कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

५८ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'हेलिपोर्ट' भक्तपुर सारियो

सुरज कुँवर

भक्तपुर — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार शुक्रबारदेखि १२ वटा हेलिकोप्टरलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सारिएको छ ।

५८ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'हेलिपोर्ट' भक्तपुर सारियो

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाका अनुसार, शुक्रबार बिहान नौ वटा वायुसेवा कम्पनीका हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिन्चोक अवतरण भएका थिए ।

प्राधिकरणका इन्जिनियर विनायक भट्टराईका अनुसार, ३३ रोपनी क्षेत्रफलमा फैलिएको हेलिपोर्ट एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।

उनका अनुसार, उक्त हेलिपोर्टमा १३ वटा हेलिकोप्टर पार्किङ्ग क्षमता रहेको छ । यो पोर्टमा एकैपटक चार स्थानबाट हेलिकोप्टरले उडान गर्न सक्नेछन् । ‘३३ रोपनी जग्गामध्ये २६ रोपनी हेलिकोप्टर पार्किङ्गका लागि छुट्याइएको छ । बाँकी ७ रोपनीमा हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, भवन निर्माण अन्तिम चरणमा रहेको छ,’ इन्जिनियर भट्टराईले कान्तिपुरसँग भने,'हेलिकोप्टरको लागि इन्धन उपलब्ध गराउन हाललाई आयल निगमले दैनिक ट्यांकर पठाउनेछ ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, प्राधिकरणले झण्डै १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको हेलिपोर्टबाट अब देशभर उडान हुनेछन् । ‘आपत्कालीन, मेडिकल उडान लगायतका प्राथमिकतामा राखिएका हेलिकोप्टरलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति दिइने छ,’ महाप्रबन्धक निरौलाले भने, ‘बाँकी पर्यटकीय चार्टर उडान नलिञ्चोकबाट हुनेछन् ।’

तत्कालीन नेपाल वायुसेवा निगमले २०२३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर सेवा पनि सुरु गरेको थियो । नेपालमा दर्ता हेलिकोप्टर उडेको ५८ वर्षको अवधीयता अहिले नेपालमा १२ वटा होलिकोप्टर कम्पनी छन् । तीसँग साना र ठूला गरी ३३ वटा हेलिकोप्टर रहेका छन् ।

नलिञ्चोकमा नअटेका हेलिकोप्टरलाई प्राधिकरणले संचालकहरुसँग समन्वय गरी वेश स्टेशन (आधार विमानस्थल) मा पनि पठाउने जनाएको छ । केही हेलिकोप्टर अझै केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिञ्चोक उडेका हेलिकोप्टरले काठमाडौंबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ग, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी, प्राधिकरणको सञ्चालक समितिका सदस्य, उपमहानिर्देशक देवचन्द्र लाल कर्ण, वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्की, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख डिआईजी रामदत्त जोशी लगायत प्राधिकरणका कर्मचारीलाई लिई नलिञ्चोक झारेका थिए । उक्त हेलपोर्टबाट पहिलो चार्टर्ड उडान सिम्रिक एयरले डेनिस पर्यटकका लागि गरेको थियो ।

प्रकाशित : असार ७, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×