कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

मुलुकमा एकपछि अर्को गौरवको आयोजना सम्पन्न हुँदैछन् : प्रधानमन्त्री दाहाल

प्रताप विष्ट

हेटौंडा — प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा विकास भएन भनेर भाष्य निर्माण गर्न खोज्नेहरुलाई सब-स्टेशनको निर्माण आफैँमा जवाफ भएको बताएका छन् ।

मुलुकमा एकपछि अर्को गौरवको आयोजना सम्पन्न हुँदैछन् : प्रधानमन्त्री दाहाल

शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माण भएको ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अब विद्युतबाटै नेपाल र नेपालीको समृद्धिको आधार तय हुने बताए ।

'मुलुकमा एकपछि अर्को गौरबका आयोजना सम्पन्न भइरहेका छन्, जसले मुलुकलाई समृद्धिको बाटोतिर डोर्‍याइरहेको छ,' प्रधानमन्त्री दाहालले भने, 'उर्जा क्षेत्रमा छोटो अवधिमै एकपछि अर्को सफलताहरु हात लाग्दै गएको छ । केही वर्षपछि विदेशी मुद्रा आर्जन गर्ने मुख्यस्रोतनै विद्युत हुने कुरामा दुइ मत छैन ।'

उनले हेटौडामा निर्माण भएको यो सबस्टेशन उर्जा विकासका लागि कोशेढुङ्गा सावित हुने बताए । प्रधानमन्त्री दाहालले भने, ‘यो सवस्टेशन नेपाली ईन्जिनियर र प्राविधिकहरुले निर्माण गरेका हुन् । यो विद्युत प्रसारण गर्ने सब-स्टेशनमात्र बनेको छैन, नेपाली ईन्जिनियर र प्राविधिकहरुको क्षमता पनि प्रदर्शन भएको छ ।'

कार्यक्रममा जलस्रोत तथा उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको विकासमा महत्वपुर्ण योगदान पुर्‍याउने बताए । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ ।

यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसंगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।

उक्त सबस्टेशनको उद्घाटन कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल, संघीय सांसद महेश बर्तौला, दिपकबहादुर सिंहलगायतले बोलेका थिए । हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसागको विद्युत् व्यापार थप विस्तार हुने छ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

हेटौंडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडाहरुमा स्थानीयहरुको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एव उद्घाटन कार्यक्रममा सभापति कुलमान घिसिङले हेटौंडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौंडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौंडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्ने छ ।’

हेटौंडा सब-स्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिएको छ ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० के.भी. सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×