हात्तीले दुःख दिएपछि बेसार खेती
Highlights
- वन्यजन्तुबाट अन्य बालीनाली जोगाउन धौधौ परेपछि कैलाशी र वरपरका किसानले पछिल्लो समय वैकल्पिक खेतीका रूपमा बेसार लगाउन थालेका छन्, जुन किसानका लागि आर्थिक उपार्जनको गतिलो माध्यम बनेको छ
बर्दिया — बर्दियाको मधुवन–१ कैलाशीमा जस्ताले छाएको एउटा सानो कार्यालय छ । कार्यालयभित्र तीन कोठा छन् । एउटामा बेसार प्रशोधन गर्न मेसिन छ भने अर्कोमा प्याकेजिङ गरिन्छ । अर्को कोठामा किसानसँग किनेको बेसार राखिन्छ । टहराको भित्तामा लेखिएको छ, ‘हात्ती बेसार ।’
बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट अन्य बालीनाली जोगाउन धौधौ परेपछि कैलाशी र वरपरका किसानले पछिल्लो समय वैकल्पिक खेतीका रूपमा बेसार लगाउन थालेका हुन् । यहाँ सहारा कृषक समूहले हलेदो संकलन र बेसार प्रशोधन केन्द्र चलाउँदै आएको छ । त्यही केन्द्रले उत्पादन गर्दै आएको छ, ‘हात्ती बेसार’ ।
‘धान, तोरी, गहुँ र मकै लगाउँदा सधैं हात्ती र गैंडाले खाने कि विनाश गरिदिने, बाली भित्र्याउने समयमा केही बाँकी रहँदैनथ्यो,’ समूहकी सदस्य ३० वर्षीय धनकुमारी परियार भन्छिन्, ‘त्यसपछि दुई कट्ठा जग्गामा बेसार लगाउन थालें ।’ जनावरको आतंकपछि के गर्ने भनेर चिन्तित उनीहरूलाई विभिन्न संस्थाबाट निःशुल्क बीउबिजन प्राप्त भयो । अनि बेसार खेती सुरु भयो । बेसारलाई हात्तीले नखाने र नोक्सान पनि नगर्ने परियारले बताइन् । उनीजस्तै बर्दियाको ठाकुरद्वारा नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका किसानले बेसार खेती गर्दै आएका छन् ।
‘बेसार खेती गरेदेखि वार्षिक करिब १७ हजार रुपैयाँ आम्दानी गर्न थालेका छौं,’ उनले भनिन् । स्थानीय किसानबाट जम्मा भएको बेसारलाई सहारा कृषक समूहले प्रशोधन गर्दै बजारमा पुर्याउने काम गर्छ । समूहका अध्यक्ष हुन्, नयाँराम सुनुवार । समूहमा ९४ जना किसान छन्, जो निकुञ्जको वरिपरि बसोबास गर्छन् । ९४ मध्ये ४० जनाले बेसार खेती गरेका छन् । १५ कृषक प्रशोधित बेसारलाई प्याकेजिङ गर्न व्यस्त हुन्छन् ।
वैकल्पिक खेतीका रूपमा गरिएको बेसार अहिले स्थानीयको आर्थिक उपार्जनको गतिलो माध्यम बनेको अध्यक्ष सुनुवार मान्छन् । अहिले समूहमार्फत किसानलाई बेसार खेतीमा प्रोत्साहित गर्ने, उत्पादित बेसार केन्द्रमा ल्याएर बेच्ने र प्रशोधन गरेर बजार पुर्याउँदै काम आएको उनले जानकारी दिए । ‘पहिला र अहिलेमा धेरै फरक छ । मकै र धान लगाउने तर भित्र्याउने बेलामा हात्तीले नोक्सानी गरेर केही हुँदैन थियो । अहिले किसानले ५ कट्ठासम्ममा बेसार लगाउँछन्,’ उनले भने, ‘जहाँ–जहाँ वन्यजन्तुले अन्य खाद्यान्न उत्पादनमा समस्या दिन्छ, त्यहाँ बेसार लगाएका छौं । अहिले हात्ती आए पनि बालीलाई केही भएको छैन ।’
सुरुवातमा बेसार बजारमा पुर्याउन सहज थिएन । बजारमा सिधै खरिद हुन गाह्रो हुने र बेच्दा पनि मूल्य नआउने भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को प्राविधिक सहयोगमा दुई लाख रुपैयाँको मेसिन किनिएको सुनुवारले जानकारी दिए । मेसिनबाट प्याकेजिङ गरेर बजारमा पुर्याउन थालिएको सुनुवारले बताए ।
एनटीएनसी बर्दियाका प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेलले सुरुआतमा आफूहरूले स्थानीयले हात्तीलगायत वन्यजन्तुबाट पाएको पीडा थाहा पाएपछि प्राविधिक सहयोग गरेको उल्लेख गरे । ‘किसानको उत्पादन अहिले स्थानीय बजार, होटल र डिलरहरूमा पुर्याइएको छ । नेपालगन्ज, गुलरिया तथा पोखरासम्म निकासी हुने गरेको छ,’ उनले भने । बर्दिया, बाँकेसहित लुम्बिनीका विभिन्न बजार, कर्णालीको सुर्खेत, सुदूरपश्चिमसम्म हात्ती बेसार निकासी हुने गरेको उनले बताए । वनको सीमा क्षेत्रमा रहेको जग्गामा बेसार जस्ता वैकल्पिक खेती गर्नु उपयुक्त भएको उनको भनाइ छ ।
केन्द्रले प्रशोधन गरेर २५० ग्राम, आधा केजी, एक केजीको प्याकेजमा बेच्ने गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार प्रशोधित एक केजी बेसारलाई ३०० रुपैयाँ पर्छ । ‘बजारमा किसानहरूलाई एक केजी बेसारको २० रुपैयाँ दिने गरिएको छ, हामीले दुई रुपैयाँ बढी दिएर २२ रुपैयाँमा खरिद गर्दै आएका छन्,’ उनले भने । माघदेखि जेठसम्म बेसार लगाइन्छ । पानीको अवस्था हेरेर खेती गरिन्छ । यसलाई वैकल्पिक खेतीका रूपमा पनि लिएको सुनुवारले बताए । उनका अनुसार समूहले वार्षिक करिब ६ सय क्विन्टल बेसार उत्पादन गरी बिक्री गर्दै आएको छ ।
प्रकाशित : श्रावण १४, २०८१ ०६:३८