कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आयोजनालाई बजेट छुट्याइन्छ, काम अघि बढ्दैन

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फ्लाइओभर, अन्डरपास, सडक विस्तारका लागि वर्षेनि बजेट छुट्याइए पनि काम सुरु गर्न नै अलमल
विमल खतिवडा

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने उल्लेख गरेको थियो । हालसम्म ग्वार्कोबाहेक अन्यत्र काम सुरु हुन सकेको छैन । केही वर्षयताको बजेटमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने उल्लेख हुँदै आएको पनि छ ।

आयोजनालाई बजेट छुट्याइन्छ, काम अघि बढ्दैन

तर परियोजना अध्ययनको सबै काम टुंगिए पनि स्रोत सुनिश्चितता नहुँदा थप प्रक्रिया अघि बढ्न नसकेको हो ।

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्य यी तीन स्थानमा फ्लाइओभर निर्माण नहुँदासम्म ट्राफिक जामको समस्या भइरहने बताउछन् । ‘कोटेश्वरदेखि कलंकी सडकअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुना खण्डमा बढी ट्राफिक जाम हुन्छ,’ उनले भने, ‘यसलाई कम गर्ने उद्देश्यले फ्लाईओभर, अन्डरपासको अवधारणा ल्याइएको हो, तर ग्वार्कोमा काम भए पनि अन्य दुई स्थानमा निर्माण सुरु हुन सकेको छैन ।’

चालु आर्थिक वर्षमा ग्वार्कोसहित सातदोवाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्न भन्दै १२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । स्रोत सुनिश्चितता मागेर ठेक्का गर्न भन्दै गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अर्थ मन्त्रालय पठायो । तर एक वर्ष बित्यो, दुई स्थानमा फ्लाइओभर निर्माण गर्न अर्थले स्रोत सुनिश्चितता नै दिएन ।

आगामी आव ०८१/८२ मा निर्माणमा जाने भन्दै ग्वार्को, सातदोबाटो र एकान्तकुना फ्लाइओभरका लागि ८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘उक्त विनियोजित रकम मोभिलाइजेसन दिन मात्र पुग्छ, स्रोत सुनिश्चितता नभई ठेक्का गर्न मिल्दैन,’ उनले भने, ‘दुवै खण्डको ठेक्का गर्न एक अर्ब बढी लाग्छ ।’ आगामी आर्थिक वर्षका लागि फेरि स्रोत सुनिश्चितता माग गर्नुपर्ने उनको भनाइ छ ।

सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने भन्दै अध्ययन सकिसकेको छ । अध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुने छ । निर्माण लागत ७२ करोड रुपैयाँ छ । अन्डरपास चार लेनको हुनेछ । एकान्तकुनामा पनि अन्डरपास नै निर्माण गर्नेगरी अध्ययन गरिएको छ, जसको दूरी ३ सय मिटर हुनेछ । निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवै खण्डको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने निर्देशक शाक्यले बताए । ‘अहिले अध्ययनमा अन्डरपास निर्माण गर्ने उल्लेख छ, यसको विकल्पमा फ्लाइओभर वा ओभरपास पनि बनाउन सकिने छ,’ उनले भने ।

चालु आवमा नयाँबानेश्वरमा अन्डरपास निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको थियो । तर, काम सुरु हुन सकेको छैन । आगामी आवका लागि पनि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘यसको अध्ययन भइसकेको छ,’ निर्देशक शाक्यले भने, ‘स्रोत सुनिश्चितता नहुँदा थप काम अघि बढेको छैन ।’

दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्का दिइएको ग्वार्को फ्लाईओभरको काम अझै सकिएको छैन । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकिएको आयोजनाको भनाइ छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । ईपीसी मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माण ठेक्का लिएको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

साउनदेखि फ्लाइओभरमार्फत सवारीसाधन चलाउने लक्ष्य भए पनि पानी परेर ग्वार्कोमा काम गर्न समस्या भएको शाक्यले बताए । ‘हिलो भएर काम गर्न सकिएको छैन,’ उनले भने, ‘पानी रोकिए एक साताभित्र माटो फिलिङको काम सकिनेछ, त्यसपछि कालोपत्र मात्र बाँकी रहनेछ ।’ पानी रोकिए साउन अन्तिमसम्म काम सकिने उनको भनाइ छ । निर्धारित ०८० फागुन १२ भित्र काम नसकिएपछि आगामी पुस सम्मका लागि म्याद थप गरिएको छ । अहिलेसम्म ग्वार्को फ्लाइओभरको भौतिक प्रगति ८० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

त्यस्तै चक्रपथ दोस्रो (कलंकी–बसुन्धरा) खण्ड विस्तार गर्ने भनेको ६ वर्षभन्दा बढी भइसकेको छ । काठमाडौंको विभिन्न क्षेत्रबाट निर्वाचित सांसदले सडकदेखि सदनसम्म यसबारे आवाज उठाए पनि सरकारले थप प्रक्रिया अघि बढाएको छैन । चालु आवमा चक्रपथ विस्तारअन्तर्गत नै तीनकुने–सिनामंगल–गौशालाका लागि ३७ लाख ५० हजार र गौशाला–महाराजगञ्ज सडकका लागि ४ करोड ८७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिए पनि काम भएन । आगामी आवदेखि निर्माण प्रक्रिया अगाडि बढाइने भएकाले बजेट व्यवस्थापन गरिएको सडक विभागले जनायो ।

तीनकुने–सिनामंगल–गौशाला सडकका लागि ३० करोड र धोबीखोला–महाराजगञ्ज खण्डकालागि २५ करोड रुपैयाँ आगामी आवका लागि विनियोजन गरिएको छ । यी दुई खण्डमा काम गर्न चीनले धेरै ढिला गरेका कारण नेपाल सरकार आफैंले बनाउनेगरी बजेटमा राखिएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए । ‘चक्रपथ दोस्रो खण्ड कलंकी–बसुन्धराको काम चीनबाटै हुने छ,’ उनले भने, ‘त्यो बाहेक चक्रपथ विस्तारको बाँकी खण्डको काम नेपाल सरकार आफैंले गर्ने छ ।’ आगामी आवदेखि निर्माणमा जानेगरी प्रक्रिया थालिने उनको भनाइ छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र सुरुङ निर्माण गर्ने भनिए पनि थप प्रक्रिया अघि बढ्न सकेको छैन । जापान र नेपाल सरकारबीच ऋण सम्झौता भएपछि काम अघि बढ्ने जैसीले बताए । ‘यसलाई बजेटमै राखिसकिएको छ,’ उनले भने, ‘आगामी आवमा परामर्शदाता छनोट गरेर निर्माणको प्रक्रिया अघि बढाइनेछ ।’ यस क्षेत्रमा ट्राफिक जाम धेरै हुने हुँदा विकल्पमा फ्लाइओभर र सुरुङ बनाउन लागिएको हो ।

फ्लाइओभर र सुरुङ निर्माणका लागि सूर्यविनायक धुलिखेल र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर सडक शीर्षकअन्तर्गत आगामी आवका लागि १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जाइकाको पूर्वसम्भाव्यता अध्ययनअनुसार तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । उक्त मन्दिर नजिक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको सुरुङ निर्माण हुनेछ । त्यहाँबाट मनोहरा खोलामा निर्माण भएको नयाँ पुलसम्म जोड्ने गरी करिब २ सय ३८ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । आयोजना निर्माण अवधि ६ वर्षको हुने सडक विभागले जनायो ।

कुन आयोजनाका लागि कति बजेट ?

–तीनकुने–सिनामंगल–गौशाला सडक ३० करोड

–धोबीखोला–महाराजगन्ज सडक २५ करोड

–नयाँबानेश्वर अन्डरपास ९ लाख

–ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर ८ करोड १० लाख

–सुर्यविनायक धुलिखेल र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर १ अर्ब ५९ करोड ६ लाख

–चक्रपथ विस्तार आयोजना १ अर्ब २५ करोड २१ लाख

प्रकाशित : असार २६, २०८१ २३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×