काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएका छन् । मन्त्रीले हटाएका सदस्यहरूलाई सञ्चालक समितिले भने बैठकमा बोलाएको छ ।
शुक्रबार नै मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको लाइन नजोड्ने अडान लिएका सञ्चालक समिति सदस्यद्वय पुन र आचार्यलाई पदबाट हटाउने निर्णय गरेका थिए ।
अर्कोतर्फ, नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहेका सञ्चालक समितिका सदस्यसचिव रहेका कुलमान घिसिङले आइतबार साढे ४ बजे बैठकका लागि पुन र आचार्यलाई पनि बोलाएका छन् ।
शुक्रबार भएको निर्णयको औपचारिक जानकारी सञ्चालक समितिलाई नभएको भन्दै बैठक बस्न लागेको प्राधिकरण स्रोतले जानकारी दियो ।
सञ्चालक समिति सदस्यद्वय पुन र आचार्यलाई इमेल गरेर हटाइएको जानकारी गराइएको थियो । नियमित एजेन्डाबारे छलफल गर्नका लागि सञ्चालक समिति बैठक बोलाइएको र म्यासेज तथा इमेलबाट आफूहरूलाई बैठकमा सहभागी हुन भनी पत्र आएको आचार्यले जानकारी दिए ।
आइतबारका लागि बोलाइको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकको सूचना :
प्रकाशित : श्रावण २०, २०८१ १५:३१