्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक छन्

काठमाडौँ — शिथिल अर्थतन्त्रका कारण बजार माग नहुँदा लक्ष्यको आधा मात्र कर्जा विस्तार भएको वर्ष पनि वाणिज्य बैंकहरूले कुल ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको नाफा औसत १३.४० प्रतिशतले बढेको सोमबार बैंकहरूले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षको सुरुदेखि नै बैंकहरूले चाहेअनुसार कर्जा दिन सकेनन् । सबै महिना बैंकहरू अधिक तरलताको अवस्थामा बस्नुपर्‍यो । निक्षेप मात्र बढ्ने तर कर्जा वृद्धि हुन नसक्दा बैंकहरूको लागत बढ्ने भएकाले नाफा प्रभावित हुन्छ । आर्थिक गतिविधि चलायमान बन्न नसक्दा बैंकहरूले चाहेर पनि राम्रो व्यवसाय गर्न सकेनन् । बरु परिस्थितिजन्य कारणले ऋणीले भुक्तानी क्षमता नहुँदा बैंकलाई कर्जा असुलीमा समस्या भयो भने खराब कर्जा पनि बढ्यो । एकातिर खराब कर्जा बढ्यो अर्कोतिर कसिलो नियमनकारी व्यवस्थाका कारण अपेक्षित रुपमा ब्याज आम्दानी बढ्न सकेन । यसरी अर्थतन्त्रमा देखिएको शिथिलताको प्रत्यक्ष प्रभाव बैंकहरूको नाफामा परेको जानकार बताउँछन् ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकामा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ । ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर कर्जा मागमा अपेक्षित सुधार नहुँदा नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् ।

‘बैकिङ क्षेत्रका लागि गत वर्ष निकै चुनौतीपूर्ण थियो, करिब ६ प्रतिशत मात्र कर्जा विस्तार भयो, वर्षभर अधिक तरलता लिएर बस्नुपर्‍यो, खराब कर्जा पनि लगातार बढिरहेको थियो । सबैतिरबाट दबाब थियो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘यस्तो अवस्थामा पनि चौथो त्रैमासमा बैंकहरूको खराब कर्जा अनुमान अड्कल गरिएअनुसार बढेन । औसतमा बैंकहरूको खुद नाफा साढे १२ प्रतिशतले बढेको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।’

अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटा बैंकको नाफा घटे पनि १० वटाको बढेको छ, औसतमा १० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने अवस्थामा बैंकहरू रहेको केसीले बताए । ‘अघिल्लो वर्ष खराब कर्जाको नोक्सानी व्यवस्थाबापत ४६ अर्ब छुट्याउनुपरेको थियो, अहिले त्यो घटेर ३६ अर्बमा आएको छ । १६ वटा बैंकको वितरणयोग्य नाफा सकारात्मक छ,’ उनले भने, ‘६ महिनाअघि वितरणयोग्य नाफाको अवस्था राम्रो थिएन ।’

गत आर्थिक वर्षमा नाफा घट्ने बैंकहरूमा माछापुच्छ्रे, सिटिजन्स, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यार्न्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाािण्ज्य बैंक छन् । बाँकी नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेस्ट, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नाफा बढाएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ । सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापुच्छ्रे देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ । बैंकहरूको विवरण हेर्दा व्यवसाय गरेरै राम्रो कार्यसम्पादन गर्ने बैंक निकै कम छन् । कुनैको नाफा नोक्सानी व्यवस्था कम भएर (कर्जा असुली भएकाले) भएर सुधार भएको देखिन्छ । राम्रो कर्जा असुली नभएका बैंकको नाफामा भने अपेक्षित सुधार देखिएको छैन ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको वितरणयोग्य नाफा पनि उल्लेख्य घटेको छ भने सम्पत्तिमाथिको प्रतिफल (आरओई) पनि निकै कमी आएको छ । खासगरी अर्थतन्त्र शिथिल हुँदा आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले बैंकहरूको नाफा प्रभावित भएको जानकार बताउँछन् ।

अर्थतन्त्रमा समग्र माग घटेको, कर्जा प्रवाह हुन नसकेको जस्तो अप्ठ्यारो अवस्थामा बैंकको वित्तीय विवरण धेरै नराम्रो आउने अनुमान भइसकेको बेला तुलनात्मक रुपमा ठिकै नतिजा आएको बैंकिङविज्ञ परशुराम कुँवर क्षेत्रीले बताए । ‘गत वर्ष समग्रमा बैंकहरूको नोक्सानी व्यवस्था २६.४५ प्रतिशतले घटेको छ । गैरबैंकिङ आय (शुल्कबाट प्राप्त आम्दानी) १५.५२ प्रतिशतले बढेको छ भने सञ्चालन लागत १५ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा १० वटाको नाफा घट्दा पनि अघिल्लो वर्षभन्दा औसतमा १३.४ प्रतिशतले खुद नाफा बढेको छ ।’ कसिलो नियमन व्यवस्थाका कारण शुद्ध ब्याज आय औसत ३.२६ प्रतिशतले घटेको कुँवरको भनाइ छ ।

‘राजस्व र पुँजीगत खर्च बढ्न नसकेर समग्र सरकारी वित्तको अवस्था कमजोर छ । यही कारण बजार माग बढ्न सकेको छैन । माग नबढेकै कारण कर्जा विस्तार धेरै नभएको हो । यस्तो जटिल अवस्थामा पनि बैंकको वित्तीय विवरण धेरै नबिग्रिनुमा सन्तोष मान्नुपर्छ,’ उनले भने, ‘सोचेभन्दा राम्रो नतिजा छ । यो भन्दा खराब हुन्छ भन्ठानेको थिएँ ।’

बैंकहरूको वित्तीय विवरणले उनीहरूको लाभांश दिने क्षमतामा सुधार भए पनि धेरैजसोको लाभांश क्षमता कमजोर नै देखिन्छ । लाभांश दिन सक्ने बैंकको यस्तो क्षमता एक प्रतिशतदेखि २९ प्रतिशतसम्म छ । बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउन अन्त्यसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । साउनको मध्य कटिसकेपछि बैंकहरूले अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेकाले लगभग उठ्न सक्ने ब्याज आइसकेको जानकार बताउँछन् ।

पछिल्ला केही महिनायता अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले जनाए । ‘गत वर्षको चौथो त्रैमासमा बैंकहरूको नाफा, खराब कर्जा र गैर–बैंकिङ सम्पत्ति बढेको छ भने सम्पत्तिमाथिको प्रतिफल घटेको छ,’ उनले भने, ‘समग्रमा अर्थतन्त्रमा सुस्तता छ भन्ने बैंकहरूको वित्तीय विवरणमा प्रत्यक्ष देखिएको छ ।’

वित्तीय बैंकहरूको अवस्था राम्रो नभए पनि नयाँ सरकार बनेसँगै राजनीतिक स्थिरता कायम भएर आर्थिक गतिविधि बढे वित्तीय क्षेत्रमा पनि राम्रो सुधार हुने उनको भनाइ छ । ‘राजनीतिक स्थिरताको संकेत देखिएपछि निजी क्षेत्रले पनि आत्मविश्वास बढ्यो भन्न थालेको छ,’ उनले थपे ।

बैंकहरूको मुख्य व्यवसायबाट हुने खुद ब्याज आम्दानीमा सामान्य सुधार भए पनि नोक्सानीबापतको प्रावधान रकम २६ प्रतिशतले घटेपछि केही बैंकको नाफामा सुधार भएको हो । बैंकहरूको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । यसअघि यस्तो आम्दानी एक खर्ब ८५ अर्ब रुपैयाँ थियो । बैंकहरूको औसतमा खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा औसतमा वर्षको अन्तिममा खराब कर्जामा केही सुधार भएको हो ।

प्रकाशित : श्रावण २२, २०८१ ०७:३९
x
×