कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ : उद्योगमन्त्री भण्डारी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरुको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् । 

सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ : उद्योगमन्त्री भण्डारी

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले बनाउने हरेक कानूनहरु उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे । उनले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानून संशोधन गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री भण्डारीले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताए । उनले समितिले सिमेन्ट उद्योगले उत्पादित खनिज परिणाम तौल पुलमा मापन गर्न समितिको म्याद थप मान्न तयार रहेको बताए । मन्त्री भण्डारीले मुलुकमा भएका सिमेन्ट उद्योगलाई थप माथि उठाउन आवश्यक रहेको भन्दै त्यसको लागि उद्योगको पक्षमा कानून निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । समितिले म्याद थप गर्नुहुन्छ । समय अवधि तोक्नुहुन्छ । त्यो स्वीकार गर्न तयार । होइन अहिले जे व्यवस्था छ त्यही गर्नु भने त्यो पनि तयार हो । यस विषयमा समितिको निर्देशन माग गरेको हो । नेपालका उद्योग जुन अवस्थामा छन् । त्यहाँबाट उठाउनुपर्छ । पैरवी गर्नुपर्छ । उद्योगहरुको उद्योग मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानून निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन । सिमेन्ट उद्योगहरुको अनुगमनमा जाऔं, कहाँ त्यस्ता खालका समस्याहरु छन् । वातावरणमैत्री कहाँ बन्न सकेन । उद्योग स्थापनापछि स्थानीय स्तरमा लिने लाभहरु नभएका हुन् कि भन्ने सामाजिक रुपमा उठेका प्रश्नको निरुपण गर्ने विषयमा पनि मन्त्रालय गम्भीर छ ।'

उनले सरकारले बनाउने कानूनहरुलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए । उनले कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित : असार ७, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×