कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

प्रसारण लाइन नबन्दा २० आयोजनाको बिजुली खेर जाने जोखिम

३३९.०७ मेगावाट क्षमताको २० वटा आयोजनाका बिजुलीसहित एक हजार मेगावाट बिजुली खेर जाने प्रवर्द्धकहरूको दाबी
 हावाहुरीका कारण लाइन अवरुद्ध हुनेबाहेक अन्य अवस्थामा बिजुली खेर नजाने प्राधिकरणको दाबी 
सीमा तामाङ

काठमाडौँ — प्रसारण लाइन र सबस्टेसन अभावमा वर्षायाममा फेरि बिजुली खेर जाने देखिएको छ । दुई वर्षदेखि ३३९.०७ मेगावाट क्षमताका २० वटा आयोजनाको बिजुली खेर गइरहेकामा यस पटक केही आयोजना थपिएकाले थप बिजुली खेर जान सक्ने जलविद्युत् उत्पादकहरूको दाबी छ । 

प्रसारण लाइन नबन्दा २० आयोजनाको बिजुली खेर जाने जोखिम

नेपाल विद्युत् प्राधिकरणले ‘कन्टेन्जेन्सी’ (प्रसारण वा सबस्टेसन अभाव) मा राखेर आवश्यकताअनुसार बिजुली उत्पादन गर्न निर्देशन दिँदै आएको छ । यस वर्ष पनि ‘कन्टेन्जेन्सी’ मै राखेर उत्पादन गर्नुपर्ने भएकाले बिजुली खेर जाने जलविद्युत् उत्पादकहरूको भनाइ छ । ‘नन–डिस्प्याचेबल’ को पैसा तिर्नु नपर्ने भएकाले प्राधिकरणले ‘कन्टेन्जेन्सी’ मा राख्ने गरेको उनीहरूको दाबी छ ।

गत वर्ष २० वटा आयोजनाको २ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बराबरको बिजुली खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरको बिजुली खेर गएको इप्पानले बताएको छ । ऊर्जा उत्पादकहरूले बिजुली खेर जाने बताइरहे पनि हावाहुरीका कारण हुने लाइन अवरुद्धबाहेक अन्य अवस्थामा बिजुली खेर नजाने प्राधिकरणको दाबी छ । वर्षायामममा विद्युत् खेर नजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । ‘हामीलाई नै बिजुली पुगेको छैन । त्यसैले खेर जाने कुरै हुँदैन,’ उनले भने, ‘आन्तरिक माग पूरा गरेपछि निर्यात पनि गर्छौं । मुलुककै माग पूरा गर्न सकेका छैनौं ।’ कतै प्रसारणलाइन बनिसकेको र कतै निर्माणाधीन रहेको भन्दै यस पटक बिजुली खेर नजाने उनले जनाए ।

सुक्खायाममा २० प्रतिशतमा खुम्चिएको उत्पादन वर्षायाम लागेसँगै पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्थ्यो । तर ‘कन्टेन्जेन्सी’ मा रहेका आयोजनाहरूले पूर्ण क्षमतामा सञ्चालन गर्न नपाइने हुँदा बिजुली खेर जाने गरेको प्रवर्द्धकले बताए । २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ लाई प्राधिकरणले एक साताअघिदेखि नै प्राधिकरणको भार प्रेषण केन्द्र (एलडीसी) को निर्देशनअनुसार उत्पादन गर्न सुरु गरिएको प्रवर्द्धक आत्मराम घिमिरेले बताए । ‘गत वर्ष पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा २२ करोड रुपैयाँ घाटा भयो,’ उनले भने, ‘यसपालि कति घाटा हुने हो, थाहा छैन,’ उनले भने । ६ महिनाको लागि भनेर कन्टेन्जेन्सीमा गए पनि वर्षौं बित्दासमेत नहटाएको उनको दाबी छ ।

कालीगण्डकी करिडोरअन्तर्गत कुश्मादेखि न्यु बुटवलसम्मको लाइन बनिनसके पनि आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने प्रवर्द्धक सुजन पौडेल बताए । पर्वतमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदीलाई प्राधिकरणले कन्टेन्जेन्सीमा राखेका कारण प्राधिकरणले तोकेअनुसार उत्पादन गर्नुपर्ने उनको भनाइ छ । ‘कुश्मादेखि न्यु बुटवलसम्मको प्रसारण लाइन निर्माण सकियो । तर न्यु बुटवल सबस्टेसनको क्षमता कम भएकाले ‘डिस्प्याच’ को समस्या छ,’ उनले भने, ‘विगत वर्षजस्तै यसपालि पनि बिजुली खेर नै जान्छ । नयाँ २ वटा आयोजना थपिएको छ, त्यसैले पहिलाभन्दा कम ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ ।’

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । आन्तरिक माग २२ सय देखि २३ सय मेगावाट पुगेको छ भने उत्पादन १८ सय मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता चन्दन घोषले जनाए । अब साढे ६ सय मेगावाट थप उत्पादन हुने भएकाले आन्तरिक माग मात्रै धान्न सकिने उनको भनाइ छ । प्राधिकरणका अनुसार कुल जडित क्षमता ३२ सय मेगावाट हाराहारी पुगेको छ ।

प्रसारणलाइन निर्माण भइसकेकाले यसपालि कोशी करिडोरको विद्यत् खेर नजाने आश रहेको ऊर्जा प्रवर्द्धक तथा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बताए । ‘करिडोरअनुसार विभिन्न समस्या छन्, यद्यपि कोशी करिडोरको सबै विद्युत् जान्छ भन्ने आशा राखेका छौं,’ उनले भने, ‘मुलुकमै खपत हुन सकेन भने नजान नि सक्छ ।’ उनका अनुसार ३५ वटा भन्दा बढी जलविद्युत् आयोजनाले ‘कन्टेन्जेन्सी’ विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) हस्ताक्षर गरेको छ ।

पीपीए गर्दा समयमा आयोजना बनाउन नसके प्रवर्द्धकले ५ प्रतिशत क्षतिपूर्ति प्राधिकरणलाई तिर्नुपर्ने र प्रसारण लाइन बनाउन नसके प्राधिकरणले प्रवर्द्धकलाई ५ प्रतिशत क्षतिपूर्ति दिनुपर्छ । प्रवर्द्धक र प्राधिकरणको द्विपक्षीय सहमतिमा परिवर्तन पनि गर्न सकिने उनको भनाइ छ । ‘आयोजना बनिसक्दा प्रसारण लाइन बनेको हुँदैन, बैंकको ब्याज १२ देखि १३ प्रतिशत हुन्छ, प्रधिकरणले दिने ५ प्रतिशत क्षतिपूर्ति लिएर बैंकको ब्याज तिर्न सक्दैनौं,’ उनले भने, ‘त्यसपछि प्राधिकरणले भनेअनुसार ‘कन्टेन्जेन्सी’ अन्तर्गत ‘टेक एन्ड पे’ लेऊ र तिरमा जान प्रवर्द्धकहरू बाध्य हुन्छन् । कन्टेन्जेन्सीमा गएपछि प्राधिकरणले भनेअनुसार ऊर्जा उत्पादन गर्नुपर्छ । पूर्ण क्षमतामा चलाउन पाउँदैनौं र बिजुली खेर जान्छ ।’

८.४ मेगावाट क्षमताका आखु खोला–१ आयोजना पूर्ण रूपमा सञ्चालन गर्न नसक्दा बिजुली खेर जाने अर्की प्रवर्द्धक प्रतीक्षा शर्मा बताउँछिन् । गोरखाका दुइटा आयोजना र आखु खोला–१ को बिजुली एउटै प्रसारण लाइनमा जोडिँदा केन्टेन्जेन्सीमा चलाउनुपर्ने उनले जनाइन् । ‘गोरखाको प्रसारण लाइन बनिसकेको छैन, बिजुली देवीघाट जाने हो,’ उनले भने, ‘गोरखा र धादिङको एउटै प्रसारण लाइनमा जोडिन्छ । ३३ केभीको मात्रै प्रसारण लाइन छ ।’ त्यसकारण एलडीसीले तोकेअनुसार बिजुली उत्पादन गर्नुपर्ने बाध्यता यसपालि पनि रहेको उनको भनाइ छ ।

मर्स्याङदी करिडोरको प्रसारण लाइन अभाव हुँदा १२ मेगावाटको दोर्दी–१, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ८.६३ मेगावाटको चेपे खोला, २७ मेगावाटको दोर्दी खोला, ५४ मेगावाटको सुपर दोर्दी, २.४ माथिल्लो साङ्गे स्मल हाइड्रो, ३० मेगावाट न्यादी खोला र ४ मेगावाटको माथिल्लो च्याङ्दी खोलालाई ‘कन्टेन्जेन्सीमा’ राखिएको छ । यी ८ आयोजनाको बिजुली मर्स्याङदी करिडोरबाट लैजाने भनिए पनि उक्त करिडोरको प्रसारण लाइन निर्माण सम्पन्न भइनसकेकाले ‘कन्टेन्जेन्सी’ मा राखिएको दोर्दी–१ जलविद्युत् प्रवर्द्धक उत्तम ब्लोन लामाले बताए ।

यी आयोजनको बिजुली ९९ प्रतिशत खेर जाने सम्भावना रहेको उनको दाबी छ । गत वर्ष यी आयोजनाको क्षमता २० देखि ५० प्रतिशतसम्म घटाएर बिजुली उत्पादन गरिएको थियो । यस वर्ष पनि केही आयोजनाले उत्पादन क्षमता घटाएर उत्पादन गर्न सुरु गरिसकेको प्रवर्द्धकहरूको भनाइ छ । कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण भए पनि ट्रान्सफर्मरको क्षमता देखाउँदै कन्टेन्जेन्सीमा राखिएकाले २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी, ७ मेगावाटको माथिल्लो मार्दी खोला, ५ मेगावाटको घेलम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला, १३ मेगावाटको थापाखोला आयोजनाको विद्युत् खेर जान सक्ने सम्भावना छ ।

देवीघाट विद्युत् गृहको ३३ केभी लाइनमा गोरखाको दुई आयोजनाका बिजुली जोडिँदा ओभरलोड हुने भएकाले ८.४ मेगावाटको आखु खोलासहित गोरखाका दुई वटा आयोजनालाई ‘कन्टेन्जेन्सी’ मा राखिएको छ । ७.५ मेगावाटको माथिल्लो खोरुंगा खोला, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको टक्सार पिकुवा खोला, २९.०४ मेगावाटको लिखु खोला र ९.६ मेगावाट क्षमताका आयोजनाको प्रसारण लाइनको समस्या समाधान भए पनि प्राधिकरणले ‘कन्टेन्जेन्सी’ मै राखिएको भन्दै विजुली खेर जाने प्रवर्द्धक जनाउँछन् ।

३३९.०७ मेगावाट क्षमताका २० वटा आयोजनामध्ये १६३.०३ मेगावाट क्षमताका ८ वटा आयोजनाको बिजुली खेर जाने ९९ प्रतिशत सम्भावना रहेको प्रवर्द्धकहरूको भनाइ छ । तर ‘कन्टेन्जेन्सी’ मा राखिएको कारण वर्षायाममा एक हजार मेगावाट विद्युत् खेर जाने इप्पानले जनाएको छ । पोहार साढे ३ सयदेखि ४ मेगावाट बिजुली खेर गए पनि यस वर्ष ८ सयदेखि एक हजार मेगावाट बिजुली खेर जाने सम्भावना रहेको इप्पानका उपमहासचिव प्रकाश दुलालले बताए ।

प्रकाशित : असार ५, २०८१ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×