वीरगन्जका थप १० सहकारी समस्याग्रस्त
Highlights
- सानो पाइलो सहकारीका सञ्चालक फरार भएपछि जिल्लाका अन्य सहकारीउपर पनि निगरानी बढाउँदा देखियो बेथिति
पर्सा — वीरगन्जका थप १० सहकारी संस्था समस्याग्रस्त बनेका छन् । सानो पाइलो सहकारी संस्थाका सञ्चालक बचतकर्ताको ठूलो रकम लिएर फरार भएपछि जिल्लाका अन्य सहकारीउपर पनि निगरानी बढाउँदा यस्तो बेथिति फेला परेको वीरगन्ज महानगरपालिका, आर्थिक महाशाखाअन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जनाएको छ ।
‘वीरगन्जकै करिब १० सहकारी समस्याग्रस्त पाइएका छन्,’ महाशाखा प्रमुख इन्जिनियर सुनील कर्णले भने, ‘तत्काललाई तिनको नाम खुलाउन मिल्दैन, ती सहकारी हाल नियमनको दायरामा छन्, बचतकर्ताले आफ्नो रकम पाऊन् भन्ने हाम्रो प्रयास जारी छ ।’
तीमध्ये केही सहकारी सञ्चालक कार्यालयको निर्देशन मान्दै आफ्नो कारोबारमा रहेका त्रुटि सच्याउन प्रयासरतसमेत रहेको कर्णले बताए । सानो पाइला सहकारी संस्थामा भएको अपचलनबारे सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा आफ्नो भनाइ राखेर हालै आफू फर्किएको पनि उनले जनाए ।
समितिले सानो पाइलाका सम्बन्धमा जानकारी लिन बोलाएपछि साउन ४ मा आफैं समितिको बैठकमा पुगेर आवश्यक जानकारी दिएर आएको उनले बताए । सानो पाइलाले वीरगन्जबाट संकलन गरेको १ अर्ब ३५ करोड रुपैयाँमध्ये करिब ९३ करोड रुपैयाँ वीरगन्जबाहिरका ७५ जनालाई ऋणस्वरूप दिएको थियो ।
जीबी राई समूहको सहकारीलाई पहिलो कारबाही प्रक्रिया वीरगन्जबाटै सुरु भएको पनि समितिलाई जानकारी गराइएको कर्णको भनाइ छ । ‘०८० भदौ ४ मा सानो पाइलालाई समस्याग्रस्त घोषणा गरिएको थियो, त्यसपछि छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जलाई पत्राचार गरिएको थियो,’ उनले भने, ‘हामीले नेपाल राष्ट्र बैंक, टंगाललाई उक्त सहकारीको सञ्चालक समितिका पदाधिकारी तथा प्रबन्धकको खाता रोक्का गर्न उनीहरूको तीनपुस्ते खुलाई पत्राचारसमेत गरेका थियौं ।’
त्यसपछि संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरी उनीहरूको नाममा रहेको जग्गा–जमिन रोक्का गर्न आग्रह गरिएको पनि उनले बताए । ‘यसपछि नै सीआईबीले पर्सा प्रहरीलाई सानो पाइलाबारे अनुसन्धान थाल्ने जिम्मेवारी दिएको हो,’ कर्णले भने, ‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै मन्त्रालयले पनि जग्गा–जमिन रोक्का गरेको हो ।’ हाल सानो पाइलोका पदाधिकारी फरार छन् र उनीहरू प्रहरीको खोजी सूचीमा छन् ।
प्रकाशित : श्रावण २०, २०८१ ०५:५१