काठमाडौँ — पछिल्लो तीन सातादेखि नेपाली सेयर बजार निरन्तरजसो उकालो लागिरहेको छ । उक्त अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७ सय अंकले बढ्नुले पनि यसको पुष्टि हुन्छ ।
नेपाली सेयर बजार लगातार उकालो लागिरहँदा विश्व बजारमा एसियाली सेयर बजार भने उच्च अंकले ओरालो लागिरहेको छ । के कारणले यस्तो अवस्था आयो त ? विश्व बजारमा अमेरिका, युरोपलगायत क्षेत्रको सेयर बजार उकालो लागिरहँदा दक्षिण एसियाली बजार किन बढ्न सकेन ?
अहिले एसिया क्षेत्रका प्रमुख सेयर बजारले पनि मासिक र वार्षिक रूपमा मात्र नभएर दैनिक रुपमा उच्च गिरावटको मार खेपिरहेका छन् । यो क्रमले अझै निरन्तरता पाउने देखिएको छ । जसअनुसार सोमबार दिउँसो (नेपाली समय) सम्म जापानको ‘निक्केई’ १२ प्रतिशत घटेको छ भने मासिक २३.११ प्रतिशत र वार्षिक रूपमा २.२८ प्रतिशत घटेको छ ।
हङकङको ‘हेङसेङ’ २४७ अंक (१.४६ प्रतिशत) घटेको छ । मासिक रूपमा यो सूचक ६.३२ र वार्षिक रुपमा १४.६६ प्रतिशतले घटेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । यस्तै, चीनको ‘सांघाई कम्पोजिट’ झण्डै ३ सय अंक (३.७० प्रतिशत)ले घटेको छ भने मासिक रुपमा २.२१ प्रतिशत ऋणात्मक देखिन्छ । तर, वार्षिक रुपमा पनि यो सूचकांक ४.४३ प्रतिशतले बढेको छ ।
यस्तै, यो अवधिमा भारत, श्रीलंकाको सेयर बजारमा पनि भारी गिरावट आएको छ । खासगरी पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा दक्षिण एसियाली देशका मुद्राको विनिमय दरमा कमी आएकाले त्यसको असर सेयर बजारमा पनि देखिएको बताइएको छ ।