कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उडान अनुमति नै नपाएको अस्ट्रेलियामा कर्मचारी सरुवा

सुरज कुँवर

काठमाडौँ — युरोपियन युनियन (ईयू) ले नेपाली वायुसेवालाई कालोसूचीमा राखेका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–सिड्नी उडान अझै सुनिश्चित भइसकेको छैन । तर, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुन विपरीत सातौं तहकी वरिष्ठ लेखा अधिकृत कर्मचारी विपुला बराललाई अस्ट्रेलिया सरुवा गरिदिएका छन् ।

उडान अनुमति नै नपाएको अस्ट्रेलियामा कर्मचारी सरुवा

अधिकृत बराललाई अस्ट्रेलिया पठाउने निर्णय औचित्यहीन भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यकारी अध्यक्षविरुद्ध उजुरी परेको छ ।

निगमको मानव स्रोत विभागका अनुसार विदेशमा कर्मचारी पोस्टिङ गर्ने कार्यविधि अनुसार कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी रहेका निगमका छैटौं, सातौं र आठ तहका कर्मचारी विदेशका स्टेसनका लागि योग्य मानिन्छन् । लेखा अधिकृत बराल अर्को वर्ष असारमा उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले यो कार्यविधि अनुसार उनलाई विदेश स्टेसनमा पठाउन मिल्दैन । ‘अधिकृत बराल ०८४ असार १८ मा उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अध्यक्ष अधिकारीले सदाशयता देखाएर पठाउनुभयो,’ निगमका एक उपनिर्देशकले भने ।

बराल असार १७ मै अस्ट्रेलियाका लागि उडिसकेकी छिन् । बरालले हवाई टिकटसँगै दैनिक १ सय ४० डलर भत्तासमेत पाउने छिन् । निगमको प्रशासन विभागका एक वरिष्ठ अधिकृतका अनुसार निगमले विदेशमा रहेका १० वटा स्टेसनमा कर्मचारी सरुवा गर्दा हरेक आर्थिक वर्षको साउन १५ मा स्टेसनको नामै तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीको नामावली प्रकाशन गर्नुपर्ने नियम छ । तीमध्येबाट आन्तरिक मूल्यांकन र अन्तर्वार्ताबाट अन्तिम नामावली सार्वजनिक गर्नुपर्छ । तर, कार्यकारी अध्यक्षले बराललाई सरुवा गर्दा उक्त प्रावधान लत्याउँदै सरुवा गरेको कर्मचारीको आरोप छ । ‘साउन १५ को नियममा टेक्दा बरालको योग्यता नै नपुग्ने, कानुनी अल्झन हुने भएकाले एक महिनाअघि नै पठाइयो,’ ती अधिकृतले भने ।

‘उनीसँग त्यहाँको भिसा थियो । उडान अनुमति नै नदिएको देशमा उनलाई कागजमा स्टेसन संचालन गर्ने अख्तियारी दिएर पठाइयो,’ निगमको उच्च स्रोतले भन्यो, ‘तर, खासमा उनी निजी भ्रमणमा गएकी हुन् जस्तो छ ।’

अध्यक्ष अधिकारीको यो निर्णयपछि विदेश स्टेसन जान योग्यता पुगेका कर्मचारी रुष्ट भएका छन् । र, उक्त निर्णयविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ । ‘उच्च तहका कर्मचारीहरूले प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय र अख्तियारमा जेठ २९ मै सामूहिक उजुरी दिएको बताएका छन् । यस विषयमा हामी पनि सोधपुछ गरिरहेका छौं,’ अख्तियार स्रोतले भन्यो ।

लेखा अधिकृत बराललाई अस्ट्रेलिया पठाइएको विषयमा तालुक मन्त्रालयले औपचारिक जानकारी नभएको जनाएको छ । यस विषयमा पर्यटन मन्त्रालयलाई औपचारिक जानकारी नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले कान्तिपुरलाई बताए । ‘मन्त्रालयलाई औपचारिक जानकारी आएको छैन,’ उनले भने, ‘एक जना महिला कर्मचारीलाई अस्ट्रेलिया पठाएको सुनेपछि कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।’

उडान अनुमति नै नआई आफू निकट कर्मचारीलाई अस्ट्रेलिया पठाउने निर्णय कसरी सम्भव भयो भनी कार्यकारी अध्यक्ष अधिकारीलाई सोध्दा उनले जवाफ दिन चाहेनन् । उता अस्ट्रेलिया पुगेकी बरालले आफू पारिवारिक कामले भन्दा पनि निगमको स्टेसन सञ्चालन गर्न आएको दाबी गरिन् ।

प्रकाशित : असार २६, २०८१ २३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×