कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

विवादका कारण धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आईपीओ

काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रिया रोकिएको छ । उक्त प्रक्रिया सम्बन्धमा निकै विवाद भएको, संघीय संसद्‌का संसदीय समितिहरुले पनि चासो देखाएको, लगानीकर्ताबाट पनि निकै गुनासो आएपछि नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नभएसम्मका लागि उक्त कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

विवादका कारण धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आईपीओ

उक्त कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य निर्धारण गरेर आईपीओ जारी गर्न लागेको थियो ।

कम्पनीले पहिलो चरणमा यही असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सेयर जारी गर्ने तयारी गरेको थियो । सार्वजनिक लेखा समितिले पनि चासो दिएको र सर्वसाधारण लगानीकर्ताबाट पनि गुनासो आएपछि बुधबार उक्त प्रक्रिया रोक्न निर्देशन दिइएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । ‘अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णय रोक्न निर्देशन दिएका छौं,’ उनले भने, ‘धेरै गुनासो आइसकेपछि सर्वसाधारण लगानीकर्ताको हितका लागि कम्पनीले सेयर बिक्री नगर्दै रोक्न निर्देशन दिएका हौं ।’

यो कम्पनीको बारेमा चासो राख्दै संसद्‌को सार्वजनिक लेखा समितिबाट पनि पत्र आएको छ । जवाफका लागि सात दिनको समय दिइएको बोर्ड स्रोतले बताएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य निर्धारण गर्दा प्रतिकित्ता सेयर मूल्य ८ सय २० रूपैयाँ ८० पैसा तोकिएको छ । यसै विषयमा समितिले चासो देखाएर धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको हो ।

अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आईपीओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै समितिले मंगलबार यस सम्बन्धी विस्तृत विवरण पेस गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको हो । कम्पनीको मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भन्ने प्रश्नको जवाफ ७ दिनभित्र दिन समितिले धितोपत्र बोर्डलाई भनेको छ ।

प्रकाशित : असार २६, २०८१ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×